४ जेष्ठ २०८३ सोमबार
image/svg+xml
कला

नेपाल प्रधानमन्त्री हुनु कस्तो हो ?

सिनेमा र राजनीतिका प्रकृति र विशेषताका हिसाबले अलग विषय हुन्। तर मुलुकमा हुने राजनीतिक उतारचढावबाट कलाको यो विधा अछुतो रहन सक्दैन। नयाँ प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरिएका माधव नेपालका बारेमा नेपाली सिनेकर्मीको टिप्पणीः

युना उप्रेती
माधव नेपाल प्रधानमन्त्री बन्ने चर्चासँगै चुनाव हारेको व्यक्तिले कसरी यो पद सम्हाल्न पाउँछन् भन्ने आलोचना पनि उब्जिएको छ। तर यो उनको रहरभन्दा वाध्यताले उठाउनु परेको दायित्व हो जस्तो लाग्छ मलाई। बहुमत प्राप्त पार्टीका नेताले आफ्नो कर्तव्यलाई लक्ष्यमा पुर् याउन सकेनन्। हामीले ठूलो आशा गरेर जिताएको व्यक्तिबाट पनि त त्यो आशा पुरा भएन नि। प्रचण्डले बीचमै राजीनामा दिएपछि माधव नेपालले यो अभिभार उठाउनु परेको हो। त्यसैले आलोचना भन्दा समर्थन गुर्नपर्छ। र जतिसक्दो छिटो नेपालमा संविधान बनाउनु पर्छ।

सरकार चलाउनु भनेको आफैंमा चुनौतीपूर्ण काम हो। चुनौतीको समना गरेर लक्ष्यमा पुर् याउने नेता नै सफल मानिन्छ। माओवादीले चुनाव जिते पनि जनताको मन जित्न सकेन। त्यसैलॆ माधव नेपाल आएका हुन्। चुनाव जित्नु मात्र योग्यता होइन भन्ने त अघिल्लो नेतृत्वले पुष्टी गरेको छ। मलाई लाग्छ मधव नेपालको काँधमा सहि जिम्मेवारी परेको छ।

नारायण पुरी
मधव नेपाल आमनिर्वाचनमा असफल भएका व्यक्ति हुन्। त्यसैले अरुको निगाहमा पाएको पदलाई स्वीकार नगरेकै भए हुन्थ्यो। तैपनि स्पष्ट बहुमतले प्रधानमन्त्री हुने मौका पएका छन्। त्यसैले उनको लागि यो मौका र चुनौती दुवै हो। प्रधानमन्त्री भएपछि यसो गर्छु भन्ने सपना भएरै पटक पटक उनले रहर गरेका होलान्। तर स्थिति फरक छ। यो अपजस आउने समय हो। प्रतिपक्षी कडा भएकाले कांग्रेसले समेत सरकारको नेतृत्व गर्ने आँट गरेन।

अहिलेको मुख्य चुनौती संविधान निर्माण हो। मुलुकमा अन्य समस्या पनि उत्तिकै छन्। तर राजनीतिक सहमती हुने अवस्था छैन। मन्त्रीको भागबन्डामै उनलाई समस्या पर्नसक्छ। देशमा बोली फेरिरहने नेता धेरै छन्। द्वैध चरीत्र भएका नेताका कारण अहिलेको सहमति पनि दिगो नहुनसक्छ।

राजनीतिक पूर्वाग्रहको यो अवस्थामा सरकार चलाउनु सजिलो छैन। सरकारमा बसेका बेला त न्यायपालिकालाई समेत चुनौती दिने माओवादीले प्रतिपक्षमा बस्दा कस्तो शैली देखाउलान् सबैले बुझेको कुरा हो। यति हुँदाहुँदै पनि माधव नेपालले किन प्रधानमन्त्री हुने रहर गरेका छन्। अब यी तमाम समस्याको समाधान गर्दै सरकार चलाउन सके त माधव नेपालको उचाई बढ्ला तर सकेनन् भने राजनीतिबाट उनको नामै मेटिन पनि सक्छ। त्यसबेला उनीसँग सन्यास लिनुको विकल्प हुने छैन।

अर्जुन कार्की
दुई ठाउँवाट चुनाव हारेको मान्छेले प्रधानमन्त्री हुने मोह देखाउनु आफैंमा असोभनिय हो। तर अरु दलको सहमति पाएकाले ठिकै मान्न सकिन्छ । नेपाली राजनीतिका पुरानो खेलाडी हुन् माधव नेपाल। १५ वर्ष एमालेको महासचिज भएकाले उनको योग्यतामा प्रश्न गर्न मिल्दैन। सायद केही भिजन भएरै उनी यो दौडमा लागेका होलान्।
तर मुलुकको समस्या जटिल छ । मुख्य समस्या शान्ति सुरक्षाको हो। यिनको कार्यकालमा जनताले त्यो समस्या झेल्न नपरे मात्रै पनि आधा कुरा ठिक हुन्छ। रह्यो संविधान निर्माण यो काम समयमा पुरा गर्न उनले डटेर आफ्नो योग्यता देखाउनु पर्छ। अझ आफ्नो नेतृत्वमा सबै दलको सहमति जुटाउन सक्यो भने आगामि बाटो सहज बन्न सक्छ।

बद्री पंगेनी
म माधव नेपाललाई नजिकाट चिन्छु। उनी प्रधानमन्त्री बन्न योग्य छन् र छवि पनि राम्रो छ। तर परिस्थिति सहज छैन। माओवादीको समर्थन भएन भने स्थिति जटिल बन्छ। उनीहरुको चित्त नबुझे हिजोकै अन्योल दोहोरिनेछ। त्यसैले म उनलाई समय छँदै सबैको समहमति जुटाउन आग्रह गर्छु।

धेरैपटक प्रधानमन्त्री हुनै खोजेर बाहिरिएका मान्छेको नेतृत्व एकपटक हेर्ने मन छ। फुटेको एमालेलाई उनले जोडे। त्यसैले उनको क्षमतामा शंका गरिहाल्न मिल्दैन। चुनाव हार्नु अर्कै कुरा हो। उनको आवश्यकता देखेरै संवैधानिक समितिमा उनलाई अध्यक्ष बनाईयो। खाँचो पर्दा गुहार्ने अरु बेलामा हारेको प्रसंग जोड्नु गलत हो।

देशमा धेरै समस्या छन्। म कामना गर्छु उनको कार्यकालले सबै समस्याको समाधान गर्न सकोस्। जनताले उनको नेतृत्वबाट छुट्टै अनुभुति गर्न पाउँन्।
प्रस्तुतिः सन्तोष रिमाल

प्रकाशित: ५ जेष्ठ २०६६ ०१:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App