१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

परिवर्तनको नारा

लघुकथा

विष्णु भण्डारी आचार्य

उमाकान्तको निजी निवासमा पुगेर मेघराजले पालेसँग अनुमति मागे।

–उहाँ त भित्र आगन्तुकसँग भेटघाटमा हुनुहुन्छ। केहीछिन पर्खिनुपर्छ।

पालो आयो बल्ल। बैठक कोठामा पुगेपछि नजिकैको सोफामा बस्न संकेत गर्दै उमानाथले मेघराजको हालखबर र आउनाको कारण सोधे।

मेघ–सबै ठिकै छ तर...। ५ नम्बर क्षेत्रमा उमानाथलाई भोट जिताउन निकै ठूलो हात थियो मेघराजको, त्यही भएकाले पूरापूर आडभरोसा थियो उनमाथि।

मेघले अस्तिको कुरा दोहोर्‍याए, ‘मेरो भान्जालाई के कसरी हुन्छ, छुटयाउने पहल त गर्नुपर्‍यो। जेलमै सडाउनु त भएन दुई महिना भइसक्यो थुनिएको पनि!’

इन्कारको बोली निकाले उमानाथले, ‘कसरी हुन्छ होला र त्यस्तो जटिल केश!’

मेघ–तरीका पुर्‍याएर गरे यीभन्दा जटिल केश त छिपाउन सकिन्छ।

उमाको अनुहारमा एकाएक आक्रोशको तुवाँलो पोतियो।

‘दुई महिना भैसको थुनिएको पनि।’ ढिप्पीको रफ्तार बढाई नै रहे मेघले।

उनको ढिप्पीदेखि जंग चल्न थालिसकेको प्रष्ट्याउँथ्यो उमानाथको अनुहारको भावले।

‘हेर्नुस् मेघराजजी,अरू कुरा जे भन्नुहुन्छ, म नाइँ भन्नेवाला छुइनँ तर यस्तो कुरा लिएर चाहिं मकहाँ नआएकै राम्रो। अपराध गरेपछि त सजाय भोग्नैपर्छ।

अपराध पनि सानोतिनो भए पो, बलात्कार र ज्यानमाराको अपराध।

‘हिजो परिवर्तनको नारा चर्काउने हामी नै हैनौं? यस्तो कुरै नगर्नुस्।’ उमाले आफ्नो अडान छोडेनन्।

लाख बिन्ती गर्दा पनि केही नचलेको देखी आशाको बाँध टुटेर एकाएक रिसमा परिणत भई उर्लिनथाल्यो। कडा आवाजमा, ‘ठिकै छ त एक माघले जाडो गयो सम्झिनुभयो हैन!’

उमानाथ कडकिए, ‘तपाई यहाँबाट जान सक्नुहुन्छ!’

मेघले पख्लास्को हाउभाउमा चोर औंला ठड्याउँदै भने, ‘पख्लास् उमे, अर्कोचोटि कुन मुख लिएर आउँदो रछस् भोट माग्न!’

(फेसबुक आइडी लघुकथा संग्रहबाट)

प्रकाशित: १ जेष्ठ २०७९ ०६:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App