२६ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

साहित्यिक प्ल्याटफर्ममा आजबाट ‘ई–कविता’

प्रकाशन बजार थप चलायमान बनाउने उद्देश्यले नेपालयले नेपाली कविताहरूको अनलाइन प्रकाशन गर्ने भएको छ। यसको सुरुवात कवि श्रवण मुकारुङले आजबाट गर्दैछन्।

यसका लागि नेपालयले कवि मुकारुङसँग सहकार्यको सम्झौता गरेको छ। नेपालयले सुरु गर्न लागेको यो कामलाई ‘नेपालय ई–कविता’ भनिनेछ। यसका संयोजक र क्यूरेटर कवि मुकारुङ रहनेछन्। यो प्ल्याटफर्म मार्फत् कवि मुकारुङले आफ्नो लगायत अन्य नयाँ र पुराना कविहरूका अप्रकाशित नयाँ सिर्जनाहरू प्रस्तुत गर्ने छन्।

साप्ताहिक रूपमा सार्वजनिक हुने कविताहरू नेपालयको पेज मार्फत् निर्धारित शुल्क तिरेपछि फोन र कम्प्यूटरमा सिधै उपलब्ध हुनेछन्। हरेक कविता पढ्न पाउनुका साथै कविकै स्वरमा वाचन समेत सुन्न सकिने व्यवस्था हुनेछ।

‘कोरोना महामारीले हाम्रो सामाजिक गतिविधि र स्वछन्द घुमफिरको स्वतन्त्रतालाई चुनौती दिएको महसुस गरायो। अरू सबै क्षेत्रजस्तै यसले प्रकाशन र पाठकहरू पनि प्रभावित रहे,’ नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘कला र साहित्यले हामीलाई कठिन समयमा सान्त्वना दिने माध्यमको रूपमा काम गरेको हुन्छ। हामीले क्वारन्टाइनको परिधिमा आफूलाई सीमित गरेसँगै अनलाइनमा उपलब्ध खुराक मार्फत् धेरैले आफ्नो साहित्यिक भोकलाई व्यवस्थापन गरेको पायौं। कविकलाकारहरूले पनि आफ्ना सिर्जनाहरूलाई सहज रूपमा बाँडे। ती सत्रहरूमा देखिएको जनसहभागिता र चासो उत्साहजनक थियो। तर, यसरी प्रकाशित र प्रसारित हुने सिर्जनाले सर्जक र पाठक–श्रोता बीच सेतुको काम गरे पनि व्यवसायिक व्यवस्थापनको टड्कारो आवश्यकताको पनि महसुस भयो।’

‘ई–कविता’ का क्यूरेटर एवं संयोजक कवि श्रवण मुकारुङले पनि यसको परिकल्पना पूर्व लकडाउन ताका आफ्नो फेसबुक पेजबाट नियमित रूपमा ‘क्वारेन्टाइन कविता’ शीर्षकमा लाइभ सेसन चलाएका थिए। सो अनुभवको आधारमा ‘ई–कविता’ का बारे आफ्नो विचार राख्दै संयोजक मुकारुङ भन्छन्,‘कविता लामो समयदेखि व्यावसायिक प्रकाशन जगतको प्राथमिकता क्रममा पछाडि रहेको साहित्यिक विधा हो। यस्तो स्थिति आउनुमा पाठकहरूमा राम्रो कविताप्रति आकर्षण नभएर होइन। बरु हामीले कविता लेख्ने र प्रकाशित गर्ने कामलाई व्यावसायिक बनाउन नसकेर हो। प्रकाशनका यस्ता नयाँ आयामले कविता लेखन र पठन संस्कृतिलाई नै नौलो अवसर प्रदान गर्ने कुरामा म आशावादी छु। ‘ई–कविता’ले कविहरूलाई निश्चय पनि गरिमा र सम्मान प्रदान गर्दै सुसूचित बन्ने र किनेर पढ्ने पाठकको संगतमा पनि पुर्‍याउने छ।’

‘ई–कविता’को सुरुवात आजबाट भएको छ। संयोगवश आज आमाको मुख हेर्ने दिन परेकाले शृखंलाको पहिलो कविताको रूपमा आमा र अग्रजहरूप्रति सम्मान एवं समर्पणस्वरूप कवि गोपालप्रसाद रिमालको ’आमा’ शीर्षकको प्रसिद्ध कवितालाई कवि श्रवण मुकारुङले वाचन गरेका छन्। यस शृंखलामा अब नेपाली भाषाका कविहरूका अप्रकाशित नयाँ सिर्जनाहरू साप्ताहिक रूपमा पढ्न र उनीहरूकै वाचन मार्फत् आफ्नो काव्यात्मक साहित्यिक प्यास मेट्न सकिनेछ। 

प्रकाशित: १७ वैशाख २०७९ ०९:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App