२३ असार २०७९ बिहीबार
कला

सहमति

लघुकथा

छायादत्त न्यौपाने

सर! सर!! हाम्रो देशमा नाम चलेका मान्छे छैनन् र? सोवित पर कुनाको बेञ्चबाट उठेर अघिपछिभन्दा भिन्न स्वर निकालेर बोले। उनी अलि फरक जिज्ञासा राख्दै थिए। उनको फरकपनले साथीहरूको अनुहार उनैतिर फर्काएको थियो।

नौ कक्षामा पढ्दै गरेका शिष्यको जिज्ञासाले सनम सरलाई झस्कायो। उनले सम्हालिंदै किन नहुनु धेरै छन्। लेखक, कलाकार, डाक्टर, इञ्जिनियर,समाजसेवी, शिक्षासेवी छन् नि! किन र के भो तिमीलाई!’ प्रतिप्रश्न गरे सरले।

सरको जवाफले सोवितमा अर्को जिज्ञासा–त्यसो भए खै गाउँघरतिर कहिल्यै कोही आउँदैनन् त! कहिलेकाहीं आफ्नो देश घुमेर त्यहाँका बालकलाई  प्रेरणा दिने, गाउँ नै गाउँ भएको देशबारे जानकारी बटुल्ने गर्दैनन् त सर! के उनीहरू ठूला मान्छे भयौं भनेर विदेसिने मात्र हो र! सर, आफ्नो देशको मुहार फेर्ने जिम्मेवारी हुँदैन?

सनम सर अरू छक्क परे। उनी विद्यार्थीको नजिकै गए। उनले हो नि आफ्नै कला, संस्कृति,भाषा र साहित्यबारे जानेर मौलिक सम्पदा विदेशीलाई  चिनाउने काम उनीहरूकै हो तर नाम र दामका पछि लागेर कर्तव्य बिर्सन्छन् तिनीहरू। बरु तिमीले यस्तो महत्त्वपूर्ण कुरा कहाँबाट थाहा पायौ?

अलिक सतर्क हुँदै–सर, अघि घरबाट स्कुल आउँदै गर्दा दुई जना विदेशीसँग भेट भो, उनैले भनेका। नाम चलेका मान्छेले देशको विकास र समृद्धिका लागि काम गर्नुपर्छ रे। विज्ञान प्रविधि,कृषि, सामाजिक पहिचानका कुराको प्रचारप्रसार गरी आफ्नो देशका जनतालाई स्वाभिमानी बनाउने त साहित्यकार,कलाकार,समाजसेवी र नेताहरूले हो रे तर यिनीहरू कोही आउँदैनन् गाउँतिर।

कस्तो राम्रो कुरा गर्‍यौ सोवित! आफ्नो देशका प्रत्येक गाउँठाउँमा नगई त्यहाँको शिक्षा, स्वास्थ्य, कृषि उत्पादन, बाटो र बजार व्यवस्थाबारे कसरी  जानकारी पाउँछन् होला तिनीहरूले? हरेक कुरामा अनुमान मात्र! आफूले जे जानेको छ, त्यही ठिक भनेर त हुँदैन। बुझेर सही काम गर्नुपर्ने हुन्छ। सबैले सुनेका छौ हैन त। सरले विद्यार्थीलाई  ध्यान दिन लगाए।

सोवित तिमीले उठाएको सन्दर्भ राम्रो छ। तिम्रो कुरा ठिक हो तर यहाँ आफै गरौ भन्ने भन्दा पनि सहयोग मागौं भन्ने सोचाइले हामीलाई कमजोर बनाएको छ। हामी यस्तो सोचाइ त्यागेर परिश्रमी बनौं।

सरको कुरा सुनेपछि–हो, ठ्याक्कै सरले भनेजस्तै ती विदेशीले पनि नेपालीहरू देश बनाउने सोच्दैनन्। आफू बन्ने स्वार्थी कुरा सोच्छन्। मेरो कामले देशलाई के फाइदा पुग्छ, केही विचार गर्दैनन्। तिम्रो सहयोग ल्याउँदा मलाई के फाइदा हुन्छ भनेर हामीसँग प्रश्न गर्छन् र आफूले फाइदा लिने काम गर्छन्।

देशलाई मात्र फाइदा हुने काम पटक्कै गर्दैनन्। हामी त यहाँका मान्छेसगँ काम गर्न नसकेर आफ्नै देश फर्केका। त्यहाँ गएर हाम्रो सरकारलाई यही प्रतिवेदन बुझाउँछौ भन्दै थि। हेर्नू त सर सिंगो देशको बेइज्जती भाको! केही स्वार्थी मान्छेले गर्दा!

हो, सोवित तिमीले एकजना सचेत विद्यार्थीले सोच्नुपर्ने कुरा गर्‍यौ। म पनि अनुकूल मिलाएर तिमीहरूसँग कुरा गर्न सोचिरहेको थिएँ। आज तिमीले कुरा उठायौ, खुसी लाग्यो।

यो हामी सबैले ध्यान दिनुपर्ने कुरा! हाम्रा नेता र कर्मचारीहरूको यो बुढो पुस्ता आफ्नै स्वार्थमा खुम्चियो। यो बेठिक भयो भन्ने तिमी जस्तै हामी धेरैले मनन गरौं। सोवितको यतातिर ध्यान गयो राम्रो भयो, मलाई  खुसी लाग्यो।

अब यो सचेतता र इमान पछ्याएर देश बनाउने जिम्मेवारी  हामी युवाले पूरा गर्ने हो। भनाइ पनि छ नि युवाहरूको काँधले देश बोकेको हुन्छ। यो महत्त्वपूर्ण जिम्मेवारी लिन तिमीहरू तयार छौ, हैन त! सरले विद्यार्थीलाई जिम्मेवार बन्न भन्नुभयो। विद्यार्थीले एकसाथ तयार छौं  सर भनेर सहमति जनाए। उता टिनिनि घण्टी बज्यो...।

प्रकाशित: ४ जेष्ठ २०७९ १३:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App