खगेन्द्र बस्याल
उसले कतारबाट सोध्यो,‘आमा के छ घरतिरको हालखबर?’
‘ठिकै छ। मौसम र चुनाव दुवैको गर्मी बढ्दैछ। बरु भन् के छ तेरो सुन्नयोग्य खबर?’
‘मैले परिश्रमको मूल्य चिनें। अब यो पसीना खाडीमा होइन,आफ्नै माटोमा बगाएर अरूको समेत भित्री आँखा खुलाउने विचार आएको छ अनि बा घरमा हुनुहुन्न र!’
‘अब तँलाई राम्री केटी खोज्ने कुरा गर्दै हुनुहुन्थ्यो। त्यही ध्याउन्नमा कता जानुभयो,कुन्नि!’
‘खुशी लाग्यो। म पनि अब यता नफर्कने गरी आउँदैछु। कस्ती राम्री नानी खोज्दै हुनुहुन्छ त बाले?’
‘राम्रो खानदानी र स्वर्गकी अप्सराजस्तै त हो नि। हामीलाई पनि त राम्री लाग्नुपरेन र!’
‘खानदानी र अप्सराको परिभाषा बद्लिएको छ। बालाई त्यो कुरा थाहा छ कि छैन।’
‘थाहा नहुन पनि सक्छ। बता त के हो त्यो बद्लिएको परिभाषा?’
‘सिँगारले होइन कामले राम्री देखिन चाहने, हृदयमा उच्च विचार राख्ने,विलासिताको कुरामा ध्यानै नदिने,सुसंस्कार नै सक्कली गहना ठान्ने,घरमा कसैले फाल्टु कुरा गरेको वा कुरा काटेको देख्यो कि महाकाली उत्रने र घरको काँचुली फेर्न सघाउन सक्ने नै राम्रो खानदानी एवं अप्सरा भनिन थालेको छ। यस्तो कुरामा ध्यान दिएर खोज्नु है आमा।’
प्रकाशित: १२ वैशाख २०७९ ०६:०९ सोमबार