ढाकामोहन बराल
राजधानीको एक चर्चित पाँच तारे होटलमा ओर्लदै डा. हरिदत्तले ड्राइभरलाई भने, ‘म खबर गरूँला। तिमी अहिले बाहिर जाऊ। होटलभित्र कतै पार्किङ नगर्नु है।’
उनी ओर्लदै गर्दा किशोरजी पनि ट्याक्सीबाट निस्कदै हुनुहुन्थ्यो।
किशोरजीले भन्नुभयो, ‘म त तल चोकमा गाडीबाट ओर्लेर ट्याक्सीमा आएँ। किन तनाव लिने पत्रकार पछि लाग्छन्।’
‘मैले पनि गाडी पार्किङमा नराख् भनेको छु।’ हरिदत्तले भन्नुभयो।
उनीहरू दुवै होटलको भिआइपि सानो सभाहलभित्र लागे। करीव तिसपैंतिस जना अट्ने क्षमता भएको यो सभाहलबारे थोरैलाई मात्र थाहा छ। उहाँहरू पुग्नुअघि नै करीव भरिभराउ भएको थियो। उहाँहरू कुनाको खाली कुर्सीमा बस्नुभयो।
‘सबैलाई बोलाउन भ्याइसकेछ्न् है’ हरिदत्तले खुसुक्क भन्नुभयो।
किशोरजीले बिस्तारै भन्नुभयो, ‘के गर्नु जति दिए पनि नपुग्ने यिनीहरूलाई। कसरी मिलाउने हो अब? मेरो प्रतिष्ठानलाई अझ टंगालले ठूलो आँखाले हेरिरहेको छ।’
‘हेर्नुस् न कतै आएका पो छन् कि’ भन्दै हरिदत्तले हलको चारैतर्फ आँखा डुलाउनुभयो।
किशोरले फेरि हल्का मुस्कुराउदै सोध्नुभयो, ‘ए साँच्चै हजुरको प्रिपेड हो कि पोस्टपेड हो रे?’
हरिदत्तको जवाफ आयो, ‘के गर्ने, फिप्टी पसेंन्ट प्रिपेड हो र बाँकी नियुक्तिपत्र बुझेपछि हो।’
हलमा राजनीतिक नियुक्ति पाएर विभिन्न संघसंस्थानको कार्यकारी अध्यक्ष, संचालक, महाप्रबन्धक भएका तथा विभिन्न प्रतिष्ठान एवं विश्वविद्यालयका उच्च पदाधिकारीहरूको उपस्थति थियो। पार्टीको जिम्मेवार नेताको हलमा प्रवेश भयो र हलमा सन्नाटा छायो।
उहाँ अगाडि राखिएको कुर्सीमा बस्नुभयो र पार्टीको प्रतिबद्धतापत्रमा हस्ताक्षर गराउँदै कुनै औपचारिकताबिना बोल्दै जानुभयो,‘सरहरुलाई करीव सबै कुरा थाहै छ। पार्टीले परिआएको बेलामा सहयोग गरेकै छ। अब यसपालि सहयोग गर्ने जिम्मेवारी हजुरहरूको काँधमा छ। यसपटकको चुनाव खर्च जम्मा गर्ने जिम्मेवारी मलाई दिएको छ। सरहरू सबैलाई थाहा छ, चुनावी खर्च कसरी बढेको छ। अब आजको बैठकमा पार्टीले तोकेको रकममा नघट्ने गरेर के कसरी सकिन्छ,प्रतिबद्धता जनाउनुपर्यो। रकम कहाँ कसरी जम्मा गर्ने पछि जानकारी गराइने छ।’
बेलाबेलामा उनको सहयोगीले घडीतर्फ इसारा गर्दै व्यापारीको भेलामा जान अबेर भएको जनाउँदै थिए।
प्रकाशित: १२ वैशाख २०७९ ०५:०८ सोमबार