८ वैशाख २०८१ शनिबार
कला

ठूलो हुँ कि सानो?

बालकविता

विश्व विनोद

ठूलो हुन्छु दोकान जाँदा रुख चढ्दा सानो,

अति सारै सानो हुन्छु चढ्दा घरको छानो।

सानो हुन्छु हँसियालाई चलाउँदाखेरि,

ठूलो हुन्छु परीक्षामा नम्बर ल्याउँदाखेरि।

कहिले हुन्छु अत्ति सानो, ठूलो हुन्छु कैले,

हैन यो के भा’को, केके बुझ्ने मैले।

पानी बोक्दा सानो भएँ, पानी भर्दा ठूलो,

ठूला भारी बोक्दाखेरि, हुन्छ रे ज्यान लुलो।

सानो हुन्छु जब हातमा मोबाइल पर्छ,

भन्नुहुन्छ यो सानेले चकचक गर्छ।

गाडी चढ्दा सानो हुन्छु, पढें भने ठूलो,

सानो हुन्छु नजिक बस्दा अगेना र चुलो।

ठूलो भइस् भन्नुहुन्छ, सानो पनि भन्ने,

सिक्दैछौ नि भन्नुहुन्छ, जान्यो पनि भन्ने।

बनेको छु ठूलो सानो, परेको छु अल्मल,

आमाबाबा किन यस्तो, गरौं न एक छलफल।

प्रकाशित: ३ असार २०७९ ०४:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App