विवेक दुलाल क्षेत्री
नदेखेको हुन्छ सपना
नहिंडेको हुन्छ बाटो
नसुनेको हुन्छ समाचार
नछुटेको हुन्छ समय
नपढेको हुन्छ अक्षर
नगरेको हुन्छ उच्चारण
नचस्केको हुन्छ मुटु
नभएको हुन्छ प्रेम
नरसाएको हुन्छ आँखा
नभेटिएको हुन्छ सत्य
नखसालिएको हुन्छ अहंकार
नलागेको हुन्छ बाडुली
नभएको हुन्छ तर्क
नबगेको हुन्छ रहर
नपठाइएको हुन्छ खबर
नगरिएको हुन्छ हिसाब
र तिनीहरू बिस्तारै हिंडेका हुन
र तिनीहरू ईर्ष्यालु बनेका हुन
र तिनीहरू आतिएका हुन्
र तिनीहरू ओरालो झरेका हुन्
र तिनीहरू मूर्तिवत् बनेका हुन्
र तिनीहरू शंकामा बलेका हुन्
र तिनीहरू फेरि देखिएका हुन्
र तिनीहरू विरक्तिएका हुन्
र तिनीहरू जोसिएका हुन्
र तिनीहरू हाँसेका हुन
र तिनीहरू अघि बढेका हुन्
अनि,
समय बालिग भएको छ
समय रमिते बनेको छ
समय निम्छरो छ
समय निवृत छ
समय पेन्डुलम छ
समय आतिएको छ
समय कपटी छ
समय निचोरिएको छ
अब च्यातिनुपर्छ क्रुरता
अब भाँडिनुपर्छ असत्य
अब गाइनुपर्छ अर्धसत्य
अब उकालो लाग्नुपर्छ खुशी
अब झारिनु हुन्न आँसु
अब हार्नु हुन्न जिन्दगी
यसैले,
‘क’ देखि ‘ज्ञ’ सम्म अम्मल छोड्नुपर्छ
मेची महाकालीसम्म माटो खोस्रिनुपर्छ
प्याराग्राफदेखि मात्रासम्म देशभक्त खोजिनुपर्छ
हिमालदेखि मधेशसम्म भाइचारा उम्रनुपर्छ
गुराँसको रङ माटाको रङ
पसीनाको रङ खुशीको रङ
एक मात्र होस् नेपाली नेपालीबिचको
प्रेमको रङ
कतै विरह नगाइयोस् हजुर
कतै शर्मिन्दा नबनाइयोस् हजुर
कतै कुचेष्टा नगरियोस् हजुर
कतै भर्त्सना नगरियोस् हजुर
किनभने,
बिस्तारै बुझ्दैछु
म हाम्रो संकल्प
बिस्तारै चिन्दैछु
म हाम्रो माटो
बिस्तारै गाउँदैछु
म हाम्रो एकताको गीत
निदाउनुअघि।
प्रकाशित: ३ असार २०७९ ०४:५३ शुक्रबार