नन्दलाल आचार्य
‘हामीकहाँ आज वैशाख ११ गते लोकतन्त्र दिवस मनाइन्छ, हैन, बाबा?’ छोरी गरिमाले यत्ति मात्रै भनिन्। मैले टाउको हल्लाएर सहमति जनाएँ। उनले जिज्ञासाको ओइरो खन्याउन थालिन्।
‘यसमा जनताले दिएको मतले छानिएका प्रतिनिधिले शासन गर्ने काम गरिन्छ, हैन त बाबा? यो लोकतन्त्रमा त अन्धोमा वाण हान्ने काम पो हुँदो रहेछ।’ यस पटक भने गरिमाले वितृष्णा छादिन्।
‘त्यसो नभन। लोकतन्त्र बहुसंख्यक जनताद्वारा छानिएका प्रतिनिधिहरूको सम्मतिमा कुनै देशको शासनव्यवस्था चल्ने र नीतिनिर्धारण आदि हुने शासनप्रणाली हो, नानी। लोकतन्त्रलाई ठोकतन्त्र नठान न।’ मैले बुढ्यौली पाराको भाषण सुनाएँ।
उनले बहुमतको कदरले मात्र प्रजातन्त्र नबाँच्ने कुरा गरिन्। साँचो लोकतन्त्र घरदैलोमा पुर्याउन अल्पमतको कदर गर्नुपर्ने अडान राखिन्। मतले हैन बुद्धिले शासन चल्नुपर्ने कुरा गरिन्।
उनी भन्दै थिइन्, ‘कहिलेकाहीं जनता भेडा बन्छन्। प्रलोभन र प्रभावमा परेर गलत मान्छेलाई भोट दिन्छन्। यसरी लोकतन्त्र भेडोतन्त्र बन्न पुग्छ।’
म नबोलेको देखेर उनले मेरो मनलाई शून्य पार्ने कथन अघि सार्दै भनिन्, ‘अब लोकतन्त्रको परिभाषा फेरिनुपर्छ। अब भेडो मतले हैन,बौद्धिक मतले देश चल्ने व्यवस्था आउनुपर्छ। म त बहुमतलाई मक्किएको परिभाषा ठान्छु। बौद्धिक मतलाई लोकतन्त्रको नूतन परिभाषा मान्छु।’
प्रकाशित: १२ वैशाख २०७९ ०२:०१ सोमबार