४ वैशाख २०८१ मंगलबार
कला

बेलायती महारानीको प्लाटिनम जुब्ली

बेलायत प्रजातन्त्रको जननी राष्ट्र। मानवाधिकार, स्वतन्त्रता, लैङ्गिक समानता र प्रजातन्त्रको अनुपम नमुनास्थल। यही मानवीय धरोहरकी साझा रक्षक एवम् सारा बेलायती र कमन वेल्थ देशकी साझा सम्मानकी एकल पात्र महारानी एलिजावेथ द्वित्तीया।

यतिखेर बेलायत ९६ बर्षीय आफ्नी महारानीको राज्यरोहणको ७०औँ महोत्सव प्लाटिनम जुब्ली मनाउन लागिरहेको छ, हर्षोल्लासका साथ चार दिनसम्म। पूरै बेलायत कोभिड १९ र त्यसको लगतै रुस–युक्रेन युद्धको निर्मम प्रहारले आक्रान्त भए पनि आफूभित्रको आर्थिक मन्दीको घाउलाई मलमपट्टी लगाएरै आफ्नी प्यारी महारानीको ७० औँ राज्यारोहण रमाइलोसँग मनाउन लागिपरेको छ।

बेलायतका हरेक साना–ठूला सहर मात्र होइन, हरेक विद्यालय-महाविद्यालयसम्म यसको रौनक छाएको छ। हरेक बेलायतीहरू यतिखेर आफ्नो राष्ट्रिय पर्व मनाउन श्रद्धाले झुकिरहेका छन्। राष्ट्रिय झण्डा उचाली रहेका छन् सगौरव। ध्वजापताकाले रंगिएका छन् सहरका चोक–गल्लीहरू। राष्ट्रिय झण्डाहरू फर्फराएका छन् सबैका घरआगनमा। हरेक पत्रिकाहरूले केही दिनअघिदेखि नै आफ्ना प्रकाशनहरूमा विशेष स्तम्भ पस्केका छन्।

महारानीको दीर्घ शासनको गरिमामय इतिहासलाई सुन्दर आवरणमा सजाएका छन्। यद्यपि यसमा कसैलाई करकाप छैन। कसैलाई उर्दी र बाध्यता छैन। स्वस्फूर्त यो मानव–सागर आफ्नी रानीको सुखद् भविष्य र बेलायतको स्वाभिमानका लागि, राष्ट्रिय स्वाधीनताको जगेर्नाका लागि दिलैदेखि कम्मर कसेर लागिपरेका देखिन्छन्। संवैधानिक राजतन्त्रको यो अनुपम नमुना–मुलुक बेलायत दुनियाँमा चिनिन्छ।

एउटा गतिलो लोकतान्त्रिक रोलमोडलका रूपमा आफूलाई उभ्याउन सफल छिन् महारानी एलिजाबेथ। संसारबाट राजतन्त्र दिनानुदिन माँसिदै गएको वर्तमान सन्दर्भमा बेलायती महारानी एउटा त्यस्तो नक्षत्र हुन्, जसबाट सबैले पाठ सिक्नुपर्छ र श्रद्धाले झुक्नुपर्छ। ६ फेब्रुवरी १९५२ मा तात्कालिक राजा जर्ज छैटौंको देहावसानपछि राज्यसत्तामा आएकी उनको औपचारिक राज्याभिषेक २ जुन १९५३ मा भएको थियो।

उनको रजत जयन्ती (सिल्भर जुब्ली) १९७७ मा, स्वर्ण जयन्ती (गोल्डेन जुब्ली) २००२ मा र हीरक जयन्ती २०१२ मा सम्पन्न भएका थिए। यही जुन २–५ सम्म बेलायतभरि विभिन्न कार्यक्रमसहित प्लाटिनम जुब्ली बढो हर्षोल्लासका साथ मनाइँदै छ।

ससाना स्कुले नानी बाबुहरूले आफ्नी प्यारी महारानीप्रति देखाएको अपार श्रद्धाले म पुलकित भएको छु। उनीहरू प्लाटिनम जुब्ली जयन्ती मनाउन कति उत्साहित देखिन्थे आफ्नो स्कुलमा। मेरा साना बेलायतमै जन्मेका छोरीहरू प्रेरणा र प्रेमाको स्थानीय स्कुलको प्लाटिनम जुब्ली सेलेब्रेसनले मलाई यी हरफहरू कोर्ने ऊर्जा दिलायो।

स्थानीय किन्गिस्लन टाउनमा गरिएका अनेक खाले कार्यक्रमहरूले मलाई ऊर्जा बढायो। स्थानीय पार्कमा भएका विविध कार्यक्रम, राति मेरो घर छेउको टाइडल रिभर आउजमा गरिएको अविस्मरणीय पटकाबाजी, फायर वोर्क सबैसबैले मलाई केही लेख्न प्रेरित गरिरहे। दुनियाँमा राजतन्त्र मर्यादित पनि हुँदोरहेछ, स्वःस्फूर्त सम्मान गरिँदो रहेछ भन्ने सन्देश दिन अभिप्रेरित गरिरह्यो।

एउटा सानो टाउनको कार्यक्रममा देखिएको त्यो सद्भाव बेलायतीहरूको राजतन्त्रप्रतिको अपार सम्मानको प्रतीक हो। सारा अभिभावकहरू बेलायती व्यस्तताका बाबजुद पनि आफ्ना नानीबाबुहरूको यो महान् चाड प्लाटिनम जुब्ली मनाउन जम्मा भएका थिए। रानीका स्केच, बेलायतका झण्डा, खानेकुराका स्टल, बिङ्गो, रानीका बारेमा डिस्प्ले गरिएका ऐतिहासिक तस्बिरहरू, ध्वजा–पताकाहरूले सजिएको त्यो रमाइलोले मलाई राजतन्त्रप्रतिको अगाध श्रद्धा जन्मायो।

व्यापारमा प्रभाव

ब्रिटिस बियर र पब एसोसिएसनका अनुसार ९० मिलियन पिन्टको बियर खपतसहित कुल खुद्रा खर्च ३.४७ बिलियन डलर पुग्ने अपेक्षा गरिएको छ। त्यस्तै आतिथ्य र खुद्रा क्षेत्रहरू लाभान्वित हुने छन्, जुन लाभका लागि बार र रेस्टुरेन्टहरूमा विस्तारित घण्टाहरूद्वारा मद्दत हुने छ। पैसा बचत गर्ने वेबसाइट भाउचर कोड्सको अनुसन्धानले भविष्यवाणी गरेको छ कि २.९ बिलियन डलर चार दिनको सप्ताहन्तमा आतिथ्य स्थलहरूमा खर्च हुनेछ।

नेपाली राजतन्त्रको सम्झना

हाम्रो देश भर्खरै राजतन्त्र मासेर गणतन्त्र ल्याउने विश्वका पछिल्ला राष्ट्रमा दरिएको छ। नेपाल नयाँ गणतान्त्रिक राष्ट्रका रूपमा रहेको छ। हाम्रो राजतन्त्र मर्यादित हुन सकेन, यद्यपि हाम्रा राजाहरूले, हाम्रा धेरै नेताहरूले बेलायतबाटै शिक्षा लिए, बेलायतलाई नजिकबाट देखे–बुझे तर सिकेनन् बेलायती राजतन्त्रको मर्यादाको मानक। बुझेनन् संवैधानिक राजतन्त्रको सीमाङ्कन। आफूलाई कानुनभन्दा माथि राख्ने, दुनियाँलाई रैती ठान्ने, कर नतिर्ने, व्यापार गर्ने तर बिजुली र पानीको पैसासमेतमा सानो चित्त देखाउँदा आजको दुर्दिन निम्तिएको थियो।

कस्तो संयोग, नेपालका लोकप्रिय राजा वीरेन्द्रको पारिवारिक वंश नास हुने गरी गरिएको त्यो निर्मम दरबार हत्या काण्डको २१ वर्ष पुगेको दुःखद् अनुभूति गरिरहँदा नेपालसँग धेरै पुरानो कूटनैतिक सम्बन्ध भएको देश र राजा वीरेन्द्र लगायतले पढेको र बेलायती राज परिवारसँग घनिष्ठ सम्बन्ध भएको मुलुकमा भने राजतन्त्र अझै मर्यादित, सम्मानित हुँदै विश्वकै लामो समयसम्म शासन गर्ने विश्व कीर्तिमान कायम भएको छ।

उता २४० वर्षको लामो इतिहासलाई हामीले २४ दिनकै आन्दोलनबाट धपाएको पनि बिसौँ वर्ष भयो। लोकतन्त्र, गणतन्त्रको नयाँ जामा फेरेपछि देशले भोगेको व्यथिति हामी सबैले वस्तुनिष्ठ भएर मूल्याङ्कन गर्ने बेला भएको छ।

आफ्नो देशको राजनैतिक फोहोरले पारेको गणतान्त्रिक मोह भङ्ग, बिसौँ वर्षमा बनाउन नसकिएको थिति, अलोकप्रियताको पराकाष्ठामा केही वर्षअघि मिल्काइएको राजतन्त्रका फोहोरी दृश्यहरूले मलाई अमिलो पारी रहे। हजारौँ माइलको यो भौगोलिक दूरतामा पनि म आफ्नो देश खोजिरहेँ। आफ्नो संविधान सम्झिरहेँ।

लिखित संविधान नभएको देश

दुनियाको नमुना प्रजातन्त्र भएको देश बेलायत, जसमा कुनै लिखित संविधान छैन र पनि नियमकानुनले देश बाँधेको छ। महारानीले कर तिर्छिन्। प्रधानमन्त्रीले अदालतको कठघारामा उभिएर बयान दिनुपर्छ। आफ्नो जन्मदिनमा सानो पार्टी गरेर एउटा सानो बियर खाएको घटना ‘पार्टी गेट’ बनेर, लेबर पार्टीका नेताले आफ्नो चुनाव क्षेत्रमा राती काम सकेर करी र बियर खाएको घटना ‘बियरगेट’ बनेर राष्ट्रिय चर्चा हुन्छ।

पुलिसले निष्पक्ष खोजिनीति गर्छ र देशको प्रधानमन्त्रीलाई ५० पाउन्डले दण्डित गरिन्छ। त्यतिले पुगेन भने पदबाट राजीनामा मागिन्छ। विधिको शासनको यो हो नमुना। हामीले सिक्नुपर्ने, हामीले लागु गर्नुपर्ने कुरा देश गणतन्त्र होस् कि राजतन्त्र, विषय देशको कानुन, नियम कसरी निष्पक्षरूपमा लागु गराइन्छ, त्यो ठुलो कुरा हो। एउटा मन्त्रीले घरभाडा कर छलेको विषयमा राजीनामा दिनुपर्छ।

कसैलाई रङ्गका आधारमा काले, गोरे भने मात्र पनि रेसिस्टको पगरीसहित आफ्नो पद गुमाउनुपर्छ, माफी माग्नुपर्छ। चार दिने राष्ट्रिय कार्यक्रमसहित मनाइने यो ऐतिहासिक उत्सव बेलायतलाई विश्वसामु चिनाउने कोसेढुङ्गा बन्यो। देशभरि सडक पार्टीहरू, परेड र ताराहरूले भरिएका कन्सर्ट समावेश छन्। सरकारद्वारा एक ‘एक पुस्ताको शो’ को प्रसारण गरिएको थियो, जसले ‘अत्याधुनिक कलात्मक र प्राविधिक प्रदर्शनहरूका साथ बेलायतीहरूको शानलाई उत्कृष्ट रूपमा प्रस्तुत गरेको छ।

तथापि केही आलोचकहरू २८ मिलियन पाउन्ड राज्य कोषबाट खर्च गरिएकोमा रोष प्रकट गर्छन्। चार दिनको उत्सवमा धेरै कार्यक्रमहरू हुने छन्–रानीको टुपिङ द कलरको वार्षिक उत्सवदेखि, १५ मिलियन डलरको प्लेटिनम जुबली प्रतियोगितासम्म। साथै प्यालेसमा बिबिसीको प्लेटिनम पार्टी, जसमा संगीत आइकन डायना रसले कार्यक्रममा आकर्षण थप्ने छन्।

उक्त विशाल कार्यक्रममा महारानी लगायत एडम ल्याम्बर्ट, एलिसिया किज, हान्स जिम्मर, एला आइरे, क्रेग डेभिड, माबेल, एल्बो, जर्ज एज्रा समावेश हुने छन्। एल्टन जोनबाट पूर्व–रेकर्ड गरिएको प्रस्तुति प्रदर्शन गरिने छ। बेलायती राजतन्त्र दीर्घजीवी एवम् सम्मानित हुनुमा हरेक राजारानीहरूको आफ्नो लोकप्रिय छविले महत्त्वपूर्ण भूमिका खेलेको छ।

जनताको स्वःस्फूर्त सम्मान हरेक राष्ट्रप्रमुखका लागि ठूलो सञ्जीवनी हो दीर्घजीवनको। यो कुनै करकाप, कुनै ओठे भक्ति र आडम्बरले सिर्जने सस्तो खेल किमार्थ होइन। आज सत्तरी वर्ष लामो शासनकालमा जीवनको अन्तिम उत्तरार्धमा पुगेकी ९६ वर्षीय महारानीप्रति सडकमा उर्लेको सम्मान बेलायती महारानीको विश्व लोकप्रियताको बलियो प्रमाण हो।

प्रधानमन्त्री विस्टन चर्चिलदेखि बोरिस जोन्सनसम्मका १३ वटा प्रधानमन्त्री आइपुग्दा बेलायतले ठूलो फड्को मारेको छ। धेरै भौतिक परिवर्तनहरू भएका छन् तर मात्र महारानी एलिजावेथ स्थिर छन् यति लामो यात्रासम्म। देशले भोग्नुपरेका हरेक खाले चुनौतीहरूको शान्त र शालीन व्यक्तित्वले कर्तव्यपूर्ण भूमिका निभाउँदै आएकी छन्। सत्तरी वर्ष लामो गौरवपूर्ण वर्ष बेलायतजस्तो सम्पन्न मुलुकको राष्ट्र–प्रमुखको भूमिका निभाउनु, त्यो पनि लोकप्रियताको शिखरमै रहिरहनु उनको महानता हो।

आफ्नो राज्यकालका सात दशक लामो यात्रामा उनले ११६ राष्ट्रको भ्रमण गरेकी छन्। बेलायती राजतन्त्रको पपुलारिटी दिनानुदिन बढ्दो छ। विलियम र केट्सको विवाहताका बढेको राजतन्त्रको साखलाई यो प्लाटिनम जयन्तीले ८० प्रतिशतको हाराहारीमा पुर्‍याएको तथ्य भर्खरै प्रकाशित आँकडाले जनाएको छ। खाना, सजावट र पेय पदार्थमा मात्र ४२४ मिलियन पाउन्ड खर्च गर्ने देखिन्छ। ८ सय तेइस मिलियन पाउन्डको कारोबार झण्डा बिक्रीबाट भएको छ। यसले बेलायती राजतन्त्रको स्वःफूर्त सम्मानको बलियो प्रमाण प्रस्ट्याउँछ।

बेलायती राजतन्त्रका चुनौती

सन् १९९६ मा राजकुमार चाल्र्स र डायनाबीच १५ वर्षमै वैवाहिक सम्बन्धविच्छेदले शाही–परिवारप्रति तीब्र आलोचना बढ्न थाल्यो। त्यसलगत्तै डायनाको पेरिस कार दुर्घटनामा निधन भएपछि त झन् मानिस नकारात्मक बन्दै गए। यो नकारात्मकता दुई वर्ष अघिराजकुमार ह्यारी र मेगनले दरबार छाड्ने निधो गरेपछि झन् बढ्यो। महारानीले गत वर्ष आफ्ना पति गुमाइन्।

छोरा एन्ड्रयुलाई यौन  दुर्व्यवहारको आरोप लागेपछि शाही पदवी खोसियो र ठुलो धनराशी क्षतिपूर्ति गर्नुपर्‍यो। रानी एलिजाबेथ द्वितीयाले नागरिक यौन दुर्व्यवहारको मुद्दामा भर्जिनिया गिफ्रेसँग प्रिन्स एन्ड्युको सम्झौतामा २ मिलियन डलर दिएको बताइन्छ। यद्यपि फेब्रुअरी १५ मा सहमति भएको सम्झौताको आकार खुलासा गरिएको छैन। यो लगभग १२ मिलियन डलर अनुमान गरिएको छ।

खस्किँदै गएका यस्ता लाजमर्दा व्यवहारहरू नै महारानीका लागि ठुलो चुनौती बनेका छन्। हामी कामना गरौँ, बेलायतकी महारानी एलिजावेथ अझै सुस्वास्थ, दीर्घजीवी र अकण्टक रहून्, समुन्नत बेलायतको सम्मान र संवैधानिक राजतन्त्र, प्रजातन्त्र र लैङ्गिक विभेद अन्त्यको कोसे ढुंगाका रूपमा दुनियाँमा उदाहरणीय बनिरहून्, हाम्रो हार्दिक शुभकामना ! हेप्पी प्लाटिनम जुब्ली हर मेजेस्टी क्विन एलिजावेथ! 

प्रकाशित: २८ जेष्ठ २०७९ ०४:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App