४ वैशाख २०८१ मंगलबार
कला

वसन्त महर्जनको पुस्तक ‘बुद्ध विमर्श’ प्रकाशित

लेखक वसन्त महर्जनको एघारौं पुस्तक ‘बुद्ध विमर्श’ प्रकाशित भएको छ।

बुद्ध भनेका गौतम बुद्ध एक जना मात्रै नभएर विगतमा बोधि (ज्ञान) प्राप्त गर्ने अनेकौं नामका अन्य बुद्धहरू पनि रहेकोे र ती बुद्धहरूको पनि बौद्ध समाजबाट आदरसत्कार हुने जानकारी पुस्तकमा परेको छ। यसरी नै बज्रयानी बौद्ध समाजमा प्रचलित ‘पञ्चबुद्ध’ को अवधारणा प्रस्तुत गर्दै तिनीहरू मानव बुद्ध नभएर बौद्ध दर्शनलाई बुुझ्न र बुझाउन ध्यानसाधनाबाट सिर्जना गरिएका प्रतीक वा ध्यानीबुद्ध रहेको कुरा पनि पुस्तकमा उल्लेख गरिएको छ।

गौतम बुद्धको दैनिक जीवन चर्या कस्तो थियो? उनका गुरु को थिए अथवा थिएनन्? कसरी बोधि लाभ गरी बुद्ध बने? बुद्धसँग भिक्षु बन्ने पहिलो र अन्तिम व्यक्ति को थिए? किन तिनीहरू पहिलो र अन्तिम भएको? भन्ने प्रश्नहरूको जवाफ पुस्तकमा विवेचना सहित उल्लेख गरिएको छ। बुद्धसँग के कस्ता खुबीहरू थियो? बुद्ध भनेकैं के हो? भन्ने जस्ता महत्वपूर्ण प्रश्नहरूको जानकारी दिनुका साथै पुस्तकमा गौतम बुद्धको जीवनका विविध पक्षलाई उजागर गर्ने विभिन्न सन्दर्भ र प्रसङ्गलाई पुस्तकमा ठाउँ दिइएको छ।

यसरी नै बुद्धसँगको जीवन यात्रामा साथ दिने अग्रणी नेपालीहरूको उल्लेख नेपाली समाजका लागि थप रोचक र छलफलको विषय हुने देखिन्छ।

बुद्धत्व प्राप्तिका लागि गौतम बुद्धले गृहत्याग गरी श्रीमती यशोधरालाई विचल्ली बनाएको भन्ने गैर बौद्ध समाजमा प्रचलित कथनको खण्डन गर्दै पुस्तकमा परिवार तथा नातागोतासँग सरसल्लाहपछि मात्रै गृहत्याग गरेको र बुद्धत्व प्राप्तिपछि परिवारका अन्य सदस्यले जस्तै पछि श्रीमतीले पनि बुद्धको संघमा प्रवेश गरी भिक्षुणी जीवन विताएको जानकारी पनि पुस्तकमा परेको छ।

लेखक बसन्त महर्जनका अनुसार बुुद्ध, शिक्षा र गलत बुझाई गरी तीन खण्डमा विभाजित यस पुस्तकमा समाविष्ट सामग्रीहरू बुद्ध र बौद्ध धर्म–दर्शन बुुझ्नका लागि आधारभूत ज्ञान हो। पुुस्तक इन्साइट पब्लिकेशन प्रा.लि.बाट प्रकाशन भएको हो। १७६ पृष्ठको यस पुस्तकको मूल्य ३ सय पचास रूपैया रहेको छ। 

प्रकाशित: ४ असार २०७९ ०१:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App