१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
कला

कदम

लघुकथा

गंगा खड्का

उमाको छोराको बिहेका लागि धुमधामसँग तयारी हुँदै थियो। बिहेको दिन बेहुलासँगै गई बेलुकी बेहुली लिएर को आउने भन्ने कुरामा लामै छलफल भयो।

कसैले भने, ‘मेरो त बच्चा सानो छ। म त भ्याउन्न।’

‘मेरो त पन्छिने बेला हुन लागेको छ।’ कसैले थपे।

‘मेरो त त्यो दिन व्रत परेको छ। म दिनभरि त्यहाँ अल्मलिन सक्दिनँ।’कसैले बाहना खोजे।

सबैको निर्णय सुनिसकेपछि उमाले भनिन्, ‘मैले सकभर तिमीहरूलाई मौका दिएको हो। सबैले नभ्याउने कुरा गर्‍यौ। अब म आफैं खोज्छु नि त।’

‘भइहाल्छ नि अनि कसलाई खोज्नुहुन्छ दिदी?’ कान्छी देवरानीले मुख फुटाई।

‘अब त्यसै दिन थाहा पाउँछौ।’ उमाले मुखमा बुजो लगाइदिइन्।

बिहेको दिन अघिपछि भन्दा उमाको अनुहारमा छुट्टै चमक थियो। उनी वर्षौदेखि हराएको कुनै चिज पाएको झैं देखिन्थिन्। बेहुला अन्माउनै लाग्दा घरअगाडि एउटा ट्याक्सी आएर रोकियो। उमा अनौठो पाराले दगुर्दै त्यसमा आउने मान्छेको स्वागतका लागि गइन्। सबैका आँखा बेहुलो हेर्न छाडेर त्यतै मोडियो।

‘के गर्नु जातभातको कुरा निकालेर समाजले छोरी त्याग्न बाध्य बनाएको थियो। आखिर जात सानो होइन रहेछ, हाम्रो  सोच पो सानो रहेछ त। संसार बदल्नु छ भने सुरुवात आफैंले गर्नुपर्‍यो नि। जाऊ छोरी भरे बेलुकी बुहारी लिएर मात्रै आऊ है।’

प्रकाशित: ९ वैशाख २०७९ ०३:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App