आचार्य प्रभा
हाम्रो कहिलेकाहीं च्याटमा कुरा हुन्थ्यो। म पनि मेरा प्रवासका केही मन दुखाइहरू,गुनासाहरू उसलाई पोख्ने गर्थें। हामी फुर्सदमा अक्सर कुराकानी गर्थ्यौं।
सधैं ऊ भन्ने गर्थ्यो, ‘आफ्नो सबथोक भएर पनि के विदेशमा बसेको? के कुराको कमी छ तपाईलाई भन्नुस् त’भनेर।
भन्ने गर्थें, ‘सबथोक छ। आफन्त छन्। आफ्नो माटोको स्पर्श छ।’
‘अनि?’ ऊ अझ छक्क पर्दै सोध्थ्यो।
‘खै केले पुगेन? केको अभाव छ? म भन्नै सक्दिनँ।’ म फेरि आफैमाथि प्रश्न तेस्र्याउँथें।
ऊ अझै भन्न छाड्दैनथ्यो, ‘त्यसो भए तपाईमा आत्मासन्तुष्टिको कमी छ।’
म नाजवाफ बन्थें र सोंच्थें, ‘केको आत्मासन्तुष्टि?केलाई आत्मासन्तुष्टि? न म डलरकै लागि मरिहत्ते गरेर हरेक घण्टा आफ्नो समय र परिश्रम बेच्दै छु। न मलाई महल र विलासी जीवनको सोख छ। न ठूल्ठूला शहरहरू घुम्ने इच्छा नै छ। भन्नेले र सोच्नेले त नदेखी जे सोच्दा पनि भो नि!’अनि म च्याटबाट अफ हुन्थें।
एकदिन फेरि उसैले, ‘हेल्लो दिदी’भनेर सम्बोधन गयो। मैले पनि जवाफ दिएँ। केहीबेर कुराकानी भयो। फेरि त उस्तै वार्तालाप।
–अब आउनुस् दिदी आफ्नै देशमा। अब त पुगेन डलरले भन्या। कति छाप्नुहुन्छ हौ डलर?
म निशब्द बनें। मसँग उसको सोधाइको जवाफ थिएन। न म भन्न नै सक्थें म यहाँ बेरोजगारी छु भनेर। न मलाई रोजगारी गर्ने अभीप्शा नै थियो।
मैले जवाफमा केही भनिनँ तर यति लेखें, ‘म यहाँ अडिनुको कारण माया र ममत्व हो। जो म चटक्क छोड्नै सक्दिनँ। जसमा मेरो रगत र मुटुको साइनो छ।’
लगत्तै मेरा कलिला नातिनीहरूका सुन्दर तस्वीरहरू पठाएँ।
ऊ पनि केहीबेर नाजवाफ बन्यो।
अन्तिममा लेख्यो,‘दिदी,माफी चाहन्छु। मैले यहाँको मनको भाषा र ममत्वको आशय बुझ्न सकिनँ। हो,सबै डलरमोहले नै विदेश कहाँ बसेका हुँदा रैछन् र? माया,प्रेम र अपनत्वले पनि मान्छेलाई बाँध्दो रहेछ। मानें, मैले तपाईको शिशुमोहप्रतिको समर्पणलाई।’
प्रकाशित: ३ वैशाख २०७९ ०४:२४ शनिबार