१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

बुद्धि दिने चिर्कटो

छोटो कथा

टंकबहादुर आले मगर

‘नमस्कार हजुर’ भन्दै पाँच भाइ अल्छे गाउँको जानिफकारकहाँ पुगे।

जानिफकार बोल्यो,‘भन बाबु हो किन सम्झियौ?’

अल्छे जेठाले भन्यो,‘हामी अल्छेलाई जाँगरे बनाउने मान्छे को हुन सक्छ? कारोवारनी बजैले तपाईंलाई सोध्नु भनेका छन्।’

‘त्यहाँ बसेर तिमीहरूको बेलीबिस्तार लगाऊ त।’ जानिफकारले मुढो देखाउँदै भने।

फेरि जेठो अल्छे नै बोल्यो, ‘त्यो धोकेवाजलाई नसम्झिने भनेका थियौं।’

‘को धोकेबाज?’ जानिफकारले जान्न चाह्यो।

 ‘उही बहिनी भनाउँदी। बाउआमाको शेषपछि  हामी अल्छे पाँच दाजुलाई पाल्ने जिम्मेवारी लिएकी अपांग बहिनी थिई। बनी गरेर, मागेर खुवाउँदै थिई।

अचानक पोइल हिंडेपछि हामीलाई एकपल्ट पनि फर्केर हेर्न आइन। पोइ भेटेपछि हामी अल्छे दाजुहरू मरोस् कि बाँचोस् मतलब नै गरिन। कसले हेर्ने हामीलाई, कम सकस पर्‍यो।’

अल्छे माइल  हतारिंदै बोल्यो, ‘हामी अल्छे दाजुभाइलाई भोकले गाँजेपछि छटपटाउन थाल्यौं।’

कान्छालाई याद आएछ आमाले भन्नुभाथ्यो ‘रे’ चराचर  पाल्ने प्राकृतिक शक्ति हुन्। जे चाहे पनि उनैसँग माग्नुपर्छ। पाँच इन्द्रिय सही हुनेले कहिल्यै भोको मर्न पर्दैन।’

‘पाँचै भाइ मिलेर शक्तिसँग भात माग्न थाल्यौं।’ अल्छे साइँलो बोल्यो, ‘हजुर दिन गयो रात गयो। तीन दिन बित्यो भात दिएन प्रकृतिले।’

‘अनि...?’ अझै चाखिए जानिफकार।

अल्छे काइँलाले जानिफकारको अनुहार हेर्दै भन्यो, ‘हजुर भोकले कुँयल भएपछि झनै चर्को स्वरले गावैं थर्काउने गरी माग्न थाल्यौं। स्वर सुक्दै थियो। घरी पालैपालो करायौं। घरी एकैस्वरले माग्यौं। तीन दिनपछि बोराको पोको बजारियो । हारालुछ गर्‍यौं। बोरा खोलेर हेर्दा छक्क पर्‍यौं। त्यहाँ पाँचोटा कोदालो र भोक लाग्या छ भने ‘टारबारीको पूर्व छेउबाट आआफ्नो मेलो समातेर खन्दै जाऊ। अन्तमा  एकुन्टा चाम्रेको बोहोतो भेट्ने छौ’ भन्ने लेखिएको चिर्कटो भेट्यौं। लेखिए अनुसार खन्न थाल्यौं। खन्ने शक्ति नभए पनि चाम्रे भेट्ने आशले गल हाल्यो। हातमा ठेला उठ्यो, फुट्यो, रगत बग्यो। तर, खन्न छोडेनौं। हातको दुखाइभन्दा असह्य त भोको भुँडी थियो।’

फेरि अल्छे जेठाले काइँलाको कुरालाई उछिन्दै कुरा थप्यो, ‘हजुर टारबारी खनेर तुर्ने बेलामा एकएक ठहर चामरे भेटेपछि खुशीले बुरुक्क उफ्रियौं। खायौं, रमायौं। भोलिपल्ट पनि भोक लागेर कराउन थालेका मात्रै थियौं। पाँच वटा डोका र एउटा चिर्कटो बजारियो। चिर्कटामा त्यसरी नै लेखिएको थियो, ‘बर्खे मल बोकेर बारीमा छर्दै जाऊ। तुराउनीमा खीरको ठहर पाउने छौ।’

अल्छे माइलाले मुख मिठ्याउँदै भन्यो, ‘साँच्चै कति इमानदार प्रकृति। मल बोकेर टारबारी भरिसक्नु पनि बारीको पल्लाछेउको पोथ्रामा  खीरको ठहर  देखेर  खुशी भयौं। आमालाई सेवा र प्रकृतिलाई धन्य भन्यौं। भोलिपल्ट पनि भात मात्रै भनेका थियौं। त्यसरी नै एक पाथी मकै र चिर्कटो बजारियो। चिर्कटामा लेखिएको थियो, ‘एक हात चौडा र एक डेढ बित्ता लम्बाइमा मकै रोप्दै जाओ। अन्तिममा मासुभातको टपरो भेट्ने छौं। हामीले चिर्कटामा  लेखिएझैं गर्‍यौं। अन्तमा भने मासुभात भेटेर खुबै रमाएको थियौं।’

‘अनि ...?’ अल्छे दाजुभाइका कुरा सुन्दा अझै चाखिए जानिफकार।

‘त्यसरी नै चिर्कटाको अराउ अनुरूप गाईभैंसी बटिया पालेर मलजल गर्न थाल्यौं। एकदिन त  पैसा आयो। पैसाले फलाम किनेर ल्यायौं। चिर्कटाकै भनाइअनुसार आरानमा लगेर कोदालो, तिस्कलो, हँसिया, कचिया, फाली करुवा आदि बनाउन लगायौं। बलो ताछेर ढिकी, ढुंगा कुँदेर जाँतो बनायौं। ढिकीमा साबी, जाँताको हातो र मानी लगायौं। भोलिपल्ट चिर्कटो मात्र आयो। त्यसमा लेखिएको थियो, ‘मकै पाक्यो। अलौटो मकै ढिकीमा कुटेर भात पकाएर खाओ।’

‘हामीले त्यसै गर्‍यौ’ अल्छे कान्छो फुरुङ्ङ हुँदै बोल्यो, ‘त्यो दिनको भातको स्वाद एकदमै बेग्लै थियो। जीवनको पहिलो सन्तुष्टि पायौं। अझै केही गर्ने इच्छा जगायो। त्यो मकैको भात खाईकन खोई  किन हो हामीलाई बिहे गर्ने रहरले कुतकुत्याइरहेछ। हामीभित्र केही गर्नुपर्छ भन्ने प्रेरणा जागिरहेछ।’

जानिफकारले मुस्कुराउँदै भन्यो, ‘राम्रो हो। घरजम गर। अग्रिम बधाई तिमीहरूलाई।’ 

फेरि अल्छे जेठो बोल्यो, ‘आज यहाँ आइपुग्दा बुझ्यौं, मागेर संसार चल्दैन। बाँच्नका लागि उत्पादन बढाउनुपर्दाे रहेछ। जे पनि किन्ने गरीब र बेच्ने धनी हुँदा रहेछन्। माग्ने भनेको अशक्त या हामीजस्तै तुइनाम्जे, अल्छे र बुद्धि नभाकाका काम रहेछ।

मलाई लाग्छ, आमाले प्रकृतिसँग माग्नु भन्नुभएको, प्रकृतिलाई सुकार्यले रिझाउनु भन्ने बिम्बात्मक भनाइ रहेछ। तर, भात र बुद्धिको चिर्कटो दिएर हामी अल्छेलाई जाँगरिलो बनाउने मास्टर को हुन्? उहाँलाई भेटे र सेवाढोग गर्ने रहर छ। सबैलाई सोध्दै जाँदा कसैले भन्न सकेनन्। बरु कारोवारनी बजैले हजुरकहाँ जानु भन्नुभयो र आका हौं। कृपया हामीलाई जाँगरिलो बनाउने दिव्यचक्षुका दर्शन गराइदिनुस्।’

जानिफकारले एकक्षण गमेर भने, ‘तिमीहरूलाई पाल्ने र जाँगरे बनाउने उही कान्छी बहिनी रिउटी हुन्।’

सुनेर पाँचै भाइ उफ्रेर कराए, ‘हाम्री बहिनी यति बाठी?’

‘हो सम्झ त, सातसात महिना कसले खान दिन्छन्, तिमीहरू अल्छे भुसतिघ्रेलाई। अनि तिमीहरू सप्र या बिग्र के मतलब अरूलाई। अझै सोच, अल्छेलाई जाँगरे शुत्र कथ्न सक्ने बुद्धिमता तिमीर्की बहिनी छोडेर कोसँग हुन सक्छ? आमाले बहिनीको भरमा तिमीहरूलाई सुम्पेर बित्नुभएको थियो। तर, परनिर्भर मान्छेको शत्रु ठानेर तिमीहरूलाई आत्मनिर्भर बनाउन, तिमीहरूलाई समेत पाल्ने बाचाका साथ रुँदै पोइल गएकी थिइन्। स्वयं अपांग हुनाले भरलाग्दो भरको पनि आवश्यकता थियो। उहाँकै तीक्ष्णताको कारण परिवर्तन जीवन भोग्न पायौ।’

जानिफकारको कुरा सुनेर ‘यति बाठी हाम्री बहिनी’ भन्दै पाँचै भाइ बहिनीको घरतिर दगुरे।

बहिनीले पाँचै दाजुलाई ढोगेर रुँदै भनिन्, ‘दाजु, मलाई माफ गर्दिनु होला। आमाको वचन पूरा गर्न सकिनँ।’

‘माफ त हामीलाई गर बहिनी। हामीले बाउआमा र तिमीलाई धेरै दुःख दियौं। बाँच्न सिकायौ। हामी आभारी छौं। सबैको सामु उभिनु सक्ने बनायौ यी अल्छे दाजुहरूलाई। बल्ल हामी पनि तिम्रो माइती भन्नलायक भयौं। बिस्तारै हाम्रो अल्छे उपनाम मेटिंदै छ। यो श्रेय तिम्रो हो बुनु।’

अपाङ्ग बहिनी मुख छोपेर बाउआमालाई सम्झेर रोइरही।

पाँचै दाइका नयनहरू पनि अश्रुमय बन्दै थिए।

चेलीमाइतीको त्यो प्रेरक र कारुणिक भेटले त्यहाँको समाजलाई  पनि भावविह्वल बनाई रहेको थियो।

प्रकाशित: ५ जेष्ठ २०७९ ०७:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App