धेरै वर्षअघि ऋषिङको दक्षिण मोहडामा पर्ने गवादीको पँधेरोबाट झरेपछि आउने टारीबाँध भनिने बस्तीमा हाम्रो पुर्खौली घर थियो। सो बस्ती तन्हौँको दक्षिण–पश्चिम क्षेत्रका राम्जाकोट, बाहुनडाँडा र उसबेला पाल्पामै परेका कालीपारका गाउँहरू जान पायक पर्ने बाटोमा भएकाले त्यहाँ बास बस्न आउनेहरूको सधैँ भीड हुन्थ्यो।
बटुवामध्ये तनहुँ चुँदीतिरका पण्डितहरू पनि हुन्थे, जसले त्यसबेला सप्ताह लगाउन या अन्य धार्मिक कर्मकाण्ड गराउनमा प्रसिद्धी पाएका थिए। उनीहरूलाई टाढाटाढाका यजमानहरू, तिनका नातागोता या चिनेजानेका घरहरूबाट निम्तो आउँथ्यो र पण्डितहरू तीन–चार दिनको पैदल बाटो पार गरेर भए पनि निम्तो मान्न र कार्य गराउन पुग्थे।
एकपटक ती पण्डितहरू अबेर गरी हाम्रो घरमा बास बस्न आएका रहेछन्। घरमा अरू पनि अतिथि भएकाले तिनले अपेक्षा गरेअनुसारको सेवा सत्कार पाउन सकेनछन् र तीमध्येका एकजना असन्तुष्ट पण्डितले रातो माटोले पोतेको भित्तामा सेतो खरीले यी पद्य कोरेर छाडेछन्:
ऋषिङको जिल्ला गवादीको गाउँ
मित्रलाल लम्सालको ठूलो थियो नाउँ
आज उनकै घरमा बासमा परियो
पिँडीमै सुताए, जाडोले मरियो
यी पद्य र यसको पृष्ठभूमिको कथा मैले सानै उमेरमा फुपूज्यामा (हजुरबुबाकी दिदी) को मुखबाट सुनेको थिएँ र कहिलेकाहिँ घरमा आएका पाहुनाहरूलाई आफैले पनि सुनाएको थिएँ। कसैकसैले भानुभक्त आचार्य स्वयम् पनि चुँदीदेखि सप्ताह लगाउन ऋषिङ आएका थिए भन्ने प्रतिक्रिया दिन्थे र उक्त पद्य उनैले कोरेको होला भन्ने अनुमान पनि लगाउँथे।
भानुभक्त आफू बास बसेको घरलाई व्यङ्ग्य गरेर कविता कोर्थे भन्ने कुरा त उनको अर्को प्रसिद्ध पद्य ‘गजाधर सोतीकी घर बूढी अलच्छिनकी रहिछन्, नरक् जानलाई सबसित बिदाबारी भइछन्’ बाट नै सर्वविदितै छ। कविताको कालखण्ड र शैली मिले पनि यी पद्य भानुभक्तले नै कोरेका हुन् भन्ने प्रमाण छैन, तापनि पुस्तौँदेखि यो प्रसङ्ग हाम्रो कुलमा जीवित छ र यसले हामीलाई आफ्ना पूर्वजको सगर्व स्मरण गराइरहन्छ।
गत वैशाख १५ गते दिवङ्गत हुनुभएका हाम्रा पिताजी श्री लक्ष्मीभक्त उपाध्याय मित्रलाल लम्सालको कान्छो छोरा, पूर्णकान्ततर्फको माहिलो नाति हुनुहुन्थ्यो र उहाँको राशीको नाम शेषकान्त थियो। जेठो नाति को थियो हामीले देखेनौँ। हामीले ऋषिङ–हटियाका स्व. उत्तरकुमार श्रेष्ठलाई मात्र देख्न पायौँ जसले पिताजीलाई ‘ए माहिला’ भनेर बोलाउँथे। बाल्यावस्थामा पिताजीको नजिक पर्न पनि धक मान्ने भएकाले तिनले ‘माहिला’ भनेर गरेको सम्बोधनबाट नै पिताजी जेठो छोरा हुनुहुँदो रहेनछ भन्ने जानकारी भयो। हामीले पिताजीलाई उहाँहरू कति भाइ हुनुहुन्थ्यो र केके भयो भन्नेबारे विस्तारमा सोध्न सकेका थिएनौँ। उसबेला हरेक परिवारमा जन्म–मृत्युको सङ्ख्या धेरै नै हुन्थ्यो र असामयिक मृत्युबाट बितेकाहरूको प्रसङ्गले दुःखद् घटनाको सम्झना गराउने भएकाले घरका ‘ठूला’ जनले ‘साना केटाकेटीलाई’ यस्तो कुरा बताइरहनु उचित ठान्दैनथे।
बाल्यकालभरि नै हामीले धेरै मानिस पिताजीलाई भेट्न आइरहेको देख्थ्यौँ। उहाँसँग आफ्नो परिवारलाई दिने समय नै थिएन। हामी सबै छजना छोराछोरी आमासँग अत्यन्त नजिक थियौँ र आमाले नै हाम्रो लालनपोषण गर्नुभयो र शिक्षादीक्षा दिनुभयो। आमा हाम्रा लागि ममता, ज्ञान, विवेक र प्रेरणाकी स्रोत हुनुहुन्थ्यो। तर हामीबाहेक बाहिरका अरू सबैको सम्मान र आकर्षण पिताजीप्रति थियो। किन त्यस्तो भयो भन्ने कुरा बुझ्न मलाई निकै समय लाग्यो।
सुरुमा यो पुरुषप्रधान समाजको करामतजस्तो लाग्दथ्यो। अलि ठूलो भएपछि र बाहिरका मानिसहरूले पिताजीसँग गरेका कुरा सुन्न र बुझ्न सक्ने भएपछि मलाई के जानकारी भयो भने उहाँको आवश्यकता हाम्रो घरपरिवारलाई भन्दा समाज र देशलाई धेरै रहेछ। उहाँले आफ्नो जिम्मेवारी बोध गरेर नै आफ्नो निजी परिवारको दायराबाट निस्केर अरू धेरै परिवारको कल्याणका लागि समाज र देशको सेवामा लाग्नु भएको रहेछ। परिवारमा त उहाँले भनेपछि सबैले अनुसरण गर्थे नै। तर समाजमा उहाँले आफ्नो भनाइ र आह्वानको उपादेयता सिद्ध गर्नुपर्दथ्यो, जुन त्यति सहज थिएन।
पिताजी नेपालको गत सय वर्षको इतिहासको साक्षात दर्पण हुनुहुन्थ्यो। १९८७ सालमा उहाँको जन्म हुनुभन्दा केही वर्षअघि मात्र प्रधानमन्त्री चन्द्र शमशेरले दासप्रथा अन्त्य भएको घोषणा गरेका थिए। घोषणामा दासहरूको अभिलेख भइसकेको भनिए तापनि त्यसको कैयन वर्ष पछिसम्म कमाराकमारी राख्ने प्रचलन यथावत् रहेको कुरा पिताजीले आफ्नो संस्मरण पुस्तक ‘आत्मवृतान्त’ मा उल्लेख गर्नुभएको छ।
उहाँले सामाजिक सुधारको सुरुआत आफ्नै परिवारबाट र दासहरूको उन्मुक्तिबाट नै गरेको जनाउनुभएको छ। ‘कमारीहरूले पुरुष बाजेको खुट्टामा ढोग गर्नेदेखि लिएर उनको जुठोसम्म खानु पर्दथ्यो। उनीहरूलाई बाजेबज्यैको (ब्राह्मण मालिकलाई गरिने सम्बोधन) लुगा धुन, नुहाइदिन, तेल घसिदिन र खुट्टा मिचिदिन लगाइन्थ्यो।’ पोखरा संस्कृत पाठशालामा अध्ययन गर्न थालेपछि दासप्रति आफ्नै घरमा त्यस्तो व्यवहार देखेर सहन नसकी दासीहरूले पुरुषको खुट्टा ढोग्ने चलन आफैले हटाएको पिताजीले स्मरण गर्नुभएको छ। आफ्नो अध्ययनको क्रममा गुरु प्रेम चैतन्यबाट पनि उहाँले सामाजिक जागरणका लागि ठूलो प्रेरणा पाउनुभएको रहेछ।
२००२ सालअघिका दिनमा पिताजी आफै दोहोरो भूमिकामा हुनुहुन्थ्यो। गाउँघरमा पण्डित मित्रलालको खलकको पढेलेखेको ब्राह्मण केटो, घरमा हली–गोठाला र सम्पत्तिले सम्पन्न तर पोखरामा पढ्दा भने त्यहाँका भत्तावाल राणाको अधीनमा रहेको पीडा सहनुपरेको थियो। उहाँले लेख्नुभएको छ, ‘राणाका छोराछोरी अत्यन्त छुच्चा, मताहा थिए, तर पनि तिनलाई आइस्योस्, गइस्योस्, मर्जी होस् भन्नुपथ्र्यो, स्वस्ति भनेर निहुरिनुपर्थ्यो। चाडपर्व पारेर ब्राह्मण केटाहरू बालन र चुड्का गाउने र नाच्ने गर्दथे।
एकपटक राणाका छोराहरू अबेर राति बालन हेर्न आउँदा नाँच सकिई सकेको थियो। तर राणाहरूले ‘नाच’ भनेर ब्राह्मणहरूलाई बञ्चरो देखाएर मुख छोड्दै धम्काउन थाले। ब्राम्हणहरूले थाक्यौँ भनेर नाच्न मानेनन्। ठूलै विवाद भयो र रक्तपात हुने देखेर राणाका नाइके डराए र आफ्ना केटाहरूलाई लिएर गए। पिताजीले अर्को एक घटनामा राणाको छोराले दुर्वाच्य बोलेपछि उसलाई ‘तिमी’ भनेर जवाफ दिएको निहुँमा पुनः विवाद चर्केको कुरा बताउनुभएको छ।
पोखराको अध्ययनपछि उहाँ थप अध्ययनका लागि काठमाडौँ जानुभएको थियो र तीनधारा संस्कृत पाठशालामा पढ्ने धोको पनि थियो तर बिदामा घर आउँदा दसैँमा भगवती स्थानको मन्दिरमा कोत पूजा गराएको, घरघरमा गएर सत्यनारायणको पूजा गराएको, तमसुक लेख्न पनि सक्ने भइसकेको देखेर उहाँका अभिभावकहरूले अब यो जान्ने भइसकेछ, अरू पढ्न आवश्यक छैन भनेर काठमाडौँ फर्कन खर्च दिएनछन्। तर पनि जोड बल गरेर पोखराकै विद्यालयमा गएर ज्योतिष शास्त्र पढ्ने अनुमति पाउनुभएछ।
काठमाडौँ, पोखरा र ऋषिङबीचको आवतजावतले उहाँलाई तत्कालीन समाजको रूढिवादी परम्परा, अन्धविश्वास र जनचेतनाको निम्न स्तरबारे जानकारी लिने र प्रत्यक्ष अनुभव गर्ने अवसर मिलेछ। ब्राह्मणहरूले आफ्नो जातले बाहेक अन्य जातका मानिसले पकाएको खान नहुने, अछुत मानिएका जातका मानिसले छोएमा छिटो हाल्नु पर्ने; गोलभेँडा, लसुन, प्याज, छ्यापी, च्याउ छोएमा पनि प्रायश्चित गर्नुपर्ने चलन थियो। उहाँको सम्झनामा कुकुरले भान्सा काट्यो भनेर पाकिसकेको खाना नखाएर फालेको, गोलभेँडाको अचार खाएको आरोपमा जात फालेको दोष लागेकाजस्ता कैयन कथाहरू थिए। यस्तै हन्डर खाइरहेको समयमा उहाँको भेट श्रीभद्र शर्मा खनालसँग भयो, जसले पिताजीको जीवनलाई नयाँ मोड दिन र अर्थपूर्ण बनाउन मद्दत गरे।
श्रीभद्र खनाल तन्हौँकै थिए र उनी जयतु संस्कृतम् आन्दोलनबाट काठमाडौँ र बनारसमा प्रख्यात भइसकेका थिए। एकपटक उनी घुम्दै तन्हौँ नै आइपुगेका छन् भन्ने कुरा थाहा पाएर पिताजी समेतको संलग्नतामा आयोजना गरिएको एक ब्राह्मण भोजनमा उनलाई निम्ता गरियो। उसबेला ब्राह्मणहरूले भोजन गर्दा धोतीपाटा फेर्ने चलन थियो। श्रीभद्रले त्यसो नगरी दौरासुरुवाल लगाएर नै भोजन गर्न बसेछन्। अन्य ब्राह्मणहरूले त्यसो नगर्नोस्, हामी धोती दिन्छौँ भन्दा पनि नमानेर कपडा नफेरी भोजन गरेको देखेर त्यहाँ भएका ब्राह्मणहरू निकै अत्तालिएछन्। संस्कृत पढेको यत्रो विद्वान ब्राह्मणले यो के गरेको होला भनेर हेर्नेहरूको भीड नै लागेछ। तर श्रीभद्रले पूरै अवज्ञा गरेछन्। पिताजीका लागि श्रीभद्र रूढीवादी परम्पराविरुद्ध लड्ने प्रेरणाका स्रोत बनेछन्। उनकै अनुसरण गरेर पिताजीले पनि भान्सामा जाँदा धोती फेर्ने चलन त्याग्नुभएछ।
आफ्नो संस्मरणमा उहाँले जनाएअनुसार पोखराको संस्कृत पाठशालामा निजामती मध्यमा पूरा गरेपछि राणाशाहीले उहाँलाई बन्दीपुर अदालतमा जागिर दिएका थिए। तर श्रीभद्र शर्माकै आह्वानमा उहाँले राष्ट्रिय कांग्रेसको सदस्यता लिनुभयो र दुई वर्ष पनि नपुग्दै जागिरबाट राजीनामा गरेर प्रजातान्त्रिक आन्दोलनमा लाग्नुभयो। २००७ सालको आन्दोलनपूर्व पिताजी नेपाल राष्ट्रिय कांग्रेसको पूर्णकालीन सदस्य बनिसक्नुभएको थियो र आन्दोलनका आफ्ना सहकर्मीहरूसँग मिलेर बन्दीपुर कब्जा गर्ने तयारीमा हुनुहुन्थ्यो। उहाँहरूसँग भारतमा सुभाषचन्द्र बोसको ‘आजाद हिन्द फौज’ मा काम गरेर अनुभव लिएका सेनानीहरू पनि थिए।
२००७ साल माघ १ गते बन्दीपुर हान्ने निश्चित भयो। राणाका सिपाहीले बन्दीपुरको खड्गदेवीको स्थान उक्लने सिँढीदेखि माथि कफ्र्यु लगाएका थिए। त्यसको अवज्ञा गरेर युवाहरूले जुलुस निकाले र इन्क्लाब जिन्दावाद, राणाशाही मुर्दावादको नारा घन्काउँदै खड्गदेवीको चहुरसम्म पुगे। राणा सिपाहीले जुलुसमा गोली चलाए र पाँच जना प्रदर्शनकारीह तत्काल मारिए। जुलुस अझै शान्त नभएको अवस्थामा राणाका सिपाहीले पिताजीसँगै उभिएका धर्मध्वज गुरुङलाई ताकेर पिस्तोल चलाए। उनी पानीपानी भन्दै छट्पटिन थाले। पिताजी लगायतका युवाहरूले उनलाई बोकेर पीपलको फेदमुनि लगे तर धर्मध्वज बाँचेनन्। बन्दीपुर कब्जा गर्ने प्रयास त्यसपटक असफल भयो।
अर्को प्रयास फाल्गुण ४ गते भयो र आन्दोलन सफल भयो। बन्दीपुर कब्जा भयो र श्रीभद्र शर्मा जनसरकारका गभर्नर भए। देशमा राणाशाही विरुद्ध सशस्त्र आन्दोलन अघि बढिरहेको त्यस निर्णायक घडीमा दिल्लीमा नेहरूको मध्यस्थतामा राणा–कांग्रेस सम्झौता भयो र मोहनशमशेर प्रधानमन्त्री कायमै रहने गरी राजाले नयाँ मन्त्रीपरिषद्को घोषणा गर्ने अरे भन्ने खबरले कैयन कांग्रेसीलगायतका आन्दोलनकारीहरूलाई दिल्ली सम्झौता धोका हो भन्ने लाग्यो।
पिताजी पनि दिल्ली सम्झौताको विरोध गर्नेहरूको जमातमा सामेल हुनुभयो, जसको नेतृत्व कम्युनिष्ट पार्टीले गरेको थियो। २००८ सालमा मनमोहन अधिकारी स्वयम् ऋषिङ आएको अवसर पारेर पिताजीले कम्युनिस्ट पार्टीको सदस्यताका लागि दरखास्त दिनुभयो। चाँडै नै उहाँले सदस्यता पाउनुभयो र त्यसपछिका सत्तरी वर्ष कम्युनिष्ट पार्टीमै रहेर सम्पूर्ण जीवन बिताउनुभयो।
२००७ सालको क्रान्ति अधुरै रहेको मानेर राजनीतिक मोर्चामा केही नैराश्य भोगे पनि पिताजीले त्यसपछिका वर्षहरूमा पुनः सामाजिक चेतना अभियानलाई जागै राख्नुभयो र यस शृङ्खलाको पहिलो आन्दोलन २००८ सालमा सुरु भएको हलो आन्दोलन थियो। त्यस बेला ब्राह्मणहरूको मुख्य काम वेद पढ्ने, कर्मकाण्ड गराउने र दान लिएर जीविका चलाउने हो भन्ने मान्यता थियो। गृहस्थी गरेका ब्राह्मणहरू पनि आफै जोत्दैनथे, बरू अन्य जातका पुरुषलाई हली राख्थे। नेवार जाति भित्र उच्च जात मानिनेले पनि हलो जोत्दैनथे। खेतमा कामको चटारो परेको समय पारेर २००८ सालको असार महिनामा स्थानीय केही युवाहरूलाई समेत सामेल गरी ब्राह्मणहरूकै उपस्थितिमा पिताजीले हलो जोत्नु भयो। बाहुनले हलो जोत्यो भनेर त्यो समाचार ऋषिङमा र यत्रतत्र ठूलै काण्ड भएजस्तो गरी फैलियो।
ब्राह्मणहरूले पिताजी र उहाँलाई साथ दिएका अन्य केटाहरूलाई भान्सामा र पूजाआजा भएका स्थलहरूमा प्रवेश नदिने भनी ‘भात–हटक’ गरे। यसको असर परिवारको आयमा पनि पर्यो किनभने हजुरबुबा पूर्णकान्तका यजमानहरू ऋषिङभरि फैलिएका थिए र यजमानीबाट उहाँलाई ठूलो मात्रामा चामल, घ्यू र नगद प्राप्त हुन्थ्यो। रोपाइँका समयमा यजमानहरूले खेताला पठाउने पनि चलन थियो। प्रतिद्वन्द्वी ब्राम्हणहरूले अब पूर्णकान्तलाई पनि नपुज्ने भनेर थर्काउन थाले। गाउँका केही फटाहाहरूले त ‘भात–हटक’ हटाउन यति पैसा चाहिन्छ भनेर मोलतोल पनि गर्न थाले। उनीहरूको दबाब बढ्दैगएका बेला पिताजीकै साथी ऋषिङ सामुङका तुलसीप्रसाद श्रेष्ठले पनि हलो जोतेर नेवार समुदायमा खैलाबैला उत्पन्न गरे।
पिताजीको निधन भएको समाचार सुनेर हामीलाई समवेदना व्यक्त गरेका धेरैले नेपालको प्रजातान्त्रिक आन्दोलनमा उहाँको योगदान र पुराना वामपन्थी नेताको पहिचानलाई प्राथमिकतामा राखे। ती सबै कुरा यथार्थ हुन्। उहाँ २००८ सालदेखि अविच्छिन्न रूपमा कम्युनिस्ट पार्टीमा हुनुहुन्थ्यो र त्यसका महान् हस्तीहरू पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, केशरजंग रायमाझी, विष्णुबहादुर मानन्धरको नजिकमा रहेर काम गर्नुभएको थियो। २०४६ सालको जनआन्दोलन र त्यसपछि एमालेको गठन भएका सुरुका दिनदेखि जीवनको अन्तिम क्षणसम्म उहाँ एमालेसँग सम्बद्ध हुनुहुन्थ्यो। तर उहाँको जीवनको प्रारम्भिक ध्येय भने समाजसुधार र जनजागरण नै थियो। उहाँका लागि राजनीतिक दल फगत साधन थियो, साध्य थिएन। त्यसमा सहभागी भएर आफू केही बन्नुभन्दा केही गर्न चाहनुहुन्थ्यो।
जीवनका अन्तिम समयतिर उहाँ आफ्नो जन्मभूमि, मित्रलाल लम्सालले बनाएको टारीबाँधको घर, उत्तरमा शुक्ला गण्डकी (सेती) र दक्षिणमा कृष्ण गण्डकी (काली) को बीचमा रहेको ऋषिङको तपोभूमिको धेरै सम्झना गर्नुहुन्थ्यो।
जग्गा भर डुलियो, डुलेर फिरियो बस्ती
ऋषिङमा असल
राजबाट नजिकै सदर पनि हुने हटिया बनेको पसल
गाउँबेसी नजिकै छ बेस बढिया पानी छ ठण्डा चिसो
यस लोकमा सुखभोग परन्तु परलोक मरण छ कृष्णाजीको
राणाकालमा खाएको जागिरबाहेक सत्तरी वर्ष लामो राजनीतिक जीवनमा उहाँले कहिल्यै पनि लाभको पदधारण गर्नुभएन। अहिले राजनीति बजारमा मूल्य घटबढ हुने अन्य बिक्रीको मालजस्तै भएको छ। पिताजीले भने राजनीतिलाई समाज र त्यसका सर्वाधिक उत्पीडितहरूका लागि लडेर अनमोलको सेवा बनाउनुभएको थियो। अहिले हामी त्यसैवापत गौरवान्वित छौँ र उहाँको सफल जीवनबाट धन्य भएका छौँ।
प्रकाशित: १४ जेष्ठ २०७९ ०५:०७ शनिबार