समीप र दूरस्थका अनेक स्थानबाट जात्रा हेर्न उर्लेर आउने विशाल जनसमूहको उपस्थितिले सो जात्राको प्राचीनकालदेखि चलिआएको अक्षुण्ण राष्ट्रिय गरिमा र लोकप्रियताको पुष्टि सहजै मिल्छ। नेपाल मण्डलमा मनाइने कान्तिपुरको इन्द्रजात्रा, ललितपुरको मत्स्येन्द्रनाथ जात्रा र त्यसैगरी भक्तपुरको विस्काः/विस्केट जात्रा उदाहरणस्वरूप छन्।
आठ रात नौ दिनसम्म चल्ने विस्काः जात्राको शुभारम्भ दिन (चैत्र २७ गते) र समापन दिन (वैशाख ५ गते) मा नगरको मध्यभाग टौमढीटोलबाट भैरव भद्रकाली रथयात्रा गर्ने परम्परा रहिआएको छ। भक्तपुरनगर परम्परागत रूपले ‘थने’ (माथिल्लो) र ‘क्वने’ (तल्लो) गरी दुई भागमा विभक्त छ, जसको ‘दथु’ (मध्यभाग) टौमढीटोल हो। भैरवनाथको द्यःछें (देवगृह) सँगैको लाकोलाछे“ टोलमा छ। उनको शक्ति भद्रकाली ‘नकिंजु अजिमा’ को द्यःछें पनि समीपकै नकिंजुलिविमा छ।
माथिका प्रसंगमा विस्काः जात्राको शुभारम्भ दिनमा भैरवनाथलाई उनको मूलस्थानबाट विधिपूर्वक सामुन्नेको टौमढी टोलको विशाल वर्गाकार चोकमा, त्यस वर्षका लागि तयार पारिएको भैरवनाथको रथमा ल्याएर विराजमान गराइन्छ, जसलाई ‘द्यः क्वहां विज्याइगु जात्रा’ भनिन्छ। भैरवनाथको रथको अगाडि ६ वटा ‘वलाखिप’ नामकोे निकै मोटो लामो डोरी र त्यस्तै पछाडि चार वटा डोरीले बा“धिएका हुन्छन्। त्यसपछि थने र क्वनेका जनताले भैरवनाथको रथलाई ‘हसे, हैंसे’ को भीषण लयले पूरै परिवेशलाई गुञ्जायमान गर्दै आ–आफ्नो भेकमा सर्वप्रथम तानेर लाने निकै रमाइलो रोमहर्षक जात्रा आरम्भ हुन्छ। सो जात्रा हेर्न भक्तपुरका स्थानीय बासिन्दा मात्र नभएर नेपाल मण्डलका आसपासका प्रदेशबाट पनि अपार जनसागर उर्लेर हेर्न आएका हुन्छन्।
वर्तमानमा, विश्वका कुनाकाप्चाबाट विदेशी पाहुना समेत हेर्न आउने भएकाले यो जात्रा संसार प्रसिद्ध भइसकेको छ। पाँचतले मन्दिरको पाँच तहका पेटी हुन् वा टौमढीटोलको विशाल चोक, वरपरका घरहरूका पेटी, झ्यालदेखि कौशी, बार्दली लगायत उभिएर हेर्न हुने सबै ठाउँ जात्रुले पूरै ढाकिएको हुन्छ। त्यसबेला जात्रा हेर्न आएका मानिसको टाउकै टाउका मात्र देखिने जनसमूहको अप्रतीम दृश्यले यस्तो पनि प्रतीत हुन्छ, मानौं ती हजारौं लाखौं टाउका एकाकार भई समग्रमा साक्षात् भैरवनाथको चलायमान विशाल मस्तक नै हाम्रा सामु दर्शनीय हुन आएको छ। विस्काः जात्राको समापन दिनमा भैरवनाथलाई आफ्नो मूलस्थानमा विराजमान गर्न लाने परम्परा छ, जसलाई ‘द्यः थाहाँ बिज्याइगु’ भनिन्छ। यस दिनमा पनि थने र क्वनेका जन समूहले भैरवनाथको रथलाई तानेर आ–आफ्नो भेकतिर लाने उत्तिकै जोसिलो जात्रा हुन्छ।
२७ चैत २०२६, विस्काः जात्रामा थने र क्वनेका गुन्डाका बीचमा सम्पदा स्थल समेत भत्काएर त्यहाँका ढुंगा–इँटा उप्काई फुटाएर ढुंगा हानाहान गरी आतंकपूर्ण र घातक विकृति भित्रिएको पहिलो निन्दनीय कुख्यात दिन। म पनि त्यस दिनको भयावह घटनाका एक प्रत्यक्षदर्शी साक्षी हुँ। म त्यसबखत १३ वर्षको थिएँ। आमा र बहिनीसित रमाइलो विस्काः जात्रा हेर्न गएको भुल्नै नसकिने भयावह दिन!
त्यस दिनमा, भैरवनाथको रथ तान्ने जात्रा सुरु हुनुअघि नै टौमढी टोल क्षेत्र जात्रा हेर्न आएका विशाल जन समूहले भरिभराउ भइसकेको थियो। भीडलाई जसोतसो छिचोल्दै आमाले हामीलाई जंगम मठमा लिएर जानुभयो। सो मठको बरन्डा पनि मानिसले भरिनै लागेको थियो। हामी त्यहीं बसी जात्रा हेर्न, रथजात्रालाई कुरेर बस्यौं। बरन्डाबाट तल देखिने ठाउँसम्म मानिसको ठूलो भीड लागेको थियो, टाउकै टाउका मात्र देखिन्थे। त्यसरी टाउकै टाउका मात्र देखिने मानिसको बढ्दै गएको भीड आफैँमा जात्रामय भइसकेको थियो। तिर्खाएका मानिसलाई पानी खुवाउन खर्पनमा गाग्रो बोकेर घुमिरहेका धर्मात्मा मानिस पनि देखिन्थे। (अद्यापि विद्यमान यस जीवन्त संस्कृतिबारे विचार गर्दा यसले स्पष्ट रूपमा लिच्छविकालदेखि कुनै न कुनै रूपमा चलिआएको पानीय गोष्ठी परम्परालाई सम्झाएको छ)।
मेरो विशेष ध्यान भने भीडको एक कुनातिर तिलौरा बेच्न राखेको नांलो पसलतिर गएको थियो, जहाँ तिलौरा जुधाएर एक हुल मेरो उमेरका केटा रमाइलो गरिरहेका थिए। मैले आफूलाई थाम्न सकिनँ, तल पुगें। तल पुग्दा रथ तान्ने जात्रा सुरु भइसकेको थियो। मलाई लाग्छ, सबैको ध्यान भैरवनाथको रथजात्रातिर थियो भने मेरो ध्यानचाहिं नांलो पसलतिर। तर त्यो पसल कुन कुनामा पुगेर हरायो होला, थाहा भएन, म भनें त्यसलाई र तिलौरा खेल्ने केटाहरू खोज्दै जाँदा भीडमा च्यापिंदै र ठेलिंदै पाँचतले मन्दिरको दक्षिणपश्चिम कुनाको गणेश मन्दिर भएको ठाउँमा पुगेछु। नांलोपसले र केटाहरूलाई नभेटाएपछि म पनि सँगैको घरको पेटीमा उक्लेर त्यहींबाट जात्रा हेर्न थालें।
भैरवनाथको रथ भने क्वनेका जनताले तानेर जंगम मठ सामुन्ने, लक्ष्मीनरसिंह मन्दिरको भिरालो बाटोसम्म पुर्याइसकेका थिए। भैरवनाथको सिंगो रथ र विशेष गरी यसका छाना दुवैतिरको तानातानले घच्याकघुचुकको ठूलो आवाजसहित कहिले यता र कहिले उता गरी यस्तरी हल्लिरहेका थिए, मार्नौ आमाले सुनाउनुभएको समुद्र मन्थनको पौराणिक कथाका कुरा यथार्थमा आफ्नै आँखा सामुन्नेमा चलिरहेको छ।
वातावरण बडो जोसिलो र हर्षोल्लासमय थियो। तर यसैबीच भीडमाझबाट एकाएक, हसे र हैंसेको सट्टा भयले भरिएका, हलचल मच्चाउने ‘अप्पां केका हल केका हल’ (इँटाले हानेर ल्यायो, हानेर ल्यायो) स्वरहरू गुञ्जिन थाले र सँगसँगै इँटा र ढुंगा पनि बर्सन थाले। जुन भीषण रूपले बढ्दै गयो। यो नै यथार्थमा शान्तिपूर्ण ढंगले चलिरहेको जात्रालाई कुल्चन आएको दैत्यरूपी विकृतिको प्रथम दानवीय पाइला थियो। समुद्रमा आएको छालजस्तो जात्रा हेर्न आएको जनसागर अनायास छचल्कियो। मानिसको ध्यान जात्रातिर नभएर ज्यान बचाउनतिर लाग्दा भागदौड मच्चिएर धेरै बालबालिका, महिला, वृद्धवृद्धा घाइते भए। जताततै कोलाहल र भागदौड, चित्कार र पुकार । म भयमिश्रित आश्चर्य र कुतूहलताका साथ किंकर्तव्यविमुढ भएर हेरिरहें।
भागदौडका कारण, पाँचतले मन्दिरको पेटीमा जात्रा हेर्न बसेका धेरै बालबालिका, महिला, वृद्धवृद्धा पेटीबाट खसे। मान्छेमाथि मान्छे खप्टिएर तलसम्म झरे, कसैको टोपी छैन, कसैको जुत्ताचप्पल! खास्टो, फरिया फुस्केका आमाहरू आफ्ना बच्चा च्यापेर रुँदै , चिच्याउँदै भैरव भद्रकालीका नाम पुकार्दै अत्तालिंदै भागिरहेका देखिन्थे। भागदौडमा नांलोपसल कुल्चिएर भताभुंग भइसकेका थिए। तिर्खा लागेकालाई पानी खुवाउन आउने धर्मात्मा त्यहाँ थिएनन्, कुच्चिएका रित्ता गाग्रा र ती गाग्रा राख्ने खर्पन र नोल एकातिर मिल्किएका थिए। रसरंगले भरिएको रमाइलो रथजात्राको ठाउँ एकले अर्कोलाई ताकीताकी इँटाढुंगा हानाहान गरी ज्यानै लिने जात्राले लिइसकेको थियो।
केहीअघि मात्र मान्छे, रकमीहरू र पुजारी वर्गले भरिएको भैरवनाथको रथ पातहरू झरेर नांगोे रुखझैं देखिन्थ्यो। अर्को शब्दमा भन्नुपर्दा टौमढी क्षेत्र युद्ध मैदान बन्न पुगेको थियो। थने र क्वने वा भनौँ दुवैतर्फबाट असिनाका गोला वर्षे सरी इँटा–ढुंगाको वर्षा भइरहेको थियो। यस्तो प्रतीत हुन्थ्यो मानौं त्यहाँ आदिम ढुंगे युगलाई सम्झाउने पाषाण युद्ध चलिरहेको छ। इँटा ढुंगाले लागेर गम्भीर घाइते भएकालाई कोही अस्पतालतिर बोकेर लाँदै गरेका देखिन्थे भने कोही टाउको फुटेर रगताम्य घाइते पनि उत्तिकै जोसका साथ विपक्षीमाथि ढुंगा हानिरहेका देखिन्थे। र, टाउको फुटेर शिरदेखि चुहिएको रगत तल पाउसम्म पुगेका ती घाइतेलाई हेर्दा यस्तो पनि भान हुन्थ्यो, मानौं उनीहरू घाइते नभएर भर्खरै मात्र भोगबली लिएका भयानक राक्षस हुन्।
कताकताबाट पिठयूँमा बच्चा बोकेर रँदै चिच्याएर दौड्दै आएकी एक महिला गणेश मन्दिर सामुन्नेको सिंढी उक्लेर भाग्न लाग्दा त्यहीं ढलिन्। तिनलाई ढुंगाले लाग्यो, लागेन थाहा भएन। तर तिनकै सामुन्नेबाट भाग्दै गरेका एक मानिसले केही पर पुगेर पनि फनक्क फर्केर आई ती महिलालाई उठाएर सुरक्षित स्थानतर्फ लिएर गए। मलाई यस्तो लाग्यो, मानवता त पाशविक दानवीय युद्धमा पनि मर्दो रहेनछ। त्यो मान्छे को रहेछ म चिन्दिनँ तर त्यस घटनाले मलाई मानवता, मानव धर्मको पाठ सिकाएर गयो। तत्क्षण मैले मेरी आमा र बहिनीलाई सम्झे।
जसोतसो इँटाढुंगाको मारबाट बच्दै जंगम मठमा पुगें। ढोका लागेको थियो, पर्खाल नाघेर भित्र छिरें। माथि बरन्डा भएको कोठाभित्र धेरै मानिस डरले एक ढिक्का भएर बसेका रहेछन्।त्यहाँ आमा र बहिनीलाई देखेपछि मन आनन्द भयो। आमाले भने मलाई बेस्सरी हप्काउनुभयो र सकुशल देखेकामा खुसी हुनुभयो। कोठाबाहिर बरन्डामा पेट्रोम्याक्स बलिरहेको थियो। अरू ठाउँका बिजुलीबत्ती र पेट्रोम्याक्स अघि नै इँटाले लागेर फुटिसकेका थिए, रात लम्बिँदै जाँदा टौमढीचोक अन्धकारमय भइसकेको थियो। बेलाबखत भैरव मदिर सामुन्नेको ठूलो घन्टा जोडजोडले बज्ने गर्दथ्यो, मानौं शत्रुपक्षलाई लखेट्न, हराउन सकेकामा उन्मादपूर्वक घन्ट बजाएर युद्ध विजयोत्सव मनाइरहेका हुन्।
हेर्दाहेर्दै कताकताबाट आएको इँटाले लागेर बरन्डामा झुन्डिएको पेट्रोम्याक्स पनि झर्यामझुरुम हुने गरी फुट्यो, खसेर तल सडकमै बजारिन पुग्यो। डरले सबै थर्कमान भए। त्यसको एक घन्टा जति बित्यो होला, बाहिर ढुंगेयुद्ध मत्थर भएको जस्तो देखियो। कोठाभित्र बसेका केहीले बिस्तारै ढोका खोलेर, बरन्डाबाट बाहिरको गतिविधि हेर्न थाले।
म पनि चियाएर बाहिर हेर्न थालें। फाट्टफुट्ट इँटा–ढुंगा हानेको, मानिस कराइरहेको आवाज आइरहेको थियो। त्यसै बीचमा एक हुल मानिस परबाट ‘स्या स्या, जुकि जुकि’ (मार मार, हान हान) भन्दै एक मानिसलाई लखेट्दै आइरहेको देखें। त्यो मान्छे जंगम मठको सामुन्ने, लक्ष्मीनरसिंह मन्दिरको ओरालो बाटोमा अडिएको भैरवनाथको रथको पांग्रामुनि गएर लुक्यो।
लखेट्दै आएका मानिस पनि रथमा पुगेर रोकिए, यताउति हेर्न थाले र उत्नि खेरै त्यो एक्लो र लाचार मान्छेलाई ब्वाँसोको झुन्डले लखेट्दै गरेको मृगलाई भेटाएर लुछेझैं उस्तै भेटाइहाले र सबैले भक्कुमार पिटे। त्यो मान्छे एकैछिनमा लल्याकलुलुक भएर भुइँमा ढल्यो। उसको मुख रक्ताम्य देखिन्थ्यो। त्यति भएर पनि ढुंगाको मन भएका ती निर्दयी मान्छेले उनलाई छाडेनन्। तीमध्येका चारजनाले त्यो मान्छेको हातखुट्टा बलिमा चढाएको बोकालाई जस्तै समाएर जताबाट लखेटेर ल्याएका थिए, उतै लिएर गए।
आजभन्दा ५२ वर्षअघि आफ्नै आँखा अघिल्तिर घटेको त्यो भयावहपूर्ण बीभत्स घटनालाई सम्झीसम्झी यो पंक्ति लेख्दा यस्तो पनि प्रतीत भइरहेको छ मानौ त्यो केही अघि मात्र घटेको घटना हो। विस्काः/विस्केटको नाम लिंदा मलाई जहिले पनि झस्किने गरी त्यही घटनाको विशेष याद आउँछ र अहिले पनि आफ्नै मनसित सोध्ने गर्छु– ‘त्यो मान्छेलाई मुटु नभएका ती मान्छेले किन लखेटी लखेटी मरणासन्न हुने गरी पिटे होलान्? उनको हबिगत के भयो होला? मरे होलान् कि बाँचे होलान?’
युद्धमय त्यो रात जंगममठमै बित्यो। भोलिपल्ट बिहानै आमाले हामीलाई उठाउनुभयो। मठबाट बाहिर आएपछि हिजोदेखि तर्सिरहेको मनले डराउँदै चारैतिर हेरें, ढुंगे–युद्ध सायद उज्यालो हुनुअघि नै समाप्त भइसकेको थियो। मन हलुका भयो। हिजो युद्धक्षेत्र बनेको टौमढी परिसरको परिस्थिति युद्धपछिको जस्तो नियास्रो लाग्ने, सुनसान र उराठलाग्दो थियो।
चोक, बाटो र गल्लीका कुनाकाप्चा हिजो हानेका ढुंगा–इँटाका टुक्राले पूरै भरिएका थिए। वरपरका घर, सत्तल र मन्दिरका भित्ता हानेर ल्याएका ढुंगा–इँटाले लागेका अनगिन्ती दागले गर्दा छ्याकटे भइसकेका थिए। बाटोमा यत्रतत्र रगतका छिटा, ज्यान बचाउन भाग्ने क्रममा छुटेका जुत्ताचप्पल, टोपी, खास्टो आदि असरल्ल देखिन्थे।
विस्काः जात्रा सकिएको धेरै दिन बितिसक्दा पनि सहर–बजारतिर टाउकामा पट्टी बाँधेका, हातखुट्टामा प्लास्टर लगाएका मानिस देखिन्थे। तिनीहरू त्यस दिनको ‘ढुंगा हानाहान’का क्रममा घाइते भएका मानिस हुन् भनी सहजै अनुमान लाउन सकिन्थ्यो।
यस प्रकार २०२६ सालदेखि विस्काः जात्रामा भित्रिएको विकृति केही अपवादलाई छाडेर हरेक वर्ष कहिल्यै निको नहुने घाउ जस्तै बल्झिंदै आएको छ, मानौं यो पनि जात्राकै एक अभिन्न भाग हो। नयाँ पुस्तामा त झन् विस्काः जात्रा भनेको ‘ढुंगा हान्ने जात्रा’ हो भन्ने भ्रम फैलिन पुगेको देखिन्छ। यो जस्तो विडम्बना अरू के हुन सक्ला ! केही अपवादको कुरा गर्ने हो भने ०३८/०३९, ०४६/४७ र ०५६/५७ का वर्षमा बिनाढुंगा हानाहान, शान्तपूर्वक सम्पन्न भएका विस्काः जात्रा प्रेरक एवं अविस्मरणीय उदाहरण हुन्। २०३/३९ को विस्काः जात्रा व्यवस्थित एवं शान्तपूर्वक सुसम्पन्न हुनुको मुख्य कारण व्यापक जनसहभागिता थियो। सत्यनारायण प्रजापति लेख्छन्, ‘यस जात्रा सरकारी तरिकाबाट भन्दा गैरसरकारी जन सहभागिताबाट राम्ररी चल्न सक्दो रहेछ भन्ने प्रमाण ०३८/३९ सालमा सम्पन्न भएको बिस्केट जात्राले प्रमाणित गरेको छ। सरकारी सहयोगबिना व्यापक जनसहभागिताको आडमा चलेको यसपल्टको बिस्केट जात्रामा ढुंगा हानाहान भयो भन्ने अप्रिय खबर कसैले सुन्नुपरेन’ (‘विस्केट जात्रा’, नेपाली संस्कृति, ६/१/२०४६, पृष्ठ ३४)।
०४६/४७ सालको विस्काः जात्रामा ढुंगा हानाहान नहुनुको मुख्य कारण २०४६ सालको शान्तिपूर्ण जनआन्दोलन थियो। सो आन्दोलन २०४६ साल फागुन ७ देखि चैत्र २६ सम्म चलेको थियो। चैत्र २६ गते राजा वीरेन्द्र र आन्दोलनका नेताबीचमा भएको सम्झौता अनुसार नेपालमा निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य र संवैधानिक राजतन्त्रात्मक बहुदलीय व्यवस्थाको आरम्भ भयो। नेपालको राजनीतिक इतिहासमा जनताले आफ्नो वास्तविक जनशक्ति र जनसत्ता अपरिहार्य र सर्वोपरी रहेछ भनी थाहा पाएको प्रथम ऐतिहासिक दिन थियो त्यो।
यथार्थमा अधिकारपूर्वक निर्धक्क भएर जनता हा“सेको पहिलो दिन थियो त्यो। सम्पूर्ण राजनीतिक दलहरूको सिद्धान्त र विचार फरक फरक भए पनि एउटै लक्ष्य हासिल गरी असलमा सबैको मन मिलेर एउटै मन भएको दिन थियो त्यो। अद्भुत संयोगको कुरा हो, त्यसै दिनको भोलिपल्ट अर्थात् चैत्र २७ गते भक्तपुरमा हुने विस्काः जात्राको शुभारम्भ दिन, भैरवनाथको रथयात्रा हुने दिन हुन आयो त्यो दिन।
जनआन्दोलन सफलताको खुसियाली नै मान्नुपर्छ, त्यस वर्ष थने र क्वने दुवै भेकका जनता मिलेर आपसी सद्भाव एवं भाइचाराका साथ शान्तिपूर्वक विस्काः जात्रा मनाए, ढुंगामुढालाई सबैले बिर्सिदिए। विस्काः जात्रामा हरेक वर्ष भित्रिने विकृतिलाई सहजै पन्छाउन राजनीतिक दलहरूको भूमिका कति महत्त्वपूर्ण हुँदो रहेछ भन्ने सन्देश शान्तिपूर्वक सम्पन्न भएको त्यस वर्षको बिस्काः जात्राले दिएको देखिन्छ। त्यसै गरी ०५६/५७ सालको विस्काः जात्रामा बिनाढुंगा हानाहान शान्तिपूर्वक सम्पन्न हुनुको एउटा मुख्य कारण प्रहरी प्रशासनद्वारा विशेष रूपमा परिचालन गरिएको उपयुक्त सुरक्षा प्रबन्ध थियो।
तत्कालीन भक्तपुरका प्रहरी उपरीक्षक एवं ‘यो नगर भक्तपुर’का प्रसिद्ध गीतकार मेरा मित्र श्री नारायणकुमार आचार्य भन्छन्, ‘ढुंगा हानाहान हुनुका प्रत्येक कारक तत्त्वलाई केलाई सोहीअनुरूप सुरक्षाको प्रबन्ध मिलाउन सफल भएकाले सो वर्ष ढुंगा हानाहान हुन पाएन, सबैले शान्तिपूर्वक हर्षोल्लासका साथ विस्काः जात्रा मनाउन पाए। मेरो कार्यकालको अविस्मरणीय वर्ष त्यो रह्यो। सबै राजनीतिक दलहरू, स्थानीय प्रशासन र भक्तपुरवासीको असीम माया, जनसहयोग समर्थन मैले पाएँ।’ जनगुनासोलाई अन्तर्मनदेखि आत्मसात् गरी, दमन होइन, जनभावनाको कदर गरी, जनतासित मिलेर चुनौतिको सामना गर्नतिर लागी तदनुरूप प्रहरी प्रशासनले दत्तचित्त भएर आफ्नो कर्तव्य पूरा गरेमा पनि विस्काः जात्रामा भित्रिएको विकृतिलाई पन्छाउन सकिने रहेछ भन्ने सन्देश ०५६/५७ को विस्काःजात्राले दिएको देखिन्छ।
टौमढीटोल क्षेत्रका प्राचीन शैव सम्पदा र अभिलेखका आधारमा विस्काः जात्रा यसै टोल क्षेत्रमा विशेष रूपले आबद्ध रहिआएको कुरा जानिन्छ। सोही अनुरूप उत्तरमध्यकालमा थपिएको भैरव भद्रकालीको रथजात्रा पनि उदाहरणस्वरूप छन्। १९९० साल अघिसम्म पनि भैरवनाथको रथ टौमढीटोलबाट बोलाछेँटोलको बुलुचासम्म र क्वाछेँटोलको मय्जु देगःसम्म मात्र चलाउने परम्परागत रीत थियो।
भूकम्पपछि बाटो फराकिलो हुँदै गएपछि सो परम्परा पनि लोप हुन पुग्यो, (प्रजापति, बिस्केटजात्रा, ०६/१/०४६, पृष्ठ ३१)। वर्तमानमा सो मल्लकालीन परम्परा उल्लंघन भई थनेको तचपाः टोलसम्म र क्वनेको भार्वाचोसम्म लाने गरेको देखिन्छ। यदि पुरानै मल्लकालीन परम्परा अनुसार उक्त इलाकासम्म रथ चलाउने हो भने विस्काः जात्रामा भित्रिएको विकृति स्वतः हट्ने कुरामा दुई मत नहोला।
प्रायः हरेक वर्ष साँझ परेपछि मात्र रथ तान्ने गरिन्छ। यसो गर्दा ढुंगा हानाहान गर्ने गुन्डा बदमासले प्रोत्साहन पाएको देखिन्छ। यसैले सम्बन्धित पुजारी वर्गले समयमै विस्काः जात्राको तान्त्रिक विधिविधान पूरा गरी मध्याह्नकालमै रथयात्रा गर्न सकेमा ढुंगा हानाहान लगायत अन्य अप्रिय घटना निश्चित रूपमा रोक्न सकिन्छ।
रथमा सम्बन्धित पुजारी वर्ग, रकमी लगायत सांस्कृतिक समूहबाहेक अरूलाई हुल्न, बसाल्न नदिएमा, जात्रा स्थलमा स्थानीय स्वयंसेवक परिचालन गरेमा पनि सदाका लागि अर्वुद जस्तो विकृतिको गाँठोलाई फाल्न सकिन्छ भन्नेमा दुई मत नहोला।
समग्रमा भन्नुपर्दा हातका पाँच औलामध्ये एउटाले काम गरेन भने काममा बाधा पुग्छ। हातका पाँचै औंलाको उचित तालमेल र एकीकृत शक्तिले कुनै पनि काम बन्छ। विस्काः जात्रामा पनि स्थानीय जनता, प्रहरी, स्थानीय प्रशासन, राजनीतिक दलहरू र पुजारी वर्गका बीचमा पारस्परिक तालमेल मिलाएर बेलैमा कार्य सम्पादन गरी आ–आफ्नो जिम्मेवारी निर्वाह गरेमा हरेक वर्ष हुने विकृति (ढुंगा हानाहान र अप्रिय घटना)लाई सदाका लागि समाप्त पार्न सकिन्छ।
कसले भन्छ, जीवन जात्रा होइन भनेर १ अल्प क्षणको जीवनका हरेक क्षण जात्रा नै त हुन्। जात्राबिनाको जीवन कहाँ पो रसरंगले भरिएको हुन्छ ! विस्काःलाई नै हेरौं न, त्यहाँ पनि जीवनको रसरंग छ। सायद यसैले, अब कहिल्यै पनि विस्काः जात्रा हेर्न नपाउने गरी राज्य छाडेर जानुपर्ने संघारमा पुगेर एक्लिएका बूढा राजा रणजित मल्लको जीवन कति निरस भयो होला, अन्तर्मनदेखि उर्लेर आएकोे विस्काः विरह वेदनाले उनी कति रोए, रन्थनिए होलान् भन्ने कुरा उनीद्वारा नेपालभाषामा विरचित ‘थ्वथेंः जागु रस गबलय सं दई मखु राम हा जि गन वने’ (यस्तो रस कहिले पनि हुने भएन राम हा म कहाँ जाऊँ नामक विरह गीत (जुन गीत अद्यापि विस्काः जात्राताका गाउने प्रचलन रहिआएको देखिन्छ ।) को तल प्रस्तुत मार्मिक उद्धरणबाट स्पष्ट अनुभूत गर्न सकिन्छ, (भक्तपुर नगरपालिका, २०७८, ‘थ्व थें जागु रसं– म्यें’, ख्वपको पहिचान, भाग २, पृष्ठ २७८)।
ल्होसिंखेले ल्होसिं थःन चुपिंगाले म्वःलाः ल्हुया।
व यां च्वय भैरव दर्शन याय प्रभु राम हा जी गन वने।
थ्वंःथे ज्यागु रसं गवलेसं दई मःखु राम हा जी गन वने।
अर्थात्, योसिंखेलमा लिंगो उठ्यो, चुपिंगालमा नुहाएँ
त्यस देखिमाथि भैरव दर्शन गर्छु प्रभु राम हा म कहाँ जाऊँ,
यस्तो रस कहिल्यै पनि हुने भएन राम हा म कहाँ जाऊँ ।
प्रकाशित: १२ चैत्र २०७८ ०३:०१ शनिबार





