१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
कला

म मरेको छैन

लघुकथा

विवि याक्खा

बाजेका पालामा बाँसको सिन्को र सिमीको पातको मसी बनाएर लेख्नेपढ्ने गर्नुहुन्थ्यो अरे! पुर्खाहरूले दियालो बालेर नै जीवनको उज्यालो खोजे।

पछि उहाँहरू लिखितम धनीका नाम र भँगेरो टाउके अक्षरमा तमसुक र भैंसे बिलहरू लेख्न सक्ने हुनुभएछ। पछि गाउँमा विकास गर्नुपर्ने चेत खुलेपछि पुलपुलेसा, गोरेटो,धारा,कुवाको बनाउँदै गाउँमा शिक्षाको महत्त्व बुझेर विद्यालय पनि बनाएछन्। मेरा बाले त्यहीं गाउँमै पढ्नुभयो। गाउँमै शिक्षक बनेर उहाँले समाज सेवामा जीवन बिताउनुभयो।

मैले पनि गाउँमा नै प्रारम्भिक शिक्षा आर्जन गरे। उच्च शिक्षा हासिल गर्न तथा अवसरको खोजीमा आफ्नो सपनाको दुनियाँ खोज्दै म शहरको गल्लीहरू नाप्नु आएँ। यो मेरो बाध्यता र रहर दुवै थियोे।

शहरमा रहदाँबस्दा कल्पनासितको भेटघाट मायाप्रेममा झाँगिएर विवाहसम्म भयो।

सानोतिनो पेटपालाका लागि काम गरे पनि अरू केही गर्नुपर्छ भन्ने मनमा सधैं हुटहुटी चल्छ। यसैले पढाइको साथसाथै लेखनमा पनि चासो बढ्दै थियो।

निरन्तर साधना, मेहनत र अध्ययनपछि एउटा गतिलो सन्देश बोकेको पुस्तकको तयारी गर्दैछु। यसका लागि कल्पनाले नै समय मिलाइदिएकी छिन्। लेख्दालेख्दै तिर्खा लाग्यो। यसैले बोलाएँ, ‘कल्पना, मलाई चिसो पानी ल्याइदेऊ र सुत है तिमी पनि।’

मेरो आवाज सुनेर अघि टेवलमाथि पानी राख्दिंदै भनिन्, ‘पानी ल्याइदिएकी छु। खानु बिर्सनु होला है।’

मैले पनि ‘हस्’ को संकेतमा टाउको हल्लाएँ र धन्यवाद दिएँ। उसले जिज्ञासु हुँदै सोधिन्, ‘हैन हजुर साँच्चै केका लागि लेख्नुहुन्छ?

मैले गम्भीर सोधाइको जवाफ दिएँ, ‘हामी मान्छे हौं। हाम्रो जिम्मेवारी छ। समाज र दुनियाँलाई केही गरेर देखाउन पहिला त त्यो कुराको महसुस हुनुपर्छ। यसैले म मरेको छैन भनेर आफ्नो अलग पहिचान बनाउन लेख्छु।’

उनले म्वाइँ खाँदै भनिन्,‘वाहा, मेरो हिरो नानीको बाबा अति उत्तम विचार।’

प्रकाशित: १२ वैशाख २०७९ ०४:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App