२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

छिन्जोङको सपना

कथा

नवराज न्यौपाने ‘मौन’

सधैंं हंसमुख र प्रफुल्ल मुद्रामा प्रस्तुत हुने छिरिङ छिन्जोङ आज दिनभर भोटेपीपलको फेदमा बसेर रोइरही। उसलाई बाल्यकालमा बाहेक अन्य बेला यसरी रोएको कसैले देखेका थिएनन्। उसलाई आफ्नो सुन्दर संसार भत्केझैं लाग्यो। असंख्य चाहना र अनन्त रहर साँचेर ऊ छ वर्षसम्म नाम्ग्याललाई कुरेर बसेकी थिई। किनभने फुपूको छोरा नाम्ग्यालले हङकङ जाने बेलामा भनेको थियो, ‘छिन्जोङ, म अहिले तिमीलाई लान नसके पनि पछि आएर सँगै लानेछु। कसैसँग नजाऊ है! बरु म आउनुअघि नै नागरिकता र पासपोर्ट बनाएर राख।’

नाम्ग्यालको यही वचनले गर्दा ऊ छ वर्षसम्म उसलाई कुरेर बसेकी थिई। हङकङमा गएर होटेल खोलेर बस्ने चाहना पालेर उसले समयमा नै नागरिकता र पासपोर्ट बनाएर राखेकी थिई। तर, समय बदलिए जस्तै नाम्ग्यालको मन पनि बदलिएला भनेर उसले रत्तिभर पनि सोचेकी थिइन।

छ वर्षपछि फर्केको नाम्ग्यालले उसलाई लानुको साटो उसकी बहिनी कार्चुङलाई पो लिएर गयो।

‘ममा केको कमी थियो र उसले बहिनी कार्चुङलाई मन पराएको होला?’ यस्तै सोचेर ऊ साँझ परुञ्जेलसम्म भोटेपीपलको फेदमा बसेर टोलाइरही। साथीसँगी आएर उसलाई सम्झाइबुझाइ गरेर घर पुर्‍याए।

यो छ वर्षको अवधिमा उसलाई कैयौ केटाले आँखा लगाएका थिए। तर, उसले नाम्ग्याललाई सम्झेर सबैका प्रस्ताव अस्वीकारिरही। तीन जना केटाले तीन-तीन पटक तानेर लगेका पनि थिए। तर, तीन दिनसम्म पनि उसले मञ्जुरी नजनाएपछि परम्परा अनुसार ससम्मान उसलाई फर्काएका थिए अनि खिंगामा होटेल चलाएर बसेकी थिई। उसलाई मनपर्ने नाम्ग्याल ऊबाट टाढिएपछि उसको स्वभावमा पनि परिवर्तन आयो।

ऊ एकोहोरी जस्ती देखिन थाली। आमा बितिसकेकी थिइन्। बाबु चौंरी गोठमा बस्ने गर्थे भने दाइ थाइल्याण्डमा बस्थे। घरमा दुई दिदीबहिनी मात्रा थिए। अब ऊ एक्लीजस्तै भई। साथीहरूले कर गरेर उसलाई छ्याङ खुवाइदिए। त्यसपछि उसले धाराप्रवाहमा आफ्नो दुःख पोखी।

एकछिनपछि नाम्ग्यालको दाइ कुंगा आइपुग्यो। साथीहरूले कुंगालाई सम्झाइदिनु भनेर घर गए। कुंगाले ‘खाना पकाइदिऊँ कि’ भनेर सोध्यो। रुँदारुँदा सुन्निएका आँखा देखेर कुंगाले अलिकति छ्याङ पिउन कर गर्‍यो। छिन्जोङले कुंगासित भनी, ‘कुंगा,अब म एक्लै यो घरमा कसरी बसूँ?’

कुंगाले मधुरो स्वरमा भन्यो, ‘झुमा, गुम्बामा कति झुमाहरू एक्लै बसेका छन्। बुद्धको ध्यान गरेर बस्यो भने एक्लोपन सबै बिर्सिन्छ। म एक्लै जसरी लामा भएर बसेको छु त्यसरी नै तिमी झुमा भएर एक्लै बस्न सक्छ्यौ।’

‘त्यो त हो नि’ भन्दै उसले फेरि एक कप छ्याङ थपी। अब मनमा अलिअलि खुशीको सञ्चार भएजस्तो भयो। कुंगाले टुङ्ना बजाउन थाल्यो। टुङ्नाको धुन सुन्दासुन्दै निदाई।

बाहिर फुर्फुर हिउँ परिरहेको थियो। छिन्जोङ निदाएपछि भित्रबाट ढोका बन्द गरिदिएर कुंगा छतबाट आफ्नो घरतिर लाग्यो। कुंगाले पनि सोच्यो, ‘लामा र झुमाको भगवान् बाहेक अर्को मिल्ने साथी नहुने रहेछ।’

प्रकाशित: २ असार २०७९ ०५:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App