२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

अदावीमा दावी गरिनुपर्ने अर्काे नाम- खगराज बराल

कुराकानी

नगेन्द्रराज रेग्मी

गंगालाल हस्पिटलमा बसिरहेको छु। हप्ता दिनपछि डाक्टरले अपरेशन गर्ने तयारी गर्दैछन्। त्यसैत्यसै मन नरमाइलो भइरहेछ। मन भुल्याउन कुनै राम्रा पुस्तक भए पठाइदिनुस् न दाजु। भाइ रुद्र रेग्मीले फोनबाट दिएको यो अप्रत्यासित सन्देशले मेरो मन पनि द्रवित भयो। जीवनमरणसँग लड्न लागेको भाइलाई कस्तो पुस्तक लगिदिने? कुनै धार्मिक, आध्यात्मिक पो लाने कि? सोच्दासोच्दै झट्ट मनमा आयो खगराज बरालको ‘मालामा नउनिएका फूलहरू’।

उक्त पुस्तक च्यापेर पुगें गंगालाल हस्पिटल। उसलाई भेटेर सान्त्वनाका शब्दहरू प्रकट गर्दै पुस्तक थमाएर फर्किएँ। नभन्दै दसबाह्र दिनपछि भाइ त अपरेशन थिएटरबाट फर्कियो तर पुस्तक फर्किएन। पेसेन्टलाई हेर्न आएका डाक्टरहरू पनि एक न एक बहानाले सो पुस्तकको एकएकवटा शीर्षक पढ्दै फर्किंदा रहेछन्। फेरि दोस्रोे शीर्षक पढ्न फेरि पेसेन्ट हेर्ने निहुँमा आउने गर्दा भाइको हेरचाह र मनोबलमा बढ्दै गएकोे कुरा पछि उसैबाट सुन्न पाउँदा शब्द र अक्षरको कत्रो ताकत हुँदो रहेछ भन्ने लाग्यो। डा.रामेश कोइराला र डा. सिद्धार्थ प्रधानहरू मात्र होइन अब आफूले नै नपढी दिएको पुस्तक आफैंलाई कत्तिखेर पढौ जस्तो भयो र म पनि सो पुस्तक खोज्न बाध्य भएँ।

तपाईको बा कोसँग बस्नुहुन्छ खगराज सर?’

-‘मालामा नउनिएका फूलहरू’ उहाँको पुस्तकका केही पृष्ठ पढिनसक्दै म उहाँसँग एकाएक यो प्रश्न गर्न लोहकन्थली भक्तपुरमा पुगें।

‘पोखरामा बासँग भाइ बस्ने गरेको छ भने काठमाडौं आउँदा बासँग हामी लोहकन्थलीमा बस्न पाउँछौं।’

लेखकले लेखेको कुरा आफ्नो जीवनमा कत्तिको उतारेको हुँदो रहेछ भन्ने कुरा म परीक्षण गर्न खोजिरहेको थिएँ। तर, त्यतिखेर उहाँको बा पोखरा गइसक्नुभएको रहेछ। यस्तो भन्न सक्ने  सामथ्र्य के हाम्रो नपाली समाजका सब कोहीमा छ? यो वर्तमान समाजमा देखिरहेको अत्यन्त चोटिलो र मार्मिक सन्दर्भ हो। ‘पाल्ने शब्दको अर्थ मलाई त्यति प्रिय लाग्दैन। यो शब्द आमाबाबुलाई जोडेर भनेको त झन् मनै पर्दैन (मालामा नउनिएका फूलहरू पृ.१६)।’ 

बाबुआमाको कुरा नामक प्रथम शीर्षकमा बडो मार्मिक र व्यवहारिक रूपमा उठाएको यो विषयले मलाई सुरुमै छोयो अनि लाग्यो पाठकलाई तान्न सक्ने खुबी र चातुर्य लेखकमा रहेछ। कसैले कुकुर पालेका छन्, कसैले गाई, बाख्रा, कुखुरा र कालिज पालेका छन्। के आफूलाई जन्म दिने भगवान् समानका बाबुआमालाई हामीले त्यसैगरी पाल्ने हो त? ‘पाल्ने’ शब्द अलि नमिलेको हो कि हामीले उहाँहरूलाई गर्ने व्यवहार नमिलेर यसो भनिएको हो? यो अहं प्रश्न हो। उहाँहरूबाट हामीले आशीर्वाद लिने हो। उहाँहरूको हामीले सेवा गर्ने हो। उहाँहरूलाई हेरचाह गर्ने हो तर पाल्ने होइन। हो, यस्तैयस्तै सामान्य तर सूक्ष्म रूपमा चिरफार गरेर, निफननाफन पारेर तयार पारिएको पुस्तकको नाम हो, ‘मालामा नउनिएका फूलहरू’। हालै यो पुस्तक बजारमा आएको छ। यसका लेखक हुनुहुन्छ–खगराज बराल। अहिले म त्यही पुस्तक पढिरहेको छु।

पुस्तकमा २० शीर्षक छन् र ती प्रत्येक शीर्षकले हामीलाई त्यही ठाउँ, परिवेश र सन्दर्भमा लिएर गइरहेको हुन्छ। त्यसैले पाठक पनि रमाउँदै जान्छ, दुखित हुँदै जान्छ, कहीं निस्फिक्री हाँसिदिन्छ त कतै बडो नरमाइलो महसुस गरेर फर्कन्छ पनि। यस्ता  ज्ञानवर्द्धक र तथ्यपूर्ण घटना विवरणहरूमा आधारित रहेर हामीलाई यसले गतिलो खुराक प्रदान गरेको छ। लाग्छ, कतै यी कथाहरू हुन् कि? उपन्यास हो कि? उहाँको आत्मकथा पो हो कि? संलाप हो त? विभिन्न कोणबाट हेर्न सकिन्छ यसलाई र अन्तमा निष्कर्षका साथ भन्न सकिन्छ, ‘यो सबै सबैथोक नै हो।’

भोक कहाँ लाग्छ भन्ने कुरामा लेखक पनि अन्योलग्रस्त देखिनुहुन्छ। भोक मनमा लाग्छ कि पेटमा? पेटमा लाग्छ जस्तो लाग्छ तर खाना पाएपछि सबै सामसुम हुने मन खुसी हुने, प्रफुल्लित हुने र काम गर्न जाँगर पनि आउने। अनि मनमा पो भोक लाग्दो रहेछ जस्तो पनि लाग्छ। यति सामान्य सजिलो विषय जो कोहीलाई अनुभव र अनुभूति हुने कुरालाई पनि बडो गहन ढंगले उतारेर राखिदिनुभएको छ उहाँले।

‘खगराज सर वास्तवमै भोक कहाँ लाग्छ?’

-‘साँच्चै यसको परिभाषा र व्याख्या गर्न म पनि सक्दिनँ, जान्दिनँ भोक कहाँ लाग्छ।’ थाहा नपाएको कुरा त्यसै लेखेर हामी पाठकलाई अलमलमा राख्नु भएन नि, एउटा टुंगामा त पुर्याइदिनुपर्यो नि, पर्दैन? म प्रतिप्रश्न गर्छु। (उहाँ निस्फिक्री हाँसिदिनुहुन्छ।)

लेखन के हो?

-अक्षर र शब्दका माध्ममबाट आफ्ना भावनालाई लिपिबद्ध गरिने एउटा सशक्त साधन नै लेखन हो। यसले जीवन र जगत्लाई प्रभावकारी रूपमा छोएको हुनुपर्दछ।

अहिले के लेख्दै हुनुहुन्छ?

-शिक्षक व्यवस्थापन नामक किताब लेख्दैछु।

यो कस्तो पुस्तक हो?

-शोधप्रबन्धमा आधारित पुस्तक हो। त्योबाहेक एउटा उपन्यासमा पनि लेखिरहेको छु। अहिले त्यसलाई शीर्षक दिइसकेको छैन। यो सामाजिक उपन्यास हो, पारिवारिक कुराहरू छन्। तराई र पहाडको दुई परिवारका जनजीवनका कुराहरू यसमा परेका छन्। जस्तो तिलक, शादी, गौना आदिआदि।

किन लेख्नुहुन्छ?

-मनका उकुसमुकुस र छटपटीलाई शान्त पार्न। धेरै कुरा आइरहेका हुन्छन् मनमा। अनि यी कुराहरू कहाँबाट कसरी पोखौ भन्ने लागिरहन्छ। उनीहरू पनि एकपछि अर्काे निस्कन आतुर हुन्छन्। तिनलाई बाहिर नल्याउञ्जेल मेरो मन बेचैन भइरहन्छ,  छटपटी आइरहन्छ अनि त्यही बेचैनी र छटपटीलाई शान्त पार्न म लेख्ने गर्छु। जस्तो मैले मेरी आमाका बारेमा धेरै कुरा लेख्नु थियो जब ‘स्यानी’ उपन्यास ल्याएँ तब म सन्तुष्ट भएँ। अब म आमाको ऋणबाट मुक्त भएँ भन्ने लाग्छ र उहाँको बारेमा अब मैले धेरै कुरा लेख्नु छैन र लेख्न सक्दिनँ पनि। त्यस्तै बलियाले निर्धा तथा हेपिएकाहरूलाई गर्ने व्यवहार/दुर्व्यवहारबारे मृगको माध्यमबाट पोखे–मालामा नउनिएका फूलहरूमा। अनि म प्रफुल्ल भएँ। सायद आफ्ना मनका यस्तैयस्तै घटना प्रसंगहरू लेखेर सन्तुष्टि प्राप्त गर्न लेखकहरू लेखिरहेका हुन्छन् जस्तो लाग्छ।

अहिलेसम्म लेखेर के पाउनुभयो?

-सन्तुष्टि, खाली आत्मसन्तुष्टि।

हो,खगराज बराल यसरी आफ्नो आत्मसन्तुष्टि प्राप्त गर्न लेखिरहनुभएको छ। तर, उहाँको त्यो  आत्मसन्तुष्टिभित्र नेपाली साहित्य र यसका पाठकहरू पनि लाभान्वित भइरहेका छन्, नेपाली साहित्यले पनि मलजल पाइरहेको हुन्छ। वास्तवमा यो यस्तो विषय हो जसले खालि नितान्त आफ्ना लागि, आफ्नो छटपटी शान्त पार्न कोरिएको सामग्रीबाट अरू कसैको बेचैनी र छटपटीलाई पनि निदान गरिदिएको हुन्छ, आत्मसात् गरेर बाहिर प्रकट गरिदिएको हुन्छ। त्यसैले त कविलेखकहरूलाई भनिन्छ, ‘जहाँ नपुगे रवि त्यहाँ पुगे कवि।’

ए हामीलाई हेर्न त होइन रहेछ। सिंह हेर्न हगि। मैले बुझें, तिमीहरू पनि हिंस्रकलाई नै हेर्न आएको रहेछौं। अझ सिंहले हामीलाई लखेटेको, सिंहले हामीलाई मारेको हेर्न आएका हौला। त्यस्तो हेर्न तिमीहरूलाई आनन्द आउँछ, हैन? केको शान्तिप्रिय तिमीहरू? बुद्धको देशका भनेर तिमीहरूलाई के भन्ने? हिंसा हेर्न आनन्द मान्नेलाई, अलि रिसाएर मृगले भन्यो। ...वाह शान्तिप्रिय। सिंह हेर्न आउने पनि शान्तिप्रिय? सिंह केको प्रतीक हो? ...अरूको जीवन सिद्धयाएर उसको शरीर खाने पनि शान्तिप्रिय? रगतमा रमाउने पनि शान्तिप्रिय? हामी हौं शान्तिप्रिय। हामीले कुनै प्राणीको जीवन खाँदैनौ। हामीले रगत खादैनौ (ऐ.पृ.१०८)।

यसरी तपाईले मृगलाई त आफ्नो पुस्तकमा खुब बोलाउनुभएको छ, बालकथामा जस्तो चराचुरुंगी र जनावरहरू बोलेको, रोएका, हाँसेका जस्ता कुराले पाठकलाई छुन सक्छ? यो त अवास्तविक हो नि, जीवन्त भयो र?

-जीवन्त नभएको भए सबैभन्दा बढी यही मृगसँगको बातचित मन प¥यो भनेर अधिकांश पाठकले मलाई स्यावासी दिइरहने नै थिएनन् होला। जहाँसम्म नाटकीय रूप र अवास्तविक भन्ने कुरा छ त्यो त एउटा विम्ब वा प्रतीकात्मक रूपमा मैले आफ्ना भावनाहरू पोखेको हुँ। आफ्ना असन्तुष्टिहरू आफूले भन्न खोजेका कुराहरू उसको मुखबाट वा अरूको कसैको मुखबाट बोलाएर पोख्न पाउँदा आफूलाई हल्का हुने गर्छ।

तपाईको चर्चित कृति?

-सिकाउने शैली नै हो।

त्यसपछि?

-सायद ‘स्यानी’ हो कि!

स्यानीका बारेमा कुरा निस्कँदा मलाई अहिले झट्ट सम्झना आयो यसमा मलाई साहै्र चित्त नबुझेका केही कुरा गर्न सक्छु?

-किन नसक्नु, हुन्छ गरौ न।

आफ्नी त्यति प्रिय आमा स्यानीलाई पुस्तकभरि तिमी सम्बोधन गरेको मलाई ज्यादै नमिठो लाग्यो? आदरसम्मान पनि त केही चिज हो नि? बाआमालाई पाल्नेभन्दा तपाई चित्त दुखाउने अनि आफैचाहिं आफ्नी प्यारी आमालाई तिमी भनेर अलि हेयको वाक्य बोल्ने? लेखनमा सम्मान व्यक्त गर्ने एउटा अस्त्र भनेको आदरार्थी शब्दको प्रयोग पनि त हो नि हैन? किन त्यसो हुन सकेन?

-अवास्तविक कुरा नराखी मैले त झन् यसलाई जीवन्त बनाउन खोजेको थिएँ, अनौपचारिक भाषा बोलेको हुँ। मेरो एकजना आफन्त हुनुहुन्थ्यो। उहाँ अहिले ९०/९२ वर्षको हुनुभयो होला। उहाँकी दिदी ९४ वर्षको हुनुहुन्छ। माइती आउँदा त्यस्तो बुढी भएकी दिदीलाई पनि तँ भनेरै बोलाउनुहुन्छ। मलाई चाहिं यसले झन् निकटता ल्याउँछ भन्ने लाग्छ। वास्तवमै हामी प्यारो गरेरै आमालाई तिमी सम्बोधन गरेर बोलाउँथ्यौ।

लौ यसलाई त मानौ अरे, तपाईजस्तो सभ्य शिक्षित मान्छे, अझ घरपरिवार र तपाईको पिताजी त झन् शिक्षक नै हुनुहुँदो रहेछ। त्यस्तो परिवारको एक प्रमुख सदस्य आफ्नी आमाले चुरोट पिउनु भनेको...।

निश्चय नै तपाईले भनेको ठिक हो। तर म यथार्थ नबोलौं? त्यो आमाको राम्रो लत थिएन, होइन। मेरो बाले निकै प्रयत्न पनि गर्नुभएको हो तर सो लत छुटाउन सकिएन। म किन पाठकसँग झूठ बोलौ भनेर हो। सबै कुरा राम्रो मात्र त हुँदैन नि घरपरिवार समाजमा होइन र? आआफ्ना केही कमीकमजोरी त हुन्छन् नि।

तपाईको लेखकीय व्यक्तित्व हटाइदिने हो भने खगराज बरालको स्वरूप कस्तो हुन्थ्यो होला?

-एउटा सेवा निवृत्त निजामति कर्मचारी, शिक्षा क्षेत्रमा काम गरेको व्यक्ति बस्।

तपाईलाई लेखकीय व्यक्तित्वले नै बचाउने हो त?

-हो जरुर हो। साहित्यले नै मलाई बचाएको छ, बचाउने छ।

लेख्न बस्दा तपाई पहिले प्लट बनाएर सुरु गर्नुहुन्छ कि लेख्दै जाँदा प्लट बन्दै जान्छ?

-मनमा आएका कुराहरू लेख्दै जाने हो। पछि त्यसलाई ढाँचामा ढाल्ने काम गर्छु। पहिले बनेका प्लटमा पछि केही थपथाप र परिमार्जन पनि नहुने होइन।

श्रमिक बराल र खगराज बराल एउटै व्यक्ति किन यसरी विभक्त?

-म कलेज पढ्दा यस्ता उपनामहरू राख्ने चलन थियो। त्यही रहर र युवा लहडमा श्रमिक बराल लेखें। कक्षा ३ को मेरो नेपालीमा ‘असल बन’ भन्ने कवितामा पनि श्रमिक बराल छ। त्यस्तै मेरा गीतहरूमा पनि श्रमिक बराल नै छ। पछिल्ला कृतिहरू सबैमा खगराज बराल लेख्दै आएको छु।

यसरी दोहोरो नामले परिचयमा कठिनाइ हुँदैन?

-हो कहिलेकाहीं त्यस्तो भएका मसँग थुप्रै अनुभव छन्। भैरहवाको एउटा स्कुलमा पुग्दा खगराज बराललाई चिने तर त्यहीं पढाइ हुने पाठ्यक्रमको श्रमिक बराललाई शिक्षक विद्यार्थीले चिनेनन्। पछि कसैले त्यो यही व्यक्ति हो भनिदिंदा सबै छक्क मात्र होइन विद्यार्थीहरू हेर्न आइपुगे मलाई। रमाइलो पनि लाग्यो। यस्ता थुप्रै उदाहरण छन् मसँग।

प्रशासक खगराज बराल र लेखक बरालमा को सशक्त?

-लेखक खगराज नै सशक्त।

पोखराजस्तो प्रकृतिको मनोहरी छटामा जन्म भएका कारण तपाईको लेखकीय व्यक्ति निर्माण भएको त होइन?

-कतै त्यो पनि मिसियो होला तर त्योभन्दा पनि बढी अग्रजहरूका कृति पढेर नै लेख्ने प्रेरणा म मा जागेको हो। साधना पनि गरियो। म प्रायः योग गर्छु त्यतिखेर मनमा थुप्रै विचारहरु आउछन् अनि लेख्छु।

लेखनमा मुडको ठूलै प्रभाव छ हैन त?

-हो नि मुड नआई कसरी लेख्ने? तर त्यो कहिलेकाहीं एउटा झिल्का जस्तो पनि आउँछ। त्यतिखेरै सम्झनुपर्छ टिप्नुपर्छ। नत्र भोलिपल्ट जति कोसिस गर्दा पनि म सम्झनँ सक्दिनँ। त्यसैले म सिरानीमा कपी कलम राख्छु र त्यस्तो गहिरो भाव फुर्दा टिप्ने काम गरिजान्छु।

मृत्युसँग कत्तिको डर लाग्छ?

-लाग्छ नि मृत्युसँग डर।

अनि धामीझाँक्री, भूतप्रेतसँग नि?

-मेरा पुस्तकहरूमा पनि यस्ता अदृश्य शक्तिको निकै ठाउँमा चर्चा गरेको छु। सुल्झिन नसकेका कैयौं यस्ता अज्ञात शक्तिका कुराहरू मेरै जीवनमा घटित भएका छन्। वैज्ञानिक तथ्यले पुष्टि नगरेका कुरा यै हो भन्न नसके पनि अज्ञात कुनै न कुनै शक्तिचाहिं छ जस्तो लाग्छ।

हो खगराज ससाना विषयवस्तु, झिनामसिना कुरा र घटनाहरू टिपेर त्यसलाई भिन्नभिन्न कोणबाट खोतलेर हेर्न सिपालु हुनुहुन्छ। त्यो सन्दर्भलाई मिहीन पाराले खिपेर शिल्पका साथ चित्ताकर्षक बनाएर, कहीं कतै व्यंग्यको पाइन समेत हालेर पस्केर पाठकसामु पुर्याउँदा कुन पाठक स्वाद मानीमानी, हात चाटीचाटी नखालान् र?

-उहाँको यही विशेषताका कारण प्रायः उहाँका प्रत्येक पुस्तकहरू ग्रहणयोग्य देखिन्छन्।  २०२७ साल आषाढमा पिता शोभाकर बराल र माता लीलावतीको कोखबाट उहाँको जन्म सुन्दर नगरी कास्कीको पोखरामा भएको थियो। निजामति सेवामा प्रवेश गरेर मन्त्रालयको सचिवजस्तो उच्च पदमा आसिन भएर सेवा निवृत्त हुनुभएका बराल अहिले पनि शिक्षा क्षेत्रकै गरिमामय आसनमा आसिन हुनुहुन्छ। त्यसैले मलाई शिक्षा क्षेत्रकै केही कुरा गरेर बिदा माग्ने सोच आउँछ।

तपाईले त शिक्षा क्षेत्रमै लामो कार्यकाल व्यतित गर्नुभयो, शिक्षामै विद्यावारिधि समेत गर्नुभयो। नेपाली शिक्षा नीतिले हाम्रा बालबच्चालाई होइन, विदेशीलाई काम लाग्ने जनशक्ति मात्र उत्पादन गर्यो भन्छन् के तपाई सहमत हुनुहुन्छ?

-निश्चय नै हो। मेकालेले बनाएको शिक्षा पद्धतिकै हामी अहिलेसम्म अनुकरण र अनुशरण गरिरहेका छौं। उसले आफूहरू हिंड्ने खालको शैक्षिक परिपाटी यहाँ पनि लागू गर्न सफल भए। अनि हामीहरू त्यसैलाई अन्धानुकरण गर्न बाध्य भयौं। सायद त्यसैले उनीहरू मालिक बनें अनि हामीलाई कामदार बनाए।

यत्रो कुरा थाहा हुँदाहुँदै पनि तपाई शिक्षाको सचिव, सहसचिव भएर शिक्षा मन्त्रालयमा लामै कार्यकाल बस्नुभयो, एउटा सचिवजस्तो राष्ट्रको उच्च प्रशासकले त्यसलाई सुधार्न वा परिवर्तन गर्न सकिन्नथ्यो?

-तपाईले भनेजस्तै एउटा सचिवले मात्र यस्ता नीतिनिर्माणका कामहरू गर्न कहाँ सक्छ र? त्यसका लागि समग्र राज्य लाग्नुपर्छ। कार्यपालिका व्यवस्थापिका पनि दृढ हुनुपर्छ, राजनीतिक दल र व्यक्तिहरूको इच्छाशक्ति भए मात्र यस्ता कार्य सफल हुन सक्छन्।

यो त नेताको जस्तो कुरा भएन र खगराज सर आफू उम्किने?

-हैनहैन, यथार्थ नै यही हो।

तपाईको प्रथम रचनाचाहिं कुन पत्रिकामा छापिएको थियो?

-‘मुक्ति’ मासिक पत्रिकामा प्रकाशित भएको हो।

यो कति सालमा?

-२०४४ सालमा।

त्यसको शीर्षक के थियो?

-‘नेपालमा जनसंख्या वृद्धि।’

यो कुन विधाको रचना हो?

-निबन्ध।

आफ्नो नाम यसरी छापिंदा त्यतिखेर तपाईलाई कस्तो अनुभूति भयो?

-राम्रो लाग्यो नि, गौरव भयो। त्यो पत्रिका साथीहरूलाई देखाउँदादेखाउँदा, तानातान गरेर च्यातियो तर त्यसलाई फेरि टाँसेर जतनसाथ अहिलेसम्मै राखिरहेको छु।

अन्त्यमा खगराज बरालले मालामा नउनिएका फूलहरूको अन्तिम शीर्षकमा अदावीका धेरै चोटिला प्रसंग उठाएर हामी सबैलाई सतर्क गराउनुभएको छ। यो यति गहन र पढ्नै पर्ने विषय छ, यसलाई त हाम्रा राजनीतिक दलहरूले आआफ्ना चुनावी घोषणापत्रहरूमा समेत उल्लेख गर्दै नैतिकताको उच्च नमूना प्रस्तुत गर्न सक्छन्। त्यसैले त्यहाँ अदावी व्यक्त गर्ने धेरै उदाहरणीय व्यक्तित्वभित्र नपरेका अर्का एक व्यक्तिको नाम अरूहरूले थप्नुपर्ने हुन्छ त्यो नाम हो–खगराज बराल। अदावीको एक अंश यस्तो छ।

-एकजना विदेशी यात्री समय मिलाएर प्रधानमन्त्री चाणक्यलाई भेट्न गएछन्। साँझको समय थियो। चाणक्य आफ्नो कुटीमा टुकी बालेर केही लेख्दै थिए। यात्री आएको थाहा पाएर झटपट उनको स्वागत गरेर आसनमा बसाले। त्यसपछि कागज, कलम, मसी एकातिर पन्छाएर नयाँ टुकी बालेर अघि बलिरहेको टुकी निभाए। ‘एउटा टुकी निभाएर त्यस्तै अर्काे टुकी बाल्नुको मतलब के हो?’ भनेर यात्रुले सोधेछन्।

चाणक्यले भनेछन्,‘अघि म राज्यको काम गर्दै थिएँ। त्यो टुकीमा राज्यको पैसाबाट किनेको तेल छ। अब अहिले म तपाईसँग व्यक्तिगत कुरा गर्दैछु र यो टुकीमा मैले राज्यबाट पाउने तलबको पैसाले किनेको तेल हालेको छु। फरक यत्ति हो, नत्र टुकीमा केही फरक छैन र उज्यालो पनि उत्तिकै हो (ऐ.पृ.२८६)।’  

प्रकाशित: १३ जेष्ठ २०७९ ०३:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App