९ जेष्ठ २०७९ सोमबार
कला

बल्छी

कथा

दीपक समीप

यो उमेरमा नि के जिस्किरा’को छोराछोरी भइसकेको मान्छेले नि!

अगाडि बढ्न खोजेपछि उनले मलाई केही न केही कुराले सचेत बनाएर जहिल्यै रोक्ने कोसिस गर्थिन्।

के छोराछोरी भएको मान्छेले प्रेम गर्नु हुँदैन र?

– हुन्छ तर आफ्नै घरपरिवारलाई गर्नुपर्छ नि।

तिमी आएपछि तिमी पनि त मेरै घरपरिवार हुन्छौ नि।

– त्यस्तो सपना नदेखे हुन्छ कहिल्यै।

आजभोलि म अक्सर यस्तै सपना देखिरहेको हुन्छु।  

– सपना देखिञ्जेल मात्र रमाइलो हो, बिउँझिएपछि त आफ्नो धरातल थाहा भइहाल्छ नि।

प्रियंका बोलीले छुच्ची भए पनि कम्ता राम्री छैन मोरी! उसलाई देखेपछि आँखै नझिम्क्याईकन हेरिरहूँझैं लाग्छ।  उसलाई अघि राख्ने हो भने दुईचार दिन केही नखाई, कति पनि हलचल नगरी उनलाई हेरेरै एकै ठाउँमा बसिरहन सकिन्छ झैं लाग्छ मलाई। यस्तै सुन्दरीहरूलाई देखेर होला लोग्ने मान्छेका बुद्धि भ्रष्ट हुने। नदीमा बाढी आएको थाहा पाउँदापाउँदै पनि भेलमा हेलिन मन लाग्ने। यसरी नै उर्लंदो भेलमा हेलिएँ भने थाहा छैन म उत्रिन सक्छु कि सक्दिनँ। यस्तैयस्तै तर्कनाहरूले मेरो आजभोलिको दिनरात सुलुलु निलिरहेको छ। एकमनले त भन्छ, ‘तेरो आफ्नै सुन्दर संसार छ। लय मिलेको जिन्दगी छ। थुम्कामा बसेको मन्दिरजस्तो घरपरिवार छ। जिन्दगीको लय नबिगार केटा!

तर प्रियंकालाई देखेपछि यो मन के हुन्छ के हुन्छ,  सबथोक बिर्सन्छु। जतिखेर पनि पूर्णिमाको जून जस्तो उनको मुहार झलझल्ती आँखामा आइरहन्छ। लाग्छ, प्रकृतिले पुरुषलाई एकजोर आँखा र तुरुन्तै पग्लिहाल्ने मन दिएर कमजोर बनाइदिए। यी आँखा र मन नभएको भए यो दुनियाँमा धेरै मान्छे दुखित हुनु पर्दैनथ्यो होला। अझ त्यसमा पनि लोग्नेमान्छेका हृदय! कहिलेकाहीं त लाग्छ, लोग्नेमान्छे भनेका पानीका माछा जस्ता हुन्। दायाँबायाँ केही नसोची तुरुन्तै बल्छीको चाराप्रति आकर्षित हुन्छ्न् र बल्छीमा पर्छन् अनि त्यसपछि छटपटाइरहन्छ्न्। यो छटपटी, तड्पाई र रमिता देखेर दुनियाँ ताली पिट्दै रमाउँछन्।

यस्तैयस्तै पछि आउने परिणाम निकै भयावह हुन सक्ने भयले मनको तुलो कहिले यता,  कहिले उता ढल्किंदाढल्किंदै पनि यो मनलाई बडो सन्तुलनमा राख्दै आएको हुँ। तर, अहिले के भइदियो के भइदियो! जति कोसिस गर्दा पनि मनलाई रोक्न सक्ने अवस्थामै भइनँ म। गोठालाले देखाएको एक मुठी घाँसको पछि लुरुलुरु हिंडिरहेको वस्तुभाउझैं भएको छु म आजभोलि।  गौंडो,  गल्छेंडो र भिर नभनीकन यो मन एकतमासले उनको पछि दौडिरहेको छ। यो दौडाइले रात पनि भनेको छैन। दिन पनि भनेको छैन। काम एकातिर गरिरहेको हुन्छु, तर मन अर्कातिर कुदिरहेको हुन्छ। खाँदा र बस्दा पनि यो मन सिमलको भुवाझैं उनकै कल्पनामा उडिरहेको हुन्छ। मनभित्र अनेक तर्कनाले झुत्ती खेलिरहेका हुन्छ्न्। घरी एक्लै फिस्सफिस्स हाँसिरहेको हुन्छु, घरी आफैंलाई झोक्राइरहेको पाउँछु।

हुन त मेरो मनमा यस्तो सोचाइ आएको धेरै समय पनि भएको छैन। एउटा कार्यक्रममा भेट हुँदा भएको परिचयपछि हामी फेसबुक फ्रेन्ड बन्यौं। मेसेन्जरमा कहिलेकाहीं हाइहेलो गर्दागर्दै हामी कतिखेर नजिक भइसकेछौं, पत्तै भएन।  एक अर्काको स्टाटसमा लाइक, कमेन्ट ठोक्नु र राति अबेरसम्म च्याटिङ गर्नु हाम्रो दिनचर्या हुन थालेपछि हामी मेसेन्जरबाट बाहिर निस्के भेटघाटका शृङ्खलाहरूमा आइपुगेका हौं।  पहिलेपहिले औपचारिक कुराकानी हुने भेटघाटमा अहिले आत्मीय र हार्दिकता मिसिएको छ। आजभोलि हामी बिच बेलामौका ख्यालठट्टा र हाँसीमजाक चलिरहन्छ। म पनि बेलामौका ख्यालठट्टाका इन्द्रेणीधनुष समातेर उनीतिर तीर हान्छु। तर, तीर ठाउँमै लाग्दैन। सुरुका तिनै हाम्रा वार्तालापहरू मेरा असफल निशानाहरू हुन्।

आजभोलि ममा प्रियंकाप्रतिको आशक्ति झनै बढेर गएको महसुस गरिरहेको छु। उनको सम्झनाले मात्र पनि मन त्यसैत्यसै बेचैन भइरहेको हुन्छ। दुई दिन मात्रै उनीसँग भेटघाट या कुराकानी भएन भने यतिकै बसिरहँदा पनि ‘हर्टएटेक’ हुँदै गर्दा आइरहने चिडचिडाहट र जिउभरि खलखली पसीना आउने जस्ता लक्षणहरू भइरहेको हुन्छ। हरदम यो मन उनकै सम्झनामा बितिरहेको छ। जतिखेर पनि भेटूँभेटूँ र बोलूँबोलूँ लागिरहन्छ। यो हृदय उनकै सुर्ताले निकै कमजोर बनाइसकेको छ। भिडभाडमा पनि म आफ्नै स्वप्निल संसारमा एक्लै हराइरहेको हुन्छु। नदेखेर पनि जताततै उनैलाई देखिरहेको हुन्छु। त्यतिखेर आफूलाई छाम्छु, छाम्दा शरीर यतै पाउँछु तर मन भने कतै उडिरहेको हुन्छ। म प्रियंकाको सौन्दर्यमा यति मोहित भइसकेको छु, कसैले मेरा दुवै आँखा फुटाए पनि म जिन्दगीभर झलझली उनको यही मोहनी रूप देखिरहेको हुनेछु। म उनीसँगको एकोहोरो प्रेममा यसरी बाँधिइसकेको छु कि, उनको अभावमा म बहुलाउने निश्चित छ। आगोले भष्म गराउँछ भन्ने थाहा हुँदाहुँदै पनि म साँझपख बलिरहेको दियोमा आकर्षित भएको पुतली जस्तै आगोसँग खेलिरहेको छु।

साँच्चै! उज्यालोप्रति सबैको आकर्षण हुँदोरहेछ। त्यही उज्यालोको खातिर कतिले आफ्नो बलिदान दिएका छन्। एकमन त लाग्छ, प्रियंकाको नाममा म पनि शहीद हुन चाहन्छु।

आजभोलि के भएको हो कुन्नि! बेलाबेला मेरो मनको घोडा बेलगाम बुर्कुसी मारेर दौडिरहन्छ। जति प्रयास गरे पनि उक्त घोडालाई कसैगरी काबुमा ल्याउने मसँग सामर्थ्य हुँदैन। त्यतिखेर म आफ्नो मनलाई फुक्काफाल छोडिदिन्छु। हजारौं माइलको यात्रा तय गरिसकेपछि कसोकसो मेरो मनको घोडा आफ्नै तबेलामा फर्किन्छ पनि। यही बेला मौसम फेरिन्छ। मौसमको फेरबदलमा वसन्त र शरद ऋतुले त्यसैत्यसै मन पुकलित बनाइदिन्छ। त्यहीबेला चराहरूले गुँड लगाउँछन्। यता पनि समयको अजंगको ढुंगामा हाम्रो मित्रताले घन र छिनो निरन्तर हानिरहेकाले मूर्तिको अस्पष्ट आकार देखिंदै गइरहेको छ।

आजभोलि हामी एक अर्काको अफिस छुटेपछि प्रायः डेढदुई घन्टासँगै बिताउँछौं। रेस्टुरेन्टको टपमा बसेर कफीको चुस्कीसँगै साँझपखको फेवाताल हेर्दै उनीसँग गफिन मलाई औधी मनपर्छ। अरू दिन भेट हुँदा मौसमअनुसार चिसो या तातो जे खाए पनि शुक्रबारको साँझ भने वाइन अथवा बियर पिउने हाम्रो रुटिन छ। ड्रिङ्कस गरेको बेला मचाहिं चुरोट पनि लिने गर्छु। लाइटरचाहिं उनले सल्काइदिन्छिन् र भन्छिन्,‘योभन्दा धेरै नखानु है।’

मचाहिं ज्ञानी भएर मुन्टो हल्लाउँछु  र बसाइको अन्त्यतिर थप एकदुई खिल्ली आफैं सल्काइहाल्छु। यसो गर्दा उनले खुब आँखा तरेर हेर्छिन्। उनको सुन्दर मुहारबाट थोरै रिस थोरै माया मिसिएको आँखा तराई मलाई खुब मनपर्छ।

लेकसाइडको बसाइमा रेस्टुरेन्टबाट निस्केर फेवाताल किनारको फुट ट्रयाकमा हिंड्नु हाम्रो दिनचर्यामै पर्छ। अहिले पनि हामी त्यसरी नै हिंडिरहेका छौं जसरी पहिलेपहिले हिंड्ने  गर्थ्यो। कहिलेकाहीं हिँड्दा समात्ने हातहरू फरक भइदिन्छन्। समातिएका हात अनुसार रोमाञ्चक पनि फरकफरक हुँदारहेछन्। दशा लाग्यो भने यस्ता हातमा हात समाउने कामहरू आफ्नै घाँटी समाउन पनि आइपुग्छन्। कुनै बेला तेस्रो पक्षबाट भएको नमिठो भोगाइ म अहिले सम्झन चाहन्न। कहिलेकाहीं बिर्सिसकेका पाठहरू  व्यर्थै याद आउँछ। सम्झियो कि कति नमिठो लाग्छ। यस्ता कतिपय कुरा अरूलाई नभनेकै जाती हुन्छ।

प्रियंकासँग फेवाताललाई हेर्दै बराहीघाटदेखि मत्स्यकेन्द्र हुँदै हल्लनचोकको छेउ र त्यहाँदेखि उता क्याम्प फायरको चौर किनारा हुँदै पल्लो छेउसम्म पुग्नु हाम्रो बानी नै भइसक्यो। घरी ताल त घरी तालमाथि तैरिरहेका डुंगा हेर्दाको दृश्य निकै मलाई लोभलाग्दो लाग्छ। फुट ट्रयाकसँगै जोडिन आइपुगेका रेस्टुरेन्ट, झिर र सेकुवा पसलको चहलपहल,  ठेलामा पानी पुरी,  चटपटेको वरिपरि झुम्मिएका बैंसालु किशोरीहरूका बेग्लाबेग्लै झुण्ड, ठाउँठाउँमा व्यवस्था गरिएको सिटिङ कटेज र कटेजमा गफिइरहेका युवायुवतीहरूको दृश्यले पनि एक किसिमको रमाइलोपन दिन्छ।

यी सब दृश्य हेर्दै हिंडिरहेको मलाई हुलमुलमा पछि पर्दा केही अगाडि पुगिसकेकी उनी मलाई हातैमा समातेर तान्न आइपुग्छिन्। यो अवस्था पनि मलाई मजा लाग्छ र कहिलेकाहीं त म जानीजानी ढिलो हिंडिदिन्छु। मायाप्रेममा मजा लिन जान्नुपर्छ तर यस्ता सार्वजनिकस्थलमा यसरी मजा लिँदा कोही चिनेजानेकाले देखेर घरमा आगो लगाइदेलान् कि भन्ने डर पनि उतिकै लाग्छ। जुन कुरा मैले अघि नै गरिसकें मैले। घरको भन्दा समाजको पो झन् बढी डर हुँदो रहेछ। मौका पाए भने समाजले निर्मम तरीकाले प्रहार गर्ने रहेछन्। खुकुरीको धारमाथि हिंडेजस्तै छ यस्तो अतिरिक्त प्रेम पनि  घरिघरि त बडो तनाव र सकसपूर्ण लाग्छ। घरबारेहरूको प्रेम औंसीको रातमा रक्सी खाएर भिरको बाटो हिंडेजस्तो हो। यसो खुट्टा चिप्लियो कि सकियो। हर्दम सजग भएर हिंड्नुपर्छ भन्या।

थाहा छ रक्सी खाएपछि मात लाग्छ। तैपनि रक्सी खाएर टिल्ल मात्नुको आनन्द त्यो मात्नेबाहेक अरूलाई के थाहा हुन्छ र! त्यही भएर खानेलाई पनि सायद पटकपटक रक्सी खाइरहन मन लाग्छ। जसले कसैलाई मन पराएको हुन्छ नि उसले रक्सी खान सिकिरहेको हुन्छ। जो प्रेममा पर्छ नि त्यसले रक्सी खान जानिसकेको हुन्छ। जसले रक्सी खाइरहेको हुन्छ नि उसले गहिरो प्रेम गर्न जानेको हुन्छ। रक्सी र प्रेमको एक आपसमा घनिष्ठ सम्बन्ध छ। यी एक अर्काबिना रहनै सक्दैनन्। रक्सी खाने या प्रेम गर्ने कला भएकासँग जीवनमा रिस्क लिन सक्ने क्षमता पनि त्यति नै धेरै  हुन्छ। तर, मसँग रक्सी खाने र प्रेम गर्ने कला त छैन। रक्सी र प्रेममा निर्वाह गर्नुपर्ने इमानदारीचाहिं छ भन्ने लाग्छ।

आज छुट्टीको दिन प्रियंका र म दिनभर सँगसँगै छौं। आजको दिन लागिरहेको छ दिन पनि कति छिटो ढल्कदै छ। पोखराको पश्चिमतिरको डाँडामाथि डुब्न लागेको घाम,  बादलबाट छिर्दै गरेको प्रकाशका किरण र हिमालसंँगै प्रकाशको किरणको प्रतिबिम्ब फेवातालमा ऐना भएर देखिएको दृश्य वर्णन गर्नै नसकिने मनमोहक हुन्छ। हामी त्यही दृश्यपान गर्दै अगाडि बढिरहेका छौं। बादल चलायमान भइरहन्छ। बादलमा कहिले मान्छेको जस्तो आकृति देखिन्छ त कहिले जनावर, रुखको चित्र जस्तो पनि देखिन्छ। कहिले त हो कि हो कि भनेर हेर्दाहेर्दै बनिरहेको आकृति नै भंग हुन्छ। जे होस्, बादलको चित्रकारिता मलाई बेहद मन पर्छ। म सानो छँदादेखि नै आकाशमा यस्ता दृश्यहरू हेरेर मुग्ध हुन्थें। त्योपन अझै ममा जस्ताको तस्तै छ। यस्ता दृश्यहरूले मलाई चञ्चलता बढाइदिन्छ। चञ्चलताले प्रेममा रोमाञ्चक पैदा गर्दछ। हुन त सच्चा प्रेमले कि सिंहासनमा बसाउँछ कि फासीमा चढाउँछ भनेर भनिन्छ। तर, उनीसँगको प्रेमले मलाई के गर्छ खोई मलाई नै थाहा छैन।

फुट ट्रयाकमा हिंड्दाहिंड्दै अचानक पानी दर्किहाल्यो। पोखराको आकाश अचम्मको छ। यहाँ कतिखेर पानी पर्छ, ठेगान हुँदैन। घाम लाग्दालाग्दै पनि पानी पर्छ। हेम्जाबाट रेनकोट ओढेर महेन्द्र पुल आउँदा महेन्द्र पुलमा घाम लागिरहेको हुन्छ। पृथ्वीचोकबाट रुझ्दै निस्कँदा अमरसिंह चोकमा पानी परेकै हुँदैन। कहिले त चाइना पुलवारि पानी दर्किरहेको हुन्छ भने पुलपारि थोपा झरेको हुँदैन। झरीमा कहिलेकाही रुझ्दै हिंड्नुको पनि आनन्द छुट्टै हुन्छ। तर, आज हामी रुझेनौं। बरु पस्यौं नजिकैको रेस्टुरेन्टमा। वेटर मेनु लिएर आइपुग्यो। रेस्टुरेन्टबाटै भर्खर निस्केर आएको हामी यो रेस्टुरेन्टमा खानपिउन आएको भने होइन। खासमा हामी ओत लाग्न आएका हौं। तर पनि रेस्टुरेन्टमा केही खाईपिई नगरी त्यतिकै बस्न पनि असहज लाग्ने। मेनु नपल्टाईकनै वेटरलाई चिसो वियर ल्याउन भन्यौं। वियरको चुस्की लगाउँदै म फेवातालतिर नजर डुलाउँछु। अघिपछि शान्त देखिने फेवाताल यतिखेर अलि रिसाहा देखिएको छ। सराङकोटतिरबाट आएको हावाले तालमा छाल उत्पन्न गरिरहेको छ र छालले डुंगालाई निरन्तर हानिरहेको छ। डुंगा चलाउनेहरू हतारहतार किनारातिर लाग्ने कोसिस गरिरहेका छन्। यस्तामा रहरले आफै डुंगा चलाएर जानेहरू निकै जोखिममा हुन्छन्। डुंगा दुर्घटना प्रायः यस्तो बेलामा हुन्छ पनि। हावाहुरी आउने मौसम र वर्षाको मौसममा डुंगा सयर गर्दा निकै ध्यान दिनुपर्ने हुन्छ।

अहिले भर्खरै पनि तालको बिच भागतिर फसेको डुंगालाई सशस्त्र बलको टिमले रेस्क्यू गरेर ल्यायो। धन्न, अहिले रेस्क्यू टिम छ र मान्छेको ज्यान बचेको छ। आमुन्नेसामुन्ने बसेका हामी तालतिर हेर्दाहेर्दै हाम्रो आँखा अचानक जुध्छ। म प्रियंकाको नयनमा अडिएर हेर्छु। प्रियंकाको नयन फेवातालभन्दा झन् गहिरो लाग्छ। सोच्छु, उनको नयनमा डुबियो भने मलाई कुन रेस्क्यु टिमले बँचाउन सक्ला! मेरो एकोहोरो हेराइमा उनी मुसुक्क मुस्कुराउँछिन्। सिकारीको गोलीले डालीबाट खसेको चराझैं म फुत्रुक्क हुन्छु। साँच्चै! ढुंगाको प्रहारले नचर्कने छाती एकै नजर पर्दा किन भुतुक्क हुन्छ! के गरी छियाछिया हुन्छ! आगाको भुंग्राले नजलाउने मुटु मायाको रापले कसरी खरानी बनाउँछ! आँधीहुरीले उडाउन नसक्ने मनलाई प्रेमको हावाले कति चापमा भुमरी पार्दै उडाउँछ! आकर्षण, प्रेम र चाहनाको दाम्लाले बाँधिएपछि मान्छे पनि लुरुलुरु प्राप्तिको पछि लाग्दो रहेछ। त्यतिखेर जीवनको बाटो,  गन्तव्य,  सामाजिक मूल्य र मान्यताहरू  सामान्य हुने रहेछन्।

केहीबेरमा दर्किरहेको पानी बस्यो। घडी हेरेको बेलुकीको सवा सात भइसकेको रहेछ। जेठको महिना दिन लामो हुने। अहिलेसम्म उज्यालो नैै छ। पुसमाघमा भएको भए यतिखेर रात परिसकेको हुन्थ्यो। रात लामोभन्दा दिन लामो भएको मनपर्छ मलाई। कारण उज्यालो औधी मनपर्छ मलाई र उनी पनि उजेली छिन्। युगौंदेखि मानिसहरू उज्यालोको खातिर लडिरहेका छन्। म पनि एउटा उज्यालो प्राप्तिको पछि दौडिरहेको छु। वर्ग संघर्षका कथा दुवैतिर उस्तै छन्। हामी उठ्यौं त्यहाँबाट र मत्स्यकेन्द्र हुँदै हल्लन चोक निस्कियौं। लेकसाइडको बजार जताततै झिलिमिली छ। रंगीन बिजुली बत्तीको रौनक पनि अर्कै हुने। मनमा रमाइलो भयो भने परिवेश पनि रौनकलाग्दो हुने रहेछ। यतिखेर मन एकतमासको चन्चल भइरहेको छ। सडक किनारामा जोडीहरू कोही अँगालो मार्दै, कोही एक अर्काको हात समाउदै हिँडिरहेका छन्। हामी भने अगाडि जेजे दृश्य आउँछन् हेर्दै हिडिरहेका छौं। हिंड्दैहिंड्दै हामी पार्किङमा आइपुग्यौं। एकछिन त्यही उभिएरै कुरा ग¥यौ। उभिएर के कुरा गरिरहने भनेर त्यहीं नजिककैको क्याफेमा कफी खाएर हामी आआफ्नो सवारी साधन लिएर घरतिर लाग्यौं।

बाइकमा चढेको पन्ध्रबीस मिनेटमै घर पुगियो। बच्चाहरू सहित श्रीमती खाना कुरेर बसेकी रहिछन्। हातमुख धोएर भनें –केटाकेटीलाई खुवाएर तिमी पनि खाएर बसेकी भए पनि हुन्थ्यो नि। बाहिर निस्केको मान्छे कतिबेला आइपुगिन्छ ठेगान हुँदैन। किन कुरिराख्नपर्छ र! आएपछि तताएर दिंदा भइहाल्छ त।

उनले भनिन्–बच्चाहरूले नि बाबा आएपछि सँगै खाने भने। मलाई पनि सबै जना सँगै बसेर खान मनपर्छ। यो सुनेर मेरो मन भित्रैदेखि कटक्क खायो। आँखा रसिलो भयो। प्रत्युत्तरमा केही बोल्न सकिन। केही नबोली खाना खाएँ। भित्री हृदयमा ज्वारभाटाहरू चलिरहे जस्तो भयो। हात चुठेर सोफामा बस्न पाएको थिइन मोबाइलमा टिरिङ्ग मेसेज आएको घण्टी बज्यो। हेरेको उनैको मेसेज रहेछ।

– खाना खानुभो?

भर्खरै खाएर बसेको। तिमीले खायौ?

–नाइँ मलाई त खानै मन लागेन। त्यही खाएको इनाफ भयो। सुन्नु न! ममीले घरमा ढिलो आएको भनेर कराउनुभयो।  

अनि के भन्यौ त तिमीले?

–के भन्नू र साथीसँग बसेको ढिला भयो भनें।  

त्यसपछि ममीले के भन्नुभयो त नि?

– कस्तो साथी हो भन्नुभो! मैले ह्या! ममी पनि ... !  भनें।

एए लल! टेक केयर! एकछिनपछि कुरा गरांैला है भनेर म श्रीमतीलाई सघाउन किचेनमा गएँ।

उनले पर्दैनपर्दैन भनिन्। पर्दैन भन्दाभन्दै पनि उनले माझ्दै सिङ्कमा राखेका भाँडाकुँडा मैले धोईपखाली गरिदिएँ। उनले ग्याँस चुलो वरिपरि सिनित्त पारेर सफा गरिन्। ट्युबलाइटको प्रकाशमा भित्ताको टायल र भुईंको ग्रेनाइट झन् टलक्क टल्कियो। साँच्चै घर सफा र सुन्दर हुन महिलाको ठूलो हात र लगाव हुन्छ। त्यसको लागि महिला खुसी हुनुपर्छ। घरमा अभाव नै किन नहोस्, लोग्नेको अनुहार खुसी भए घरकी महिला त्यसै खुसी हुन्छे। महिलाहरूलाई फुरुक्क हुन र आँसु झार्न बेरै लाग्दैन। उनीहरूमा यो गुण जन्मजात हुन्छ भन्ने लाग्छ मलाई। जुन गुन मैले वर्षौदेखि मेरी आमा र श्रीमतीमा पाइरहेको छु।

किचेनको काम सकिएपछि श्रीमती दिउरीमा तेल तताएर आमाको कोठामा पसिन्। म टिभि खोलेर एकछिन समाचारतिर आँखा लगाउँन थालें। समाचारमा मात्र मन अडिंदैन। खै किन हो कुन्नि! आजभोलि मेरो मन समाचारमा मात्र होइन,  केहीमा पनि अडिंदैन। रिमोटले लगातार च्यानल चेञ्ज गर्दै अन्त्यमा आएर मोबाइल चलाउँछु। फेसबुक खोल्छु, मेसेन्जर हेर्छु लगत्तै टिकटकतिर पनि डुल्न पुग्छु। उहिलेउहिले ब्लाक एण्ड ह्वाइट टिभिमा विज्ञापन समेत हेरेर बस्ने धैर्य राख्ने मन आजभोलि स्मार्ट टिभिमा पनि स्थिर रहँदैन।

सबै कुरा मोबाइलले क्याप्चर गरिदियो। जे छ यही मोबाइलमै छ। यही मोबाइलले नै कसैसँग नजिक, कसैबाट टाढा पनि बनाइरहेको छ। मोबाइलको कारणले आजभोलि धेरैको घरमा संवाद कम गराएको छ। घरबाहिर संवाद बढाएको छ। संवादसँगै समस्या पनि बढाएको छ। संवादले कतिपयको घर बसाएको पनि छ। कतिपयको घर बढारेको पनि छ तर प्रेम, आकर्षण र आशक्ति यस्तो चुम्बक हो जसको चुम्बकीय गुणले सुन जस्तो मान्छे पनि फलाम,  कोबाल्ट वा निकेल जस्तो बनाइदिन्छ। पिरतीको डुङ्गामा सयर गरिरहँदा समुन्द्रमा आँधीतुफान आए पनि कुनै पर्वाह नहुँदो रहेछ। छालसँग खेल्नुको आनन्द, लहरसँग लहरिनुको रोमाञ्चक,  पानीको गहिराइसँगको लुकामारी अवर्णनीय लाग्छ मलाई।

चुनौतीहरू झेल्नु, दुखका सारङ्गीहरू रेट्दै उज्यालाका रागहरू अलाप्नु,  यात्रामा आइपर्ने संघर्षका लिंगे पिङहरूमा मच्चिनु जीवनका स्वर्णिम अवसरहरू हुन्। अहिले त्यो अवसर प्रियङ्काको रूपमा मेरो अगाडि आइपुगेको छ। यो अवसरले मलाई सौभाग्य निम्त्याउँछ कि दुर्भाग्य अहिले यसको हिसाबकिताब गर्न सक्ने सामथ्र्य ममा छैन। यतिखेर मेरो सबै इन्द्रियहरूले समान रूपमा काम गर्न सकेका छैनन्। अहिले मेरो एउटा आँखा, एउटा कान र आधा दिमागले मात्र काम गरिरहेको अवस्था छ। यतिखेर म भित्रभित्रै भकभकी उम्लिरहेको छु। मभित्रको लार्भा बाहिर आउन तम्तयार छन्। यो लार्भाले ककसलाई खरानी बनाउने छ मलाई नै थाहा छैन। यो समस्या दिन प्रतिदिन झन्–झन् जटिल हुँदै गइरहेको छ।

समस्या यो छ कि, म तपाईलाई मात्र सुटुक्क भन्छु–उनी मलाई खुब माया गर्छिन्।

म पनि उनलाई निकै माया गर्छु र त्यति नै जिम्वेवार छु आफ्नो परिवारप्रति।

म बसिसकेको आफ्नो घर भत्काउन चाहन्न।

उनी बसिरहेको आफ्नो पाठेघर भत्काउन चाहँदिनन्।

प्रकाशित: २९ वैशाख २०७९ १४:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App