२३ असार २०७९ बिहीबार
कला

वाचा

लघुकथा

त्रिविक्रम पाण्डे

मेरी श्रीमती मेरो छेउमै निदाइरहेकी थिइन्। अचानक त्यतिबेलै मलाई एउटा सूचना आयो। एउटी महिलाले मलाई अनलाइन आउन भनिन्। मैले उनले भनेबमोजिम गरें। मैले मित्र अनुरोध पनि स्वीकारे अनि सन्देश पठाएँ, ‘के हामी एक–अर्कासँग परिचित छौं?’

उनले भनिन्, ‘मैले थाहा पाएँ, तिम्रो विवाह भइसक्यो तर म अझै पनि तिमीसँग प्रेम गर्छु।’ उनी अतीतकी एक मित्र थिइन्। उनी तस्वीरमा अत्यन्तै आकर्षक देखिन्थिन्। मैले च्याट रोकें अनि श्रीमतीतिर हेरें। उनी दिनभरिको कामको थकाइले गहिरो निद्रामा परेकी थिइन्। उनलाई हेर्दै मैले सोचें, ‘उनी आफूलाई यति सुरक्षित महसुस गर्दै कसरी मसँग पराई घरमा यति आरामले सुत्न सकेकी छिन्।’

थाहा छ, उनी आफ्नो जन्मघरबाट निकै टाढा छिन्। बाआमाको घरमा पो उनी चौबीसै घण्टा आफन्तबाट घेरिइरहन्थिन्। जब त्यहाँ उनी तनाव या उदास हुन पुग्थिन् तब उनकी आमा त्यहाँ हुन्थिन् जसको काखमा उनी ढुक्कले रुन सक्थिन्। उनका भाइबहिनीले चुटकिला सुनाउने तथा अन्य मनोरञ्जनात्मक कुराहरू गरेर हँसाउने गर्दथे। उनका बा घर आउँदा उनलाई सबै कुरा दिने गर्दथे जुन उनलाई औधी मन पर्थ्यो। यस्तो वातावरण त्यागेर उनले ममाथि यत्रो भर विश्वास राखिन्।

यी र यस्ता सबै कुरा मेरा मनमा मडारिएपछि मैले फोन उठाएँर ब्लाक बटन थिचिदिएँ। म उनीतिरै फर्कें अनि छेउमै सुतें। लाग्यो, ‘म अब एक परिपक्व मान्छे हुँ। कुनै अल्लारे केटो होइन। मैले उनीप्रति सधैं इमानदार रहने वाचा गरिसकेको छु। मबाट त्यो वाचा अवश्य पूरा हुनेछ। म निरन्तर इमानदार पुरुष बन्न संघर्षशील रहनेछु,जसले कहिल्यै आफ्नी श्रीमतीलाई धोका दिंदैन अनि एउटा पवित्र घरपरिवारलाई कहिल्यै बिग्रन दिंदैन।’

प्रकाशित: ७ जेष्ठ २०७९ १२:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App