२६ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

डोट्याली सभ्यताको सुगन्ध फैलाउने ‘छाइल’ उपन्यासको विमर्श

सुदूरपश्चिमका चर्चित कवि लोकराज भट्टको पहिलो उपन्यास ‘छाइल’ले डोट्याली सभ्यतालाई नेपाली साहित्यको मूल धारमा प्रवेश गराएको टिप्पणी गरिएको छ। शनिबार प्रकाशक बुक्स हिमालयले गरेको अन्तरक्रिया कार्यक्रमका वत्ताहरूले नेपाली साहित्यलाई समृद्ध बनाउन यसले योगदान पुर्‍याउने विश्वास दिलाएका हुन्।

आञ्चलिक स्वादमा पस्किएको छाइलको कथा र प्रस्तुतिले पाठकलाई बाँधिराख्छ। पढ्न थालेपछि पूरै नपढी पुस्तक छोड्न मन लाग्दैन।

‘कुनै पनि पुस्तकको प्रवेशद्वार भाषा हो। छाइलको भाषा नरम छ। मैले त दुई बसाइमै पढें’, साहित्यकार अभय श्रेष्ठले भने, ‘यसले डोट्याली सभ्यतालाई नेपाली साहित्यको मूल धारमा प्रवेश गराएको छ। उपन्यास एकदमै स्वादिलो छ।’

यसमा सुदूरपश्चिमका एक युवाको संघर्षको कथा छ। यसमा मूलतः बाबु र छोराको सम्बन्ध देखाइएको छ। सुदूरको गरिबीको चित्रण छ। दलितको संघर्षको कथा छ। युवाको प्रेम पनि झल्काइएको छ।

‘छाइल सुदूरपश्चिमको चोखो कथा हो। युवाको जीवन संघर्षको कथा। यसमा हरेक पात्रको संघर्ष देखाइएको छ’, छाइल लोकापर्णसँगै आयोजित अन्तरक्रियामा साहित्यकार श्रेष्ठले भने, ‘छाइल पठनीय कृति हो। विशेषतः युवाहरूले यसलाई मन पराउने छन्। यो कृति लोकप्रिय बन्नेछ।’

मानवअधिकारकर्मी मोहना अन्सारीले त ‘छाइल’ उत्कृष्ट कृति भएको टिप्पणी गरिन्। ‘नेपाली साहित्यमा पूर्वी नेपालका कथाहरूले छोपेका बेला सुदूरपश्चिमको यति मिठो उपन्यास आउनु सुखद् उपलब्धि हो’, उनले भनिन्, ‘पहिले म सुदूरपश्चिमका डोटी, डडेल्धुरा र कैलालीमा बसेको मान्छे हुँ। छाइलले त्यहाँको तस्वीर दुरुस्तै उतारेको छ। गरिबीभित्र मान्छे कसरी हुर्कन्छ र कसरी संघर्ष गर्छ भन्ने कुरा उपन्यासमा पढ्न पाइन्छ।’

कार्यक्रमको सुरुमै कवि सुमन थापा ‘संगम’ले छाइल अर्गानिक उपन्यास भएको टिप्पणी गरेकी थिइन्। ‘उपन्यासको विषयवस्तु र भाषाले तानिरहन्छ’, उनले भनिन्, ‘सुदूरपश्चिमको ऐना हो छाइल।’

डोट्याली शब्द ‘छाइल’को अर्थ हुन्छ ‘छायाँ’। कविका रूपमा स्थापित भट्ट आफ्नो पहिलो उपन्यासबाट हौसिएका छन्। ‘मैले भुईं मान्छेका कथा उजागर गर्ने प्रयास गरेको हुँ’, उनले भने, ‘पाठकहरूको सुझाव अनुसार लेखन निखार्दै जानेछु।’

कार्यक्रमका वक्ताहरूले उपन्यासकारका केही कमजोरी पनि औंल्याएका छन्। ‘यो उपन्यास बुबाको सेरोफेरोमा घुमेको छ’, मानवअधिकारकर्मी अन्सारीले भनिन्, ‘यसमा आमाको संघर्षको कुरा चित्रण गर्न कञ्जुस्याइँ गरिएको छ।’

उपन्यासमा महिलाका कारण प्रेम असफल भएको देखाइएकामा साहित्यकार श्रेष्ठ सन्तुष्ट हुन सकेनन्। ‘के महिला यति रहस्यमयी पात्र हुन् त?’, उनले सोधे। साथै यस कृतिमा माओवादी द्वन्दको कुरा कोट्टयाए पनि गहिराइमा नपुगेको उनले टिप्पणी गरे।

पत्रकार एवं समीक्षक राजकुमार बानियाँले उपन्यासभित्रका केही सन्दर्भ वाचन समेत गरेर रोचक ढंगमा अन्तरक्रिया चलाएका थिए। कार्यक्रममा कवि, लेखक, पत्रकारका साथै शिक्षक, विद्यार्थी र पर्यटनकर्मीको राम्रो जमघट थियो।

प्रकाशक बुक्स हिमालयका प्रमुख पवन शाक्यले काठमाडौंसहित मुलुकका प्रमुख शहरमा पुस्तक पुगिसकेको बताए। उनले यस्तै स्वादिला कृति छाप्दै जाने प्रतिबद्धता जनाए। स्थानीय चुनावपछि काठमाडौं बाहिर धनगढी, नेपालगञ्ज, चितवन, विराटनगर, पोखरालगायत शहरमा किताब यात्रा गरिने शाक्यले जानकारी दिएका छन्।

बुक्स हिमालय लकडाउनका बेला स्थापित प्रकाशन गृह हो। यसले बालसाहित्यका केही कृति छापिसकेको छ भने ‘छाइल’ यसको पहिलो उपन्यास हो। छाइलको मूल्य ४५० रुपैयाँ राखिएको छ।

प्रकाशित: १९ वैशाख २०७९ ०३:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App