२३ असार २०७९ बिहीबार
कला

बुद्धत्व नै अन्तिम सत्य हो

दर्शन

यो विश्वमा भगवान् बुद्ध एउटा ठूलो रहस्यमय रूपमा प्रज्ज्वलित हुनुभएको छ। भगवान् त धेरै देखिन्छन्। आफूलाई भगवान् भनाउनेहरू पनि धेरै नै देखिए तर यो संसारमा बुद्धको चेतनाले जुन शिखर छुन सक्यो, त्यस्तो चेतना अन्य कसैसँग देखिएन।

बुद्धको पूजा जीवनसत्य खोज्ने र निर्वाण प्राप्त गर्ने उपायमा मात्र बित्यो। बुद्धले मानव मनोविज्ञानलाई बुझेर दुःखका सम्पूर्ण कारणलाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा सबैले बुझ्ने गरी बताउनुभएको छ।

बुद्धले जति ज्ञानका कुरा बताउनुभएको छ, जति धर्म देशना उपदेश दिनुभएको छ, अनि जति मानव मात्रको कल्याण र उद्धार गर्ने मार्ग देखाउनुभएको छ, त्यति अरू कसैले पनि गरेको देखिँदैन। यो संसारमा अहिलेसम्म बुद्धबराबरको व्यक्ति जन्मेकै छैन भन्दा पनि हुन्छ। सयौँ ग्रन्थहरू छन् बुद्धका प्रवचनले भरिएका तर आश्चर्य लाग्दो कुरा के छ भने बुद्धका जति पनि प्रवचनहरू छन्, ती कतै पनि दोहोरिएको देखिँदैन।

बुद्धलाई हामीले भगवान्का रूपमा मान्दै आइरहेका छौँ। वास्तवमा बुद्ध भगवान् होइनन्। बुद्धलाई हामीले भगवान् बनाएका हौँ। बुद्धले त भगवान् भनेर कसैलाई पूजा गर्नु पर्दैन; मूर्ति पूजा पनि नगर्नू भनी उपदेश दिनुभएको छ। तर हामीले नै बुद्धका उपदेश विपरीत बुद्धकै मूर्ति बनाई भगवान् मानी पूजा गरिरहेका छौँ। यतिसम्म कि यो संसारमा सबैभन्दा बढी मूर्ति त बुद्धकै छन्।

कसैलाई उपहार दिनुपर्‍यो, बुद्धको मूर्ति त्यो पनि विभिन्न किसिमका ढलौटका साथै सूनचाँदी लगायत विभिन्न धातुका मूर्तिसमेत बनाएर बुद्धका मूर्तिहरू एकअर्कामा आदानप्रदान गर्ने गरिन्छ। कसैलाई सम्मान गर्नुपर्‍यो वा पुरस्कार दिनुपर्‍यो भने पनि बुद्धको मूर्ति दिने प्रचलन व्यापक रूपमा बढ्दै गइरहेको छ। यसरी बुद्धको मूर्तिको व्यापकरूपमा व्यापार भइरहेको छ। यतिसम्म कि बुद्धको मूर्तिलाई ढाल बनाएर गैरकानुनी रूपमा लागुऔषध बेचबिखनजस्ता अनेकौं अपराध गरिएको पनि देखियो।

आजको समयमा मानिस यतिसम्म स्वार्थी भइसके कि जसरी भए पनि पैसा कमाउन पाए पुग्यो; चाहे बुद्धको मूर्ति बेचेर होस्, चाहे शिवको मूर्ति बेचेर होस्। बुद्धले यसो भन्नुभएको छ, यसोयसो गर्नुपर्छ भनी धर्मगुरु बनेका भिक्षुहरूले समेत झुठा कुरा गरेर आफ्नो प्रवचन सुन्न आउने स्रोताहरूबाट दानको नाममा मनग्य फाइदा उठाउन पछि पर्दैनन्। यसरी बुद्धको नाममा नाजायज फाइदा उठाउनेहरूले गर्दा नै आज आएर कतिपय ठाउँमा बुद्धको दर्शनमा नै नकारात्मक असर पारेको देखिन्छ।

बुद्ध दर्शन, बुद्धको उपदेश र बुद्धले दर्शाउनु भएका गतिविधिहरूको अध्ययनमनन गर्दा के देखिन्छ भने बुद्ध अत्यन्तै सरल र व्यावहारिक हुनुहुन्थ्यो। उहाँले लोककल्याणकै लागि आफ्नो जीवन समर्पित गर्नुभयो। बुद्धको ज्ञानलाई हामीले बुद्ध धर्म भनी नामकरण गर्‍यौं।

बुद्धको ज्ञान धर्म होइन, कुनै सम्प्रदाय पनि होइन तर हामीले नै सम्प्रदाय बनायौं र धर्मका नाममा नानाथरीका नीतिनियम बनाएर उल्टै भ्रम फैलाउने काम मात्र गरिरहेका छौं। राजा शुद्धोधनका छोरा गौतमले आफूले भोग्दै आएको राजसी ठाँटबाट र सुखसुविधाजस्ता सम्पूर्ण राजसी भोग विलासको त्याग गर्दै आधा रातमा आमाको दुध खाँदै गरेका पुत्र राहुल र पत्नी यशोधरालाई समेत छोडेर वनमा गई तपस्या गरे र सन्यासी जीवन बिताए।

चक्रवर्ती सम्राटजस्तै भएर सुखसयलमा आफ्नो जीवन बिताउन सक्ने गौतम बुद्धले आजीवन सन्यासी जीवन बिताएर मानिसको वास्तविक दुःखको पहिचान र दुःखबाट मुक्ति पाउने सत्यको खोज गरेरै मानिसमात्रका लागि कल्याणका अनेकौं उपयोगी ज्ञानवर्द्धक उपदेश बाँड्दै हिँडेका थिए। तर बुद्धका तिनै उपदेशको व्याख्या गर्दै जनमानसमा सच्चा मार्गको उपदेश दिने उद्देश्यले भिक्षु बनेका धर्मगुरुहरूको जीवन शैली र राजसी ठाँटबाँट देख्दा के धर्मको नाममा आडम्बरजस्तो भान पर्दैन र? के धर्मका नाममा शोषण भइरहेको अनुभव हुँदैन र?

वास्तवमा हामीले बौद्ध धर्म भनिरहेका छौं तर बुद्ध धर्म, धर्म नै होइन। त्यो त गौतम बुद्धले दिनुभएको उपदेशको दार्शनिक पक्ष मात्र हो, अर्थात् बौद्ध दर्शनले मानिसको जीवनमा आउने उतारचढावलाई सन्तुलित बनाई मानव जीवन सार्थक बनाउन सकियोस्। सिद्धार्थ गौतमले जब अनेकौं कष्टपूर्वक तपस्या गरेपश्चात् बोधिसत्व प्राप्त गरे, तब उहाँलाई गौतम बुद्ध भनियो। बोधिज्ञान प्राप्त गर्ने जोकोहीलाई पनि बुद्ध भन्न सकिन्छ। त्यसैले बुद्ध धर्म नभई दर्शन हो। बुद्ध धर्म वैज्ञानिक धर्म हो। अर्थात् बुद्ध धर्ममा जसले जेजस्ता प्रश्न गरे पनि हुन्छ, तर्कवितर्क जति गरे पनि हुन्छ। त्यसैले त बुद्ध धर्मलाई वैज्ञानिक धर्म भन्ने गरिन्छ।

बुद्धले भन्नुभएको छ-‘मैले भनेको कुरा सबैले मान्नुपर्छ भन्ने छैन। मैले भनेको कुराको अध्ययन, मनन र अनुसन्धान गरेर ठीकबेठीक छुट्टयाएर मात्रै मान्ने गर्नू। मैले कसैलाई पनि मैले भनेको कुरा मान्नैपर्छ वा पत्याउनैपर्छ भनेर जोर जबरजस्ती गर्दिन भनी बुद्धले भन्नुभएको छ। अर्को कुरा ‘बुद्धम् शरणम् गच्छामि’ भन्दै हामी बुद्धको शरणमा छौं, हामीलाई बुद्धले कल्याण गर्नुहुनेछ, हाम्रा सम्पूर्ण समस्या बुद्धले नै समाधान गर्नुहुनेछ भन्नेतर्फ ढुक्क हुँदै आएका छौं। तर यो हाम्रो भ्रम मात्र हो। किनभने बुद्धले मेरो शरणमा आऊ भनेर कसैलाई भन्नुभएकै छैन।

बुद्धले त त्यसको ठीक विपरीत यहाँ कोही कसैको शरणमा जानु पर्दैन। यहाँ कसैलाई कसैले पनि शरणमा लिदैन। त्यसैले यहाँ भगवान्को शरणमा जाने कुरा गर्नु पनि निरर्थक हो भन्ने खालका उपदेश दिनुभएको छ। तर हामी भने बुद्धलाई भगवान् मानेर ‘बुद्धम् शरणम् गच्छामि’ भनिरहेका छौं। त्यसैले आफ्नो शरणमा आफैं जानू अर्थात् आफ्नै शरणमा जानु भन्नुभएको छ। आफ्नै शरणमा जाने भनेको आफूभित्र आत्मज्योति जगाई स्वयम् प्रज्ज्वलित हुनु हो। मैले ‘अप्पो दीपो भवः’ भनेर त्यसै भनेको हुँ र? ‘अप्पो दीपो भवः’ भनेकै आफैभित्रबाट प्रज्ज्वलित प्रकाशित भई बोधिज्ञान प्राप्त गर्नु भन्ने हो।

साँच्चै भन्ने हो भने जसले बुद्धलाई राम्ररी बुझ्न सक्छ र मनन गर्न सक्छ ऊ भिक्षु नभई बस्न सक्दैन। आजका आधुनिक भिक्षुजस्तो होइन, वास्तविक सच्चा भिक्षु बन्छ। बुद्धको मार्ग भनेकै दुःखबाट पार भई निर्वाणमा जाने अर्थात् शाश्वत सत्य र आनन्दमा लीन भई जाने मार्ग हो।

बुद्धको जन्म नै एउटा ठूलो क्रान्ति हो। यो क्रान्ति कुनै पनि देश, धर्म या अर्को कुनै पनि सम्प्रदायका लागि मात्र क्रान्ति होइन। यो त बुद्धको जन्म नै एउटा व्यवस्थित धर्म दर्शनको मार्गमा पहिलो बौद्धिक क्रान्ति हो। बुद्धभन्दा पहिला धर्म, योग र ध्यान भन्ने दार्शनिकहरूका बिचमा एककिसिमले विरोधाभासको विज्ञानजस्तै भइरहेको थियो। त्यसैले पश्चिमा देशका सम्पूर्ण बुद्धिजीवी अनि वैज्ञानिकहरूले पनि बुद्धका दर्शन, उपदेश र योगलाई गम्भीरतापूर्वक लिई विशेष ध्यान दिन थाले। जसको फलस्वरूप उनीहरू चीन, जापान, श्रीलङ्का र भारतका साथै विश्वमा जति पनि बौद्ध राष्ट्रहरूमा भएका बौद्ध बिहार, गुम्बामा आकर्षित हुन थाले।

ती सबै बौद्ध धर्मबाटै लिइएका हुन् किनभने बौद्ध धर्म ईशा मसिहभन्दा ५०० वर्षअघि पूरा विश्वमा फैलिइसकेको थियो। बौद्ध भिक्षुहरूको पाइला नपुगेको विश्वमा कुनै पनि ठाउँ छैन। विश्वको जुनसुकै ठाउँमा खनेर हेर्दा पनि भगवान् बुद्धको मूर्ति वा चैत्य निस्किन्थ्यो। विश्वमा सबैभन्दा बढी मूर्तिको रेकर्डमा पनि बुद्धकै नाम पहिलो श्रेणीमा आउँछ अर्थात् यति व्यापक रूपमा बुद्धका मूर्तिहरू स्थापना भएका छन् कि त्यसको लेखाजोखा नै छैन।

जुन देशमा जनताको मन मस्तिष्कमा शान्ति, बुद्धि र जागरुकता हुँदैन अनि जुन देशले बुद्धको दर्शनलाई आफ्नो देशमा लागु गरेको छैन, त्यस देशको कहिल्यै विकास हुँदैन। अर्थात् शान्ति, बुद्धि र जागरुकताबिना कुनै पनि देशको भविष्य हुँदैन। अझ भनूँ, यो विश्वकै भविष्य हुँदैन। किनभने अन्तिम दार्शनिक सत्य नै बुद्ध हुन्। त्यसैले त भन्ने गरिन्छ–सत्यको अध्ययन गर अनि अगाडि बढ।

सच्चा व्यक्ति न नास्तिक हुन्छ न आस्तिक। सच्चा व्यक्ति त जहिले पनि वास्तविक नै भइरहन्छ र सत्यको पक्षमा नै उभिइरहेको हुन्छ।

‘विश्वमा एउटै मार्ग छ, जसले विश्वलाई बचाइराख्न सक्छ। त्यो मार्ग हो–बौद्ध मार्ग।’ यो भनाइ हो–वैज्ञानिक अल्बर्ट आइस्टाइनको।

प्रकाशित: ७ जेष्ठ २०७९ १०:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App