लता के सी
हिजो अचानक उनको ढाडमा बिजुलीको करेन्ट लागेझैं भयो। तीव्र गतिले दुखाइ सुू भयो। पेनकिलर लिएर बेड रेस्टमा गइन्। ५ दिनपछि सामान्य हिंडडुल गर्ने अवस्था भयो।
उनी फिजियोथेरापी गर्ने मनसायले हाडजोर्नीको चिकित्सककहाँ पुगिन्। उनले एक्सरे गरे। खिइएको हड्डीमा मसल्स जाम भएको जानकारी गराए। उनी थेरापीका लागि सोध्दै थिइन् तर उनले एक हप्ता दवाई खानू भन्ने आदेश गरे। दवाई सुरु गरेपछि दुखाइ घट्नुको सट्टा बढ्न थाल्यो। ६ दिन भयो। निको हुने नामै थिएन। सातौं दिन एकाबिहानै प्रेसर हाइ भयो। इमर्जेन्सी गइन्। दुखाइको असर हो भन्दै नदुख्ने सुई लगाइदियो। घर आइन्।
३ घण्टापछि फेरि दुख्न थाल्यो। देब्रे हातको नारीदेखि दिमागसम्म एकनासको दुखाइ बढ्यो। यसरी त भएन भन्यो लाग्यो अनि दिउँसो डा. सँग पुगिन्। दुखाइ कम हुनुको सट्टा बढ्नुको आक्रोश पोखिन्। उनले घाँटीको एक्सरे गरे। दबाई बदल्नुपर्छ भनेर फेरि एक हप्ताका लागि दवाई लेखे। घाँटीको हडी खिएकाले दुखेको हो। दुखुञ्जेल मोबाइल नचलाउनू भन्ने आदेश जारी गरे। साँझपख प्रेसरका लागि फिजिसियनकहाँ गइन्। उनले प्रेसरको दवाई बदले र भने, ‘अर्थोपेडिकले आफ्नै हिसाबले दवाई लेखेछन्। निको नभएपछि किन खाने?’
दुखाइको तोडमा उनको दिमागले केही सोच्न सकेन। पेनकिलर लगातार खाइरहे पनि दुख्न छाडेन। रिसले औषधि डसबिनमा फालिन्। भोलिपल्ट केही राहत भयो। उनले नजिकैको चिनजानको फिजिसियनसँग औषधिबारे छलफल गरिन्। बुझ्दै जाँदा हाडजोर्नीको चिकित्सकले कम्पनी र दवाईको पावर बदलेर एउटै दवाई दिएको रहेछ। मसल्सका लागि दिनुपर्ने तर नशाको दवाई दिएको रहेछ। दवाईको साइड इफेक्टले गर्दा उनको दुखाई बढेको रहेछ। उनलाई मक्खीचुस डाक्टरदेखि रिस पनि उठ्यो। एकमनले मुद्दा ठोक्दिऊँझैं लाग्यो। यो वेदनाको क्षतिपूर्ति असुल गरौं भन्ने मनसाय नआएको होइन तर फेरि उनी बुद्ध बनिन्। उनी सोच्न थालिन्,‘आखिर चिकित्सकहरू रोगीका लागि सैतान कि भगवान् हुन्।’
प्रकाशित: ९ वैशाख २०७९ ०७:५४ शुक्रबार