८ वैशाख २०८१ शनिबार
कला

खरेलको स्मृतिपटलमा तपस्वीहरू सार्वजनिक

पूर्व प्रहरी महानिरीक्षक तथा लेखक अच्युतकृष्ण खरेलले आफ्नो जीवनकालमा संगत गरेका तीन तपस्वीबारे लेखिएको संस्मरणात्मक संग्रह ‘स्मृतिपटलमा तपस्वीहरू’ लोकार्पण गरिएको छ।

स्वामी श्रीसच्चिदानन्द सरस्वती (खप्तड बाबा), श्याम चेतन बाबा र चुनचुन बाबासँगका विभिन्न कालखण्डका स्मृतिहरूलाई समेटेर लेखिएको यस पुस्तकको लोकार्पण प्रा. शिवगोपाल रिसालले गरेका थिए।

कार्यक्रममा रिसालले अच्युतकृष्ण खरेलले कुनै कालखण्डका महान् आध्यात्मिक गुरुहरूबारे पुस्तक तयार गरेर समाजलाई गुन लगाएको बताए। उनले भने, ‘स्मृतिपटलमा तपस्वीहरू’ पुस्तक लेखेर बाबाका भक्तहरूलाई मात्र होइन यो समाजलाई नै गुन लगाउनुभएको छ।’

धर्म, कर्म र योग, भक्ति, त्याग र वैराग्य, चारित्रिक उत्कर्ष, उपचार र व्यवहारका जस्ता विषयमा यो ग्रन्थले अनन्त कालसम्म प्रभाव पार्दछ’ रिसालले भने। लेखक खरेलले त्यागमा जति आनन्द हुन्छ, प्राप्तिमा त्यो आनन्द कहिल्यै नहुने बताए। धेरै कुरा मेरै अनुभव हुन्। मेरा अनुभवले मभित्रको आध्यात्मिक शक्ति अझ मजबुत बनाउँदै छ। मेरो सिकाइका धेरै पक्ष तपस्वीहरू र अध्यात्मसँग जोडिएका छन्।

उनले भने, ‘यस पुस्तकमा उल्लेख गरिएका प्रसंगहरू मैले अनुभूत गरेका घटना र विषयहरू हुन्। लोकार्पण कार्यक्रममा बोल्दै गीतकार यादव खरेलले ‘यी महान् तपस्वीहरूबारे पुस्तक लेखिनु समाजकै लागि गौरवको विषय भएको बताए। उनले भने,‘अध्यात्म भनेको राजनीति जस्तो होइन। यसले समाज रूपान्तरणको बाटो देखाउँछ।’

पुस्तकबारे समालोचक गीता त्रिपाठीले प्रकाश पारेकी थिइन्। १ सय २० पृष्ठको यस पुस्तकमा लेखक खरेलले तपस्वीहरूको सानिध्यमा बिताएका क्षण, बाबाहरूले बिताएको कालखण्ड र आध्यात्मिक चेतनाको बहुआयामिक पक्ष समेट्का छन्।

शब्दार्थ प्रकाशनले छापेको यस पुस्तकको मूल्य २९९ रुपैयाँ छ। पुस्तक बेचेर आएको सम्पूर्ण रकम लोककल्याणकारी कार्यमा उपयोग गरिने लेखक खरेलको लक्ष्य छ।

प्रकाशित: २६ वैशाख २०७९ ०८:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App