अभिनेता विल स्मिथले ओस्कर्स पुरस्कार वितरण समारोहमा आफूले प्रस्तोता क्रिश रकलाई थप्पड हान्नु गलत भएको भन्दै माफी मागेका छन्।
उनले एक विज्ञप्ति जारी गर्दै भने, 'क्रिश, म तिमीसँग सार्वजनिक रूपमा माफी माग्न चाहन्छु। मैले सीमा नाघेर व्यवहार गरेँ र म गलत थिएँ।'
ओस्कर्स फिल्म एकेडेमीले स्मिथको व्यवहारको भत्सर्ना र घटनाबारे औपचारिक समीक्षाको घोषणा गरेपछि उनले माफी मागेका हुन्।
हास्य कलाकार क्रिशले आफ्नी श्रीमती जाडा पिङ्केट स्मिथको मुडुलो टाउकोमाथि ठट्टा गरेपछि चर्चित अभिनेता स्मिथले क्रिसको गालामा थप्पड हानेका थिए।
क्रिशले पिङ्केट स्मिथको कपाल झर्ने समस्या, एलोपेसियाको कारण मुडुलो बनाएको टाउकोप्रति लक्षित ठट्टा गरेका थिए। उनले भनेका थिए, 'आई लभ यु जाडा। म जीआई जेन–२ को प्रतीक्षामा छु।' जीआई जेन सन् १९९७ को हलिवुड फिल्म हो जसमा फिल्मकी प्रमुख नायिकाले शिर मुण्डन गरेकी थिइन्।
घटनाको केही क्षणपछि अभिनेता स्मिथले किङ रिचर्ड नामक चलचित्रमा ख्यातिप्राप्त टेनिस खेलाडीहरू भिनस र सेरेना विलियम्सको बुबाको भूमिका निर्वाह गरेकोमा ओस्कर पुरस्कार जितेका थिए।
'हिंसाको हरेक स्वरूप विषाक्त र विनाशकारी हुन्छ,' स्मिथले इन्स्टाग्राममार्फत सार्वजनिक गरेको विज्ञप्तिमा लेखिएको छ। 'गत राति एकेडेमी अवार्डमा मैले गरेको व्यवहार अस्वीकार्य र अक्षम्य छ। ममाथि हुने ठट्टाहरू मेरो कामको एउटा अंश हो तर जाडाको स्वास्थ्य अवस्थाप्रति गरिएको ठट्टा असह्य थियो र मैले भावनात्मक रूपमा प्रतिक्रिया जनाएँ।'
स्मिथले आफ्नो व्यवहारले ‘सीमा नाघेको’ भन्दै रक, एकेडेमी र विलियम्सको परिवारसँग पनि माफी मागेका छन्।
प्रकाशित: १५ चैत्र २०७८ १५:१७ मंगलबार