काठमाडौं – नेपालका भूकम्प पीडितको सहयोगार्थ गत जेठ २९ मा युएईमा आयोजित सांगीतिक कार्यक्रमबाट उठेको रकम नेपाली दूतावासमार्फत नेपाल सरकारको प्रधानमन्त्री राहत कोषलाई हस्तान्तरण गरिएको छ।सोमबार युएईस्थित नेपाली दूतावासमा आयोजित एक कार्यक्रममा सांगीतिक कार्यक्रमका आयोजकले राजदूत धनन्जय झालाई ४३ लाख हस्तान्तरण गरे ।कार्यक्रममा बोल्दै आयोजकका प्रकाश पौडेलले पूर्णनिर्माण जुट्न आग्रह गरेका थिए । 'विनाशकारी भूकम्पले गर्दा नेपाल र नेपालीहरुले ठूलो विपदको सामना गर्नुपरिरहेको छ । युएईमा रोजगारको लागि बसिरहेका नेपालीहरुको जुटेर उठाएको रकम भूकम्प पीडितसम्म पुग्छ भन्ने आशा गरेका छौं,'उनले भने ।
अभिनेता राजेश हमाल, दीपकराज गिरी, दिपाश्री निरौला, आस्था राउत, तेरिया मगर, तिलक बम मल्ल, सम्झना लामिछाने, प्रजिता गेलाल, ईन्द्र जिसी लगायतका कलाकारले कार्यक्रममा प्रस्तुती दिएका थिए ।राजदूत धनन्जय झाले प्रधानमन्त्री राहत कोषमार्फत भूकम्प पीडितसम्म सहयोग पुर्याउने बताए । 'सांगीतिक कार्यक्रमबाट उठेको रकम प्रधानमन्त्री राहत कोषमार्फत भूकम्प प्रभावितसम्म पु¥याउन हामी लागिपरेका छौं,'उनले भने । कार्यक्रमको आयोजना दैविक प्रकोप राहत तथा उद्धार समिति युएईले गरेको थियो ।
प्रकाशित: ८ असार २०७२ ०३:३० मंगलबार