१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

श्राद्ध

लघुकथा

गंगा खड्का

रामप्रसाद चौरासी वर्ष पुगेको अवसरमा उनको घरमा धुमधामसँग चौरासी आयोजना गरियो। उनलाई बग्गीमा राखी शहर परिक्रमा गराइयो। छोराछोरीले उनका लागि गरेका सो उत्सवले धेरैका ध्यान तान्यो। यस विषयमा सबैले आआफ्ना विचार राखी बहसको विषय बनाए।

कसैले भने,‘कहीं नभएको स्वाङ! पहिला साझा बसमा चढ्दा दिने गाडी भाडा नहुने मान्छेलाई अहिले बग्गी चढेर सहर घुम्नुपर्ने!’

कसैले भने, ‘टुप्पोमा पलाएकाहरू यस्तै त हुन् नि।’

‘छोराछोरी सज्जन भएपछि बाबुआमालाई यस्तै सुख हुन्छ। रामप्रसाद बा त धेरै भाग्यमानी पो हुनुहुँदो रहेछ।’ कसैले यस्तो पनि भने।

उनले कान छेडेर कानमा मुन्द्रा लाएको देखेर कसैले कटाक्ष गर्दै भने, ‘मर्ने बेलामा हरियो काँक्रो।’

‘छोराहरूले केके न गरिदिएँ भन्ने सोचेका होलान्!’ कसैको मुखबाट यो कुरा सुनेपछि अघिदेखि  नानाथरी कुरा सुनेर भित्रभित्रै मुर्मुरिएकी एकजना निम्तालुले आफ्नो आवेगलाई रोक्न सकिनन् र मुख फुटाइहालिन्,‘छोराछोरीले केके मात्रै होइन धेरै गरे। मरेपछि श्राद्ध गर्नुभन्दा त बाँचुञ्जेल यसरी नै सुखमा राखेर श्रद्धा गर्नु बेस हुन्छ। बरु कुरा काटेर शुभकार्य बिटुलो बनाउनुभन्दा त यसबाट केही सिक्ने पो हो कि?’

प्रकाशित: ६ जेष्ठ २०७९ ०७:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App