१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
कला

गञ्जागोल

कथा

७९ वर्षीय हरिभक्त एकाएक थलिए। साँझ उनी मधुमेहको औषधि खाएर सुतेका थिए, बिहान उनका हातखुट्टा चलेनन्, बोल्न भने सक्थे।

हरिभक्तले बनारसबाट ज्योतिष विद्या बढेर आएका थिए। आफूलाई सर्वदर्शनको शास्त्री पनि भन्ने गर्थे। उनी बनारसबाट पढेर फर्केको केही वर्षपछि उनको घरमा आगलागी भयो, उनले अध्ययनबाट प्राप्त गरेका कागजात सबै नष्ट भए। आफ्नो अध्ययनको प्रमाणपत्र लिन पुनः बनारस जाने मन उनलाई भएन, अझ भनौँ फुर्सद मिलेन। उनका पिता लक्ष्मीनारायण दराका हाकिम थिए, अर्थात् जिम्मावाल। लक्ष्मीनारायणको जग्गा प्रशस्तै थियो।

तीनवटी विवाह गरेका लक्ष्मीनारायणका १३ बहिनी छोरी र ११ भाइ छोरा भए, जसमध्ये हरिभक्त माइलीपट्टिका जेठा थिए। पिताको देहान्तपछि अंशबन्डा गर्दा आफ्नो नाममा कहाँको कति जग्गा पर्‍यो भन्ने हरिभक्तलाई थाहा थिएन। बनारसबाट फर्केपछि उनी आफ्नो जग्गाको रेखदेखमा लागे। फुर्सदमा गाउँ समाजका मानिसको भाग्य र भविष्य हेरिदिन्थे। उनले केही थान भावप्रधान काव्य, महाकाव्यका पाण्डुलिपि लेखेका थिए, किन्तु आफ्नो जीवनकालमा तिनको प्रकाशन गर्न पाएनन्। आफ्ना रचनालाई पुस्तक आकारमा छाप्न र सँगसँगै तीर्थयात्रा गर्न उनी एकपटक बनारस जाने सोचेका थिए, परन्तु कहिले फुर्सद त कहिले साइत निस्केन।

जीवनको उत्तरार्धमा उनी कान्छा छोरा मदनमोहनसँग बसेका थिए। स्थानीय सरकारी विद्यालयमा प्रधानाध्यापक रहेका मदनमोहनका लगातार चार बहिनी छोरी जन्मिए। कान्छो छोरोको छोरो अर्थात् नातिको मुख हेरेर मर्ने हरिभक्तको  धोको थियो।  उनले बिहानै आवाज थिए— ए मदनमोहन, ए दुलही!  उनले बुहारीलाई दुलही भनेर सम्बोधन गर्थे।

भित्रबाट मदनमोहनकी पत्नी राधिकाको आवाज आयो— आएँ, आएँ। के भयो बा! दुलही नभन्नु न भन्यो, मान्ने होइन। छोरी भने पनि हुन्छ नि! अरूले सुन्दा लाजै हुने।

– यहाँ मेरा हातखुट्टा चलेनन्, उठ्नै सकिनँ... ।

हरिभक्त भुइँतलाको एक कोठामा सुतेका थिए। उनीसँगैको कोठामा भान्सा थियो, अर्कोतिर छोराबुहारी सुत्ने कोठा। बार्दली निकालिएको, भुइँतलादेखि माथि दुई तला भएको, ढुंगाले छाएको घरको बीचको तलामा नातिनीहरू सुतेका थिए।

‘मेरा हातखुट्टा चलेनन्’ यो वाक्यांश सुन्नेबित्तिकै सबै हरिभक्तको कोठामा पुगे।

मदनमोहनका दम्पतीले हरिभक्तका हातखुट्टा छामे— माथि उठाए, तल राखे, वल्टाइपल्टाई गरे। आफ्ना हातखुट्टा आफ्नो प्रयास र निर्देशनमा नचल्ने भएपछि हरिभक्त अलमलमा परेका थिए। नातिनीहरूले त्रसित मुद्रामा हजुरबुवालाई हेर्दै थिए।

पक्षघात भएको हो कि ! अस्पताल लैजानुपर्छ। मदनमोहन आफन्तलाई डाक्नतिर लागे।

‘मलाई अस्पताल होइन, शिवमन्दिर रहेको नदीको किनारमा लैजाऊ र नदीको पानीले नुहाइदेऊ। त्यहीँ बसेर भजनकीर्तन सुन्दै मर्ने इच्छा छ, उमेर पुगेको म बूढोलाई कता सहरतिरको अस्पताल लैजान्छौ !’ हरिभक्तले अन्तिम इच्छा व्यक्त गरे।

केहीबेरमै गाउँले र आफन्तले भरियो– पिँढी, आँगन र बार्दली। अस्पताल लैजाने कि नदीको किनार ! सबैले आ–आफ्नो राय व्यक्त गरिरहेका थिए। धेरैले नदीको किनारमा लैजाने सल्लाह दिए। उनीहरूको तर्क थियो— यो नश्वर जीवन, एक दिन सबैले मर्नैपर्छ। बुढेसकालको शरीर हो, हिरिक्क भई प्राण जान बेर लाग्दैन,अन्तिम इच्छा पूरा गरिदिएको उत्तम।

अधिकांश पाकापुराना व्यक्तिको सल्लाहमा हरिभक्तलाई शिव मन्दिर रहेको नदी तटमा पुर्‍याइयो। नदीको पानीमा खुट्टा डुबाएर राखेको केहीबेरमा हरिभक्तले प्राण त्यागे।

प्राण जानुअघि उनले कान्छा छोराबुहारीलाई भने— अबको एक वर्षमा तिमीहरूले एउटा पुत्रलाई जन्म दिनेछौ। पुत्रको केशान्त संस्कार गरेको पहिलो रात तिमीहरूले उसका लागि जे चिताउँछौँ, त्यो पछि गएर पूरा हुनेछ। केशान्त संस्कार गरेको दिनको घाम डुबेपछि पुत्रलाई सफा कोठा वा पूजाकोठामा सुताउनू र भोेलिपल्टको घाम उदाउनु अघिसम्म पुत्रका लागि कुनै शुभ चिताइसक्नू।

यति भनेर हरिभक्तले आँखा चिम्लिए।

०००

मर्ने बेलामा पितापुर्खाले भनेको कुरामाथि मदनमोहन र राधिकालाई कताकता विश्वास थियो। संयोग पनि त्यस्तै मिल्यो, हरिभक्त खसेको वर्ष दिनपछि मदनमोहन र राधिकाले एक पुत्रलाई जन्म दिए। पुत्रको नाम राधामोहन राखियो। राधामोहन जन्मेको वर्ष दिनभित्र केशान्त संस्कार सम्पन्न भयो। साँझको घाम डुबेपछि राधामोहनलाई एउटा शान्त कोठामा सुताइएको थियो। मदनमोहन र राधिकाले पुत्रको दायाँबायाँ बसेर कुनै शुभ चिताउन थाले।

केहीबेरपछि राधिकाले पतिलाई सोधिन्— हजुरले छोराका लागि के चिताउनुभयो?

– हाम्रो छोरो असल मान्छे होस् भनेर चिताएँ। तिमीले के चितायौ?

‘मैले त हाम्रो छोरो सबैभन्दा ठूलो मान्छे बनोस् भनी चिताएँ।’

दुवै केहीबेर मौन रहे।

केहीबेरपछि राधिका बोलिन्, ‘साँच्ची! ठूलो मान्छे बनोस् भनी चिताएँ, यही बनोस् भनेर त चिताइनँ। नेता, हाकिम, व्यापारी, डाक्टर, इन्जिनियर, बाउजस्तै शिक्षक— एउटा त भन्नुपर्ने होला!

‘के बनोस् भनी चिताउँछ्यौ त?’

मदनमोहनले सोधे।

‘देशमा सबैभन्दा ठूलो को हुन्छ, राजा!’

– राजा हुन त राजाको जेठो छोरो हुनुपर्छ। त्यसपछिको ठूलो प्रधानमन्त्री हुन्छ। राजा समान ठूलो राष्ट्रपति हुन्छ, राष्ट्रपति हुन राजालाई हटाउनुपर्छ।

‘राजालाई हटाएर राष्ट्रपति हुने! त्यसपछि जीवनभर मेरो छोरो राष्ट्रपति हुन सक्छ?’

– राष्ट्रपति मात्रै होइन, प्रधानमन्त्री, मन्त्री वा सांसद् हुन पनि एक वा दुई कार्यकाल मात्रै पाइन्छ। अरूलाई पालो दिनुपरेन?

‘उसो भए राष्ट्रपति र प्रधानमन्त्री दुवै भएन। कुनै ठूलो पार्टीको अध्यक्ष हुँदा के हुन्छ?’

– त्यसमा पनि एक वा दुई कार्यकालपछि अरूलाई पालो दिनुपर्छ। त्यसमाथि पार्टी भनेर मात्रै हुँदैन, पार्टीको विचारधारा हुन्छ— समाजवादी, पुँजीवादी, सारसंग्रहवादी, दयावादी..।

‘दयावादी भनेको?’

– कुनै पार्टी, संस्था वा व्यक्तिको यस्तो विचार, जसले उत्पीडित वर्गलाई यसो दया गरेजस्तो गरी राज्यका सेवासुधिकाको केही अंश दिनका लागि पैरवी गर्छ। तर उत्पीडितसँगै सबै जनताको जीवन बदल्ने व्यवस्था ल्याउन चाहँदैन।

‘यस्तो राजनीतितिर नलागोस् भो हाम्रो छोरो, फेरि आफ्नो र हाम्रो सुखका लागि केही गर्न भ्याएन भने ! साँच्ची, धर्मगुरु भए के हुन्छ?’

– हुन्छ, तर कुन धर्मको गुरु हुने? संसारमा थुप्रै धर्म छन्।

‘आफ्नै धर्मको गुरु हुने नि!’

– यो राम्रै हो, तर यसमा हाम्रो छोरो सबैभन्दा ठूलो मान्छे हुन सक्दैन। अरू धर्मका गुरुले आफ्नै धर्म श्रेष्ठ भन्छन्, हाम्रो छोराले आफ्नै धर्म उत्तम भन्नुपर्छ— विवाद रहिरहन्छ।

‘सरकारी हाकिम हुँदा पनि धेरै तलब हुँदैन। तिमी प्रधानाध्यापकको हालत यस्तो छ। डाक्टर, इन्जिनियर, बैंकको हाकिम हुँदा फुर्सदै हुँदैन, काममा बढी खट्नुपर्छ। यो देशमा लेखक, पत्रकार, कलाकारको खासै सम्मान र कमाई देखिँदैन। वैज्ञानिक भयो भने के होला! (एकछिनपछि) फुर्सदै नहोला, सधैँ केही न केही खोजमा लागिरहनुपर्छ। बरु कुनै कम्पनीको मालिक भयो भने सजिलो हुन्थ्यो कि!’

– मालिक भयो भने प्रशस्त पैसा होला। पैसा भएपछि धनी केटी बिहे गर्ला, मोजमस्ती गर्ला, देश–विदेश घुम्ला, कामले फुर्सद नपाउला— हामीलाई नहेर्ने पो हो कि! हामीलाई बुढेसकालमा हेरोस्, जेसुकै गरोेस् भो।’

‘यसरी सोच्नु हुँदैन बूढा। हाम्रो छोरो केही न केही उद्यम गर्ने हुनैपर्छ।’

आफ्नो छोरोलाई के र कस्तो बनाउने भन्ने सम्बन्धमा मदनमोहन र राधिकाले आफूहरूको स्वार्थलाई केन्द्रमा राखेर रातभरि सोचे, छलफल गरे, तर कुनै निर्णयमा पुग्न सकेनन्। सोच्दासोच्दै रात ढल्यो र घाम उदायो।

प्रभातकालमा मदनमोहन सोचमग्न भए— म एउटा शिक्षकसँगै प्रधानाध्यापक हुँ। मैले आजसम्म यत्तिका छात्रछात्राका लागि के चिताएँ!

०००

राधामोहनलाई विद्यालय भर्ना गरियो। बहुदलपछि बजारतिर भर्खरभर्खर निजी विद्यालय खुल्न थालेका थिए। यस्ता स्कुल खोल्न कम्युनिस्ट नेताका श्रीमतीहरू सक्रिय थिए। पछिपछि दुई–चारजना धनी व्यक्ति मिलेर गाउँगाउँमा निजी विद्यालय खोल्न थाले।

ठूलो मान्छे बनाउने उद्देश्यले राधामोहनलाई गाउँकै निजी विद्यालयमा पढ्ने व्यवस्था मिलाइएको थियो। एक दिन उनलाई शिक्षकले सोधे— राधामोहन! भविष्यमा तिमी के बन्न चाहन्छौ?

‘राजा, ए होइन राष्ट्रपति, होइन–होइन डाक्टर। वैज्ञानिक, सरकारी हाकिम, बैंकको हाकिम, कम्पनीको मालिक, नेता, लेखक, संगीतकार, कलाकार, धर्मगुरु...’ राधामोहन बोल्दै थिए, शिक्षकदेखि कक्षाका सबै विद्यार्थी हाँस्न थाले।

भविष्यमा के बन्ने? राधामोहनलाई विद्यालय जीवनभरि अन्योल रह्यो, उनी यही बन्छु भनी एउटा निष्कर्षमा पुग्न सकेनन्। साथी र समाजको लहैलहैमा उनले कक्षा १२ पास गरे, स्नातक कुन विषय लिएर पढ्ने भन्ने अन्योल उनलाई भयो। अन्योलका बीच अन्ततः उनी मानविकी संकायमा भर्ना भए।

यो बीचमा देशमा दशवर्षे जनयुद्ध भयो, गणतन्त्र आयो र संविधान लेख्नका लागि संविधानसभाको चुनाव भयो। संविधानमा आफ्नो हकअधिकार समेट्न विभिन्न जाति, धर्म, लिंग, समुदाय र क्षेत्रका मानिसले आवाज उठाए। देशको आमूल परिवर्तनका लागि भइरहेका यी तमाम आन्दोलनप्रति राधामोहनको कुनै स्पष्ट दृष्टिकोण रहेन, उनी अन्योलमै रहे। आफ्नो मूल विचार नहुँदा अधिकांश मुद्दामा उनी बहुसंख्यकको पक्षमा उभिएजस्तो गर्थे।

स्नातक पहिलो वर्षमा पढ्दै गर्दा उनी प्रेममा परे। सँगै पढ्ने भामिनीसँग उनको भावना मिलेजस्तो भयो। प्लस टुको पढाइ सकेदेखि भामिनीमा एउटा समस्या देखिन थालेको थियो। उनले अधिकांश समय बाल्यकालका एक–एक घटना सम्झन्थिन्। यसो आँखा बन्द गरिन्, वा कतै हेरेर टोलाइन् भने उनले बाल्यकालका घटना र दृश्यलाई सपनाजस्तै देख्न पुग्थिन्, घटनासँग सम्बन्धित पात्रले बोलेको आवाजसम्म सुन्थिन्।

एक दिन राधामोहन र भामिनी क्याम्पस नजिकैको पार्कमा घुम्न निस्के। पानीको फोहोरा, विभिन्न प्रकारका फूल, ध्यान केन्द्र, बस्नका लागि केही मेच, व्यायामशाला, क्याफे, स्विमिङपुल, पुस्तकालय, स्मार्ट शौचालय— पार्क मनोरम र सुविधासम्पन्न थियो।

उनीहरू फोहोरा नजिकैको एउटा मेचमा बसेका थिए, भामिनी बेलाबेला टोलाउन पुगिन्। यो देखेर राधामोहनले सोधे— ‘भामिनी! तिमी किन बेलाबेला टोलाउँछ्यौ? कक्षामा बस्दा पनि तिमी प्रायः टोलाएको देखेको छु। तिमीलाई कुनै समस्या छ?’

भामिनीले आफ्नो समस्या बताइन्। यो गर्, त्यो नगर्, यो गर्न हुन्छ, त्यो गर्न हुँदैन, यसलाई मान्नुपर्छ, यसमा विश्वास गर्नुपर्छ— बाल्यकालमा परिवारका सदस्य, आफन्त, छिमेकी, शिक्षक, विद्यालयका साथीहरूले उनलाई यस्तै भनेका थिए। तरुनी हुन थालेसँगै उनले बाल्यकालमा दिइएका कतिपय शिक्षामाथि सोचविचार गर्न थालिन्, बाल्यकालमा घर–परिवार र समाजले सिकाएका अधिकांश विषय तर्कसंगत थिएनन्। केही बाल्यकालका घटना सम्झने कोसिस गर्दा उनले पूरै बाल्यकाल सम्झन पुगेकी थिइन्। यतिसम्म कि, आफू जन्मेपछि छोरी जन्मी भनेर परिवारले दुःख मानेको दृश्य उनले एक–दुईपटक देख्न पुगेकी थिइन्।

‘राधामोहन ! यस्तो स्मृतिले गर्दा मलाई भयानक भ्रम हुन्छ। के ठीक हो, के गलत हो, के गर्न हुन्छ, के गर्न हुँदैन— म कुनै निष्कर्षमा पुग्न सक्दिनँ। यसले गर्दा मेरो प्लस टुदेखि पढाइ नै बिग्रेको छ,’ भामिनीले उदास मुद्रामा भनिन्।

यी दुवैका समस्या बाल्यकालसँग सम्बन्धित थिए। समाजमा दुवैको एउटै परिचय बनेको थियो– सही वा गलत छुट्ट्याउन नसक्ने र कुनै उद्देश्य नभएको मूर्ख ।

हजुरबाले मृत्युअघि भनेका कुरादेखि आफ्नो केशान्त संस्कारमा आमाबुवाबीच भएको एक–एक छलफल राधामोहनले थाहा पाए। एक दिन राधामोहनलाई आमाले नै वृत्तान्तमा बताएकी थिइन्।

आमाले रुँदै राधामोहनलाई भनेकी थिइन्, ‘हामीले तिम्रा लागि कुनै एउटा शुभ चिताउन सकेनौँ र तिम्रो यो अवस्था भएको हो छोरा, हामीलाई क्षमा गर।’

राधामोहनले पनि आफ्नो समस्या भामिनीलाई सुनाए। भामिनी बोलिन्, ‘राधामोहन! तिम्रो र मेरो समस्या उस्तै हो। हामी दुवैलाई समाज, परिवार र विद्यालयले कुनै पनि विषय फराकिलो ढंगले बुझाएन। केवल केही कुरामा विश्वास गर्न भन्यो। म आफ्नो समस्या लिएर कुनै मनोचिकित्सककहाँ जाने सोचेकी थिएँ, तर मनले मानेन। चिकित्सकले के भन्छ भन्ने मलाई यत्तिकै थाहा छ। तिमीमा यो डिसअर्डर छ, यसो गर, उसो गर, त्यसो नगर, त्यसमा विश्वास नगर— यस्तै भन्छ।

आखिर आफूलाई खोज्ने र बुझ्ने आफैँले रहेछ। हामीले आफूलाई समाज र समाजको इतिहासका बीचमा खोज्नुपर्छ। राधामोहन! म त गहिरो खोज–अनुसन्धान र अध्ययनमा लाग्ने सोचेकी छु। यो समाजको विश्वास र अभ्यासमा रहेका कुरामध्ये कुन सही र कुन गलत हो भनी बुझ्न र भन्न सक्ने हुनु मेरो लक्ष्य रहनेछ। के गर्नु? समाजले यस्ता कुरा सोच्न नपारेको भए कुनै वैज्ञानिक आविष्कार वा कला–साधनामा लाग्नहुन्थ्यो।’

भामिनीका कुराले राधामोहनको आँखा खुलेजस्तो भयो। उनले भने, ‘भामिनी! तिमी जुन खोजमा लाग्दैछौ, यही नै एउटा साधना हो। आफ्नो साधनामा सफल भयौ भने त्यो एउटा वैज्ञानिक आविष्कार हुनेछ। आफ्नो लक्ष्यमा मलाई पनि समावेश गर।’

त्यसपछि उनीहरू पुस्तकालयतिर लागे। 

प्रकाशित: ३ वैशाख २०७९ ०२:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App