दिनेश निरौला
चौबीस घण्टामा उनको एकपटक पनि फोन आएन। खास काम थिएन। मैले पनि फोन गरिनँ। अरू समय दिनमा कम्तीमा तीनपटक फोन गर्थिन् उनी।
आफ्नो अनुकूल मिलाउन म चौबीस घण्टा डिउटी गर्थें र चौबीस घण्टा कोठामा रहन्थें।
डिउटी सकेर भोकले रन्थनिदै कोठामा पुगें। उनी कोठामा थिइनन्। मेरो रीसको पारो निकैमाथि पुग्यो। फोन डायल गरें। फोन अरू कसैले उठाएको थियो। लोग्ने मान्छेको आवाजले मेरो रीसको पारोले उचाइ नाघ्यो।
फोन फालिदिऊँ जस्तो पनि नलागेको हैन तर सम्हालिएँ। फोन काटिइसकेको थियो।
टिररिङटिररिङ...। फोन आयो। हेरें घरकै नम्बर थियो। मन नलागीनलागी उठाएँ।
‘हेल्लो, तपाई सावित्रीको आफन्त हो?’ उही पुरुष आवाज थियो।
‘हो’ मेरो आवाज भद्धा थियो।
‘सावित्रीजी ऐले अस्पतालमा हुनुहुन्छ। एक्लै अस्पताल आउनुभएको रहेछ। आइपुग्नासाथ बेहोस हुनुभएको ऐलेसम्म होस खुलेको छैन। म यो अस्पतालको डाक्टर रोशन बोल्दैछु। कपडाभित्र रहेको फोन पनि भर्खरै भेटियो।’ म बोल्न लाग्दा फोन काटियो। मेरो रीस र भोक दुवै गायब भयो।
हिजो कोठाबाट निस्कन लाग्दा उनले हाच्छिउँ गरेको र मलाई टुसुक्क बस्न लगाएको सम्झिएँ। बाइक अस्पतालको गेटमा पुगेर रोकिएको पत्तै पाइन। भित्र पुग्दा उनी होसमा आइसकेकी थिइन्। डाक्टर मलाई भन्दै थिए,‘कोरना नेगेटिभ छ। गर्भ तीन महिना क्रस। सँगै बसेर पोसिलो खुवाउनू।’
उनीसँग रिसाउन लाग्दा मुस्कुराउँदै भनिन्, ‘हजुर हिंड्नेबित्तिकै वान्ता भयो। के बोलाउनु भनेर एक्लै आएकी थिएँ। म भोलि नै गाउँ जान्छु। यो शहरमा एक्लै बस्नु हुँदैन रहेछ।’
म झसंग भएँ।
‘मैले त ध्यानै नदिएको, मान्छेको शहरमा मान्छे एक्लै हुन्छ भनेर’ अनायास आवाज निस्कियो मेरो।
प्रकाशित: ९ वैशाख २०७९ ०७:३२ शुक्रबार