२ भाद्र २०७९ बिहीबार
कला

चलचित्र

कथा

जय! मलाई माफ नगर, म माफी दिन लायक छैन। कृपा गरेर यो चिठी पूरै पढिदेऊ। म तिमीजस्तो अंग्रेजी साहित्यकी विद्यार्थी होइन, मलाई तिमीलाई जस्तो साहित्य आउँदैन, यहाँ म मेरो पीडा लेख्दैछु, कथा–कविता होइन।

मलाई केही भन्नुछ र आफूलाई रित्तो पार्नुछ। सधैँभरि म तिम्रो मायाको डोरीले कसिएर तड्पन चाहन्नँ। घरीघरी आउने तिम्रो सम्झनाको झोक्काको चोटले लड्दै र उठ्दै गर्न चाहन्नँ। बरु आऊ, मेरो अनुहारभरि थुकेर जाऊ, मेरो शरीरभरि हिलो छ्यापेर जाऊ—पखालिएर म हल्का हुनेछु। मलाई बेसरी गाली गरेर एउटा पत्र लेखेर पठाऊ—पढेर म शान्त हुनेछु। आज म तिम्रो माया र सम्झनाको आँधीहुरीले अशान्त छु।

केही दिनअघि काठमाडौंमा तिम्रो दाइलाई भेटेकी थिएँ। मैले उहाँलाई नमस्ते गरेँ। उहाँले नमस्ते फर्काउँदै भन्नुभयो, ‘ज्योति बहिनी, आराम हुनुहुन्छ? घरतिर बुवाआमालाई कस्तो छ?’

मैले सबै राम्रो भएको बताएँ। म उहाँसँग तिम्रो बारेमा कुरा गर्न चाहन्थेँ, तर मौका मिलेन।

गएको दशैँमा तिम्रो घरमा गएकी थिएँ। तिम्रा बुवाआमा दुवैले दुईवटा मेसिन हाराहारी राखेर लुगा सिलाउँदै हुनुहुन्थ्यो। आमा–बुवा भनी सम्बोधन गर्दै मैले दुवैलाई नमस्कार गरेँ। बुवाले मेरो नमस्ते फिर्ता गर्नुभयो, तर केही बोल्नुभएन। आमाले टेढा आँखाले पनि मलाई हेर्नुभएन। पहिले कति मायाले मेरो मन चोर्दै बोल्नुहुन्थ्यो—ज्योति नानी ! उता बजारमा जयले चुरोट खान्छ, हो? खै कता कि केटीतिर लागेको छ भन्ने हल्ला सुनेकी छु। हजुरलाई थाहा छ कि, को केटी रैछ त्यो? कस्ती केटी हो! जस्ती भए पनि हामी सासु–ससुरालाई हेला गर्ने नपरोस्।

थाहा छैन भन्दै म मुसुमुसु हाँस्थेँ। उहाँले मेरो हाँसोलाई चियाउनुहुन्थ्यो। यसपालि त उहाँले मलाई अपराधीलाई जस्तै व्यवहार गर्नुभयो।

यहाँ तीन पात्रलाई हेर त ! सरकारी अधिकृत भएर होला, तिम्रो दाइ कति कूटनीतिज्ञ ! नचाहेर पनि उहाँ मसँग हाँसेर बोल्नुभयो। तिम्रो बुवा कति व्यावहारिक ! मसँग केही नबोले पनि उहाँले नमस्ते फिर्ता गर्नुभयो। उहाँलाई थाहा छ—समाजमा मिलेर वा मिलाएर बस्नुपर्छ, हाम्रो को छ र !

तर, तिम्री आमा ! उहाँले मप्रति नाकैमा रिस र घृणा लिनुभएको छ। आखिर पवित्र र कमलो मन हुने कमजोर स्त्रीले गर्ने यही त हो। त्यो उहाँको मप्रतिको रिस र घृणा होइन, तिमीप्रतिको माया र प्रेम हो। निर्दोष तिमी, मेरा कारण ६ महिना जेल बस्यौ। मैले तिमीप्रति गद्दारी गरेँ, तिमीलाई धोका दिएँ, मलाई कहिल्यै माफ नगर..।

पत्र लामो थियो। एकातिर मात्र लेखिएका २० वटा पाना थिए। पत्रको अन्तमा लेखिएको थियो—यो पत्रलाई प्रमाण बनाएर तिमी अदालत जाऊ र क्षतिपूर्ति माग गर। पत्रको अन्त्यमा ज्योतिको हस्ताक्षर र औँठाछाप पनि थियो।

०००

जयले पोखरामा अंग्रेजी साहित्यमा स्नातक गर्दै थिए, एक निजी विद्यालयमा पढाउँथे पनि। अभिनयमा उनको सोख थियो। गाउँमा उनले आफ्नो अभिनय प्रतिभा देखाएका थिए। स्कुलको वार्षिक उत्सवमा उनले आफैँ नाटक लेखी, अभिनय र निर्देशन गरी प्रस्तुत गर्थे। वरपर गाउँमा हुने सांस्कृतिक कार्यक्रममा पनि उनले नाटक देखाउँथे। यही प्रतिभाका कारण आफूभन्दा दुई ब्याच मुनिकी ज्योतिले उनलाई मन पराउँथिन्। ज्योतिले आफूलाई मन पराएको आभास जयले पनि पाएका थिए। प्रेम र घृणाको आभास छिटै गर्नु मानिसको नैसर्गिक गुण हो।

स्कुल पढ्दासम्म उनीहरूबीच हेराहेर मात्रै भयो, बोलचाल भएन। जय र ज्योतिले जुन स्कुलमा पढ्थे, त्यहीँ ज्योतिकी आमा वसुन्धरा शिक्षिका थिइन्। समाजमा ज्योतिको परिवारको ठूलो प्रभाव र प्रताप थियो। त्यसैले ज्योतिसँग बोलिहाल्ने हिम्मत जोकोही केटाले गर्दैनथे। त्यसमाथि समाजमा तल्लो भनिएको जातको जयले ज्योतिलाई भेटेर प्रेमका कुरा गर्ने हिम्मत गर्न सकेनन्।

गाउँमा १० सम्मको पढाइपछि जय सदरमुकाम आए। सदरमुकाममा उनका दाइ विजयले पढ्दै र सरकारी जागिरको तयारी गर्दै थिए, सँगसँगै आफ्नो पढाइ खर्चका लागि सिलाउने काम पनि गर्थे।

जयले दाइसँग बसेर पढ्न थाले। यहीबीचमा विजयले नायब सुब्बामा नाम निकाले। उनको पहिलो नियुक्ति नजिकैको अर्को जिल्लामा भएको थियो। दाइ जागिरमा गएपछि जय सदरमुकाममा एक्लै बस्न थाले।

एकपटक गाउँबाट सदरमुकाम आउँदै गर्दा गाडीमा जय र ज्योतिको भेट भयो। कच्ची सडक थियो, महिन्द्रा जिपको छतमा उनीहरू सँगै बसेका थिए। घुम्तीमा गाडी हलचल हुँदा ज्योतिले जयलाई समाउँथिन्। वरपरका पहाड, पहाडको शिर र फेदीमा देखिने गाउँ–बस्तीले उनीहरूलाई प्रेमको बस्ती बसाउन उक्साउँथे।

त्यही दिन उनीहरू फोन र फेसबुकमा जोडिए। गफ र भेटघाट बाक्लिन थाल्यो। ज्योति पनि सदरमुकाममा बसेर पढ्न थालेकी थिइन्। समय, व्यवहार र आवश्यकताले उनीहरू नजिकिँदै गए। सम्बन्ध पनि एउटा कोटा हो, कोही न कोही चाहिन्छ र भेटिन्छ। एउटासँग सम्बन्ध राम्रो नभए समयसँगै अर्को व्यक्ति आउँछ। आखिर दुःख र सुख मिल्दासम्म साथी हुने हो। एउटाको दुःखको पारो वा सुखको पारो बढ्दै गयो भने मानिसलाई त्यसैले टाढा बनाउँछ, चाहेर पनि भेट हुन दिँदैन।

दुई वर्षसम्म ज्योति र जय गहिरो प्रेम सम्बन्धमा रहे। बिस्तारै उनीहरूको प्रेमको आगोको धुँवा उड्न थाल्यो। धुँवा ज्योतिको घरसम्मै पुग्यो।

दमै केटोसँग ज्योति प्रेममा परेको र बिहे गर्ने अवस्थामा पुगेको खबरले ज्योतिको परिवार रन्थनिन पुगेको थियो। मानिसले भन्दैमा पत्याइहाल्नुपर्ने आधार त केही थिएन, त्यसैले ज्योतिको परिवारले पहिले ज्योतिको चियो गर्ने निर्णय गर्‍यो। अरूका कुरा सुनेर उमेर पुगेकी छोरीलाई केही भनिहाल्दा कथाले अर्कै रूप लिन सक्छ। जमाना बदलिएको छ, छोरी उसैसँग फ्याट्ट हिँडिदिई भने परिस्थिति आफ्नो वशबाट उम्कन्छ—यही सोचेर छोरीको चियोका लागि वसुन्धरा सदरमुकाम पुगिन्।

सदरमुकाममा ज्योति आफन्तकहाँ बस्थिन्, एक्लै सुत्थिन्। छोरीलाई भेट्न गएको पहिलो दिनमै वसुन्धरालाई आभास भयो—ज्योतिका आँखा र अंगअंगबाट प्रेमको धुँवा पुतपुताइरहेको थियो। सामान्य सिद्धान्त हो– जहाँ धुँवा हुन्छ, त्यहाँ आगो अवश्य हुन्छ। अब उनलाई पत्ता लगाउनु थियो, मेरी छोरीको हृदयमा प्रेमको आगो कसले झोँस्यो? यसमा उनले धेरै चियो गर्नैपरेन। आमाले चियो गरेको बुझेपछि ज्योतिले नै भनिन्, ‘हो आमा, मैले जयलाई सानैदेखि मनपराउँथेँ।’

यो कुरा ज्योतिले आमालाई साँझपख सुनाएकी थिइन्, त्यसको चार घन्टा नबित्दैै गाउँदेखि जिप आइपुग्यो। जिपमा केही मानिस आए र ज्योतिलाई घर पुर्‍याए। घरमा ज्योतिको परिवारदेखि केही विश्वासिला आफन्त र मावलीसम्म जम्मा भएका थिए। सबैले एक स्वरमा भने— दमैलाई हामीले ज्वाइँ स्विकार्न सक्दैनौँ। हाम्रो इज्जतको सवाल छ, यो मायामोहलाई बिर्सिदेऊ र हामीले भनेको केटासँग विवाह गर।

ज्योतिले मानिनन्। उनले बारम्बार भनिन्, ‘मैले विवाह गरेँ भने जयसँग गर्छु, नत्र बूढीकन्या बस्छु।’

परिवार र आफन्तले आफ्नो चियो गरेको सुइँको ज्योतिले सुरुदेखि नै पाएकी थिइन्। आफूले जयलाई मन पराउने कुरा आमालाई बताएलगत्तै उनले जयलाई म्यासेज गरिन्—हाम्रो सम्बन्ध घरमा थाहा भयो, तिमी तयार हुनू, हामी केही दिनका लागि कतै टाढा भाग्नुपर्छ।

म्यासेज पाएपछि जय आत्तिए। ज्योतिले अर्को म्यासेज गरिन्—सायद मलाई आज घर लैजाँदै छन्। अब के हुन्छ, थाहा छैन।  

जय पनि मोटरसाइकलमा आफ्नो घर आए। यता मोबाइल खोसेर ज्योतिलाई घरको एउटा कोठामा थुनिएको थियो। मानिसमा आँट हुनुपर्छ, एउटा ढोका थुनियोस्, हजार ढोका खुल्छन्।

ज्योतिका दुई कमजोरी थिए— सुनसान रात र उचाइसँग डराउने। त्यसैले उनलाई घरको सबैभन्दा माथिल्लो तलामा राखिएको थियो। उनको कमजोरी परिवारका सबैलाई थाहा थियो। त्यसैले परिवारका सबै विश्वस्त थिए—ज्योति रातमा घरबाट निस्कन र झ्यालबाट तल झर्न डराउँछे। भयो उल्टो, मध्यरातमा सबै मस्त निद्रामा भएका बेला ज्योति घरको झ्यालमा डोरी बाँधेर झुन्डिँदै तल झरिन् र जयको घरमा पुगिन्। जहाँ प्रेम प्रबल हुन्छ, त्यहाँ प्रेमसँग डर पनि डराउँछ।

त्यसपछि उनीहरू काठमाडौंतिर हानिए। काठमाडौंको एक होटलमा बसी सात दिन लगाएर उनीहरूले डेरा खोजे। डेरापछि जयले जागिर खोज्दै थिए, एक साँझ उनीहरूको कोठामा प्रहरी आयो र दुवैलाई लिएर गयो। जय प्रहरी हिरासतमा थिए, ज्योतिलाई भने छाडिएको थियो। सात दिनपछि उनलाई भेट्न उनका दाइ विजय आइपुगे। ज्योतिले आफूमाथि जयले हिंसा र कुटपिट गरेको उजुरी प्रहरीमा दिएकी रहिछन्। जय पक्राउ परेको खबर परिवारमा पुर्‍याइएको रहेछ, त्यसैले विजय आएका थिए।

उजुरीबारे सुनेपछि जयले ठाने— ज्योतिले कुनै नयाँ चाल रचिन्, वा कुनै अप्ठेरोमा परिन्। जेहोस्, मैले यो उनको आरोप स्वीकार गर्छु।

भाइले नै आरोप स्वीकार गरेपछि दाइ आफ्नो काममा फर्किए। जयलाई ६ महिना जेल हालियो। यो बीचमा आफूलाई भेट्न ज्योति आउँछिन् कि भन्ने जयलाई आशा थियो, तर उनको आशा निराशाको भट्टीमा खरानी बन्न पुग्यो। ज्योतिलाई भनिएको रहेछ, अब कुलघरानकै इज्जतको सवाल भयो, तैँले मान्दिनस् भने हामीले जयलाई गुन्डा लगाएर मारिदिन्छौँ।

देशको राजनीतिदेखि प्रहरी प्रशासन, अदालतसम्म ज्योतिको परिवारको पहुँच थियो। ज्योतिले निर्णय गरिन्– मेरो मायालुको हत्या भएको हेर्न सक्दिनँ, बरु जेलै बसून्।

कुनै दुर्घटना हुन नदिन परिवारले भनेबमोजिम ज्योतिले जयविरुद्ध उजुरी दिएकी थिइन्। त्यसपछि परिवारले खोजेको केटोसँग विवाह गरिन्। उनका श्रीमानको काठमाडौंमा ट्राभल एजेन्सी थियो, ज्योतिले काठमाडौंकै एक निजी स्कुलमा पढाउन थालेकी थिइन्।

चिठीमा सबै वृत्तान्त लेखिएको थियो। चिठी पढेर जय भावुक भए। महिलाहिंसा गरी जेल परेको भनी उनलाई जागिरबाट निकालिएको थियो। त्यसपछि उनले बाआमा र दाइसँग केही पैसा लिएर काठमाडौंमा एउटा सानो स्टेसनरी पसल चलाएर बस्न थाले।

संयोग, ज्योतिले पढाउने स्कुलदेखि जयको स्टेसनरी पसल नजिकै थियो। एक दिन, सानी बालिका आएर जयलाई एउटा खाम दिइन् र भनिन्—ज्योति म्याडमले दिनुभएको।

पर सडकछेउमा ज्योति उभिएकी थिइन्, तर उनको मुहारमा पहिलेजस्तो ज्योति थिएन।

०००

जय एक्लै बस्न रुचाउँथे, घर–परिवारसँग त्यति सम्पर्क गर्दैनथे। उनी मानसिक रोगी हुन पुग्छन् कि भन्ने चिन्ता परिवारलाई थियो।

यो बीचमा जयका दाइ विजयले अधिकृतमा नाम निकालिसकेका थिए, विकट जिल्लामा उनको नियुक्ति थियो। सरुवा मिलाएर उनी काठमाडौं आए। काठमाडौंमा जागिरसँगै एमपिए र एमफिल गर्नु थियो। काठमाडौंमा भाइको कोठा साँगुरो र अस्तव्यस्त देखेपछि उनले बेग्लै दुइटा कोठा लिएर बस्न थाले। उनकी श्रीमती जिल्लातिर सरकारी शिक्षक थिइन्। कहिलेकाहीँ श्रीमती आउँदा आनन्दले बस्न मिल्ने र कसैको दख्खल नहुने खालको कोठा विजयले लिएका थिए।

डेरा गरी बसेको तीन महिनापछि घरबेटीले विजयको जात थाहा पाए। सरकारी अधिकृत भनेकाले सुरुमा उनको जात सोधिएको थिएन। जात थाहा पाएपछि घरबेटीकी बुहारीले नम्र भाषामा स्पष्ट भनिन्—हाम्रो घरमा बूढा भएका बाआमा हुनुहुन्छ, धर्मकर्म–पूजापाठमा आस्था गर्नुहुन्छ। सानो जात भनेपछि उहाँहरूको मनले मान्दैन। घर बिटुलो भयो भन्न थालिसक्नुभएको छ। अब उहिलेदेखि मान्दै आएको चलन। हामीलाई त त्यस्तो केही छैन, मेरो बुढो प्रहरी इस्सपेक्टर हुनुहुन्छ, मेरो बुटिक र ब्युटिपार्लर छ, हामी बुझ्ने नै छौँ, तर सासुससुराले मान्नुहुन्न। यहाँले छिटोभन्दा छिटो कोठा खालि गरिदिनुपर्‍यो।

साँझपख यति भनेर घरबेटीकी बुहारी गइन्। विजय रनभुल्लमा परे। सानो जात भएकाले म यो घरमा बस्नुभएन र छाडिदिनुपर्‍यो! देशमा नयाँ कानुन छ, नयाँ संविधान छ, गणतन्त्र छ र समावेशीको अभ्यास छ। प्रत्येक व्यक्तिको अधिकार र मानवीय मर्यादामा समान हुने सिद्धान्त राज्यले अवलम्बन गरेको छ। कानुन अनुसार प्रथा, परम्परा, धर्म, संस्कार, जातजाति आदिका आधारमा कसैलाई जातीय भेदभाव तथा छुवाछूत गर्न पाइँदैन। तर यो घरमा त्यो कुनै कुरा लागू हुँदैन, किनकि यहाँका मानिसको सोच परम्परागत छ। यस घरमा मजस्तै अर्को मानिस बस्न हुन्छ, तर म सानो जात भएकाले बस्न हुँदैन। यो समाजका केही मान्छेका मान्यतामा म मान्छे नै होइन। यस घरका मानिसलाई कथित ठूलो जात रहिरहन दिन मैले आफूलाई सानो जाति स्वीकार गरिदिनुपर्ने!

कार्यालयबाट भर्खर डेरा फर्केका विजयले खाना बनाए, खाए, खाएको भाँडा माझे र ओछ्यानमा पल्टिए। आफूमाथि भएको जातीय विभेदले उनलाई बिथोल्दै र पोल्दै गयो। उनी निदाउन सकेनन्। भोलि बिहानै कार्यालय जानुपर्ने कार्यक्रम सम्झे। संयोगवश, उनको कार्यालयले जातीय भेदभाव तथा छुवाछुतको अवस्थामाथि गोष्ठी गर्दै थियो, त्यसको तयारीका लागि उनलाई भोलि बिहानै कार्यालय जानु थियो।

भोलिपल्ट गोष्ठीमा विभिन्न कुरा उठे। विजयले पनि आफूमाथि भर्खरै भएको जातीय विभेदको घटना सुनाए। सबैले सल्लाह दिए, ‘तपाईं जतिको सरकारी अधिकृतमाथि त विभेद हुन्छ, अरूको हालत के होला ? उजुरी गर्नुस्, विजयजी!’

उजुरी गरिहाल्ने पक्षमा विजय थिएनन्। आखिर यो झमेला गरेर पनि यहाँ बस्न पाउने होइन, उजुरी गरेपछि प्रमाण खोजिन्छ। कति जातीय विभेद प्रमाणित हुँदैनन्, विभेदको अनुभूति मात्रै हुन्छ।

साथीहरूको सल्लाहलाई पन्छाएर विजय अर्को कोठा खोज्नतिर लागे। काठमाडौंमा तत्कालै भनेजस्तो कोठा पाउन मुस्किलै थियो। कोठा खोज्दाखोज्दै महिना दिन बित्यो, घरबेटीकी बुहारी दिनहुँजसो आएर कोठा सर्न भनिरहन्थिन्।

आफूले यो समाजमा मान्छेको दर्जा नपाएको महसुस विजयले गरे, अन्ततः प्रहरीमा उजुरी दिए। उनको उजुरीले मिडियामा चर्चा पायो। उनको उजुरीलाई लिएर सामाजिक सञ्जाल तातिँदै गयो।

आफूलाई कथित ठूलो जाति हुँ भन्नेहरूले फेसबुकमा विजयलाई गाली गर्न थाले, जात छोएर। विजयलाई एउटा फेसबुक स्टाटसको स्क्रिन सर्ट आइपुग्यो, जसमा लेखिएको थियो—आखिर दमैलाई कोटा दिएर अधिकृत बनाएपछि यस्तै हो। अब तल्लो जात भएर पनि हाम्रै घर ताक्नुपर्छ।

विजयले कोटाबाट जागिर खाएका थिएनन्, खुलाबाट आएका थिए। अर्कोतिर, यहाँ कोटा दलितलाई मात्रै होइन, आदिवासी, जनजाति, मधेसी, महिला लगायतलाई छ। मानिसको आक्रोश दलितमाथि मात्रै किन? महिला कोटाबाट गैरदलित महिलाले नै बढी जागिर खान्छन्।

१५ सय सरकारी कर्मचारीका लागि १५ लाखको आवेदन पर्छ, त्यसमध्ये १४ लाख ९८ हजार पाँच सय व्यक्तिले सिधै जागिर पाउँदैनन्। जागिर नपाउनेहरूप्रति मानिसलाई त्यति चिन्ता छैन, जति चिन्ता १५ सय कर्मचारीभित्र समावेशीको अभ्यास हुन थाल्दा भएको छ।

आफूलाई जात छोएर सामाजिक सञ्जालमा गाली गर्ने जतिको विजयले स्क्रिन सर्ट जम्मा गरे र उनीहरूविरुद्ध प्रहरीमा उजुरी दिए। प्रहरीले नेपालमै रहेका जतिलाई नियन्त्रणमा लिएर छानबिन गर्‍यो। त्यसमध्ये एक २६ वर्षीय सिर्जन नाम गरेका युवालाई अदालतले तीन महिना कैद सजायको फैसला सुनायो।

यसरी कैद सजाय सुनाइएका सिर्जन सानैदेखि तीक्ष्ण मस्तिष्कका थिए। स्कुलमा सधैँ प्रथम हुन्थे, कलेजमा पनि उनको पढाइ राम्रै थियो। यिनले अरू मानिसले भन्दा भिन्न सोच राख्थे। काठमाडौंका घरबेटीले एउटा दुहुनो गाई पाल्ने र कौसीखेती गर्ने प्रोजेक्टको यिनले कल्पना गरेका थिए। तर, यिनको प्रोजेक्टमा यिनकै बाबुले सहयोग गरेनन्। मानिसमा जस्तो प्रतिभा होस्, कुनै विषयमा जति नवीन ढंगले सोचोस्, मिथक वा मानसिकता भनेको अर्कै चिज हो। खासखास विषयवस्तुमा मानसिकता बदल्न मानिसमा खासखास चिन्तन नै चाहिन्छ।

व्यापारको सम्बन्धमा अनौठा र नयाँ कुरा गर्ने भएकाले घरमा बुवासँग यिनको राम्रो सम्बन्ध भएन। यिनका बुवा कपडाको व्यापारी थिए। पश्चिम नेपालको एक जिल्ला सदरमुकामबाट यिनीहरूले कपडाको पसल विस्तार गरेका थिए। सिर्जनको जन्म त्यतैको एक नामी हस्पिटलमा भएको हो। यिनी जन्मँदाबित्तिकै हस्पिटलको एक कोठामा आगलागी हुन पुगेको थियो, मानिसहरू भागाभाग भएका थिए।

सिर्जनले पढेर जागिर खाएनन्, घरमा पनि ठुल्ठूला प्रोजेक्ट र आइडियाको कुरा गरेर हैरान गर्थे। छोराले केही इलम–पेसा नगरेपछि बुवाले सम्झाउन थाले। सम्झाउने क्रममा यिनका बाबुछोराबीच झगडा परिरहन्थ्यो। एकपटक यिनलाई बुवाले भने—तँ मेरो छोरो होइनस् जस्तो लाग्छ, हस्पिटलमा जन्मेको होस्, साटिइस् कि के थाहा ! तँ जन्मदा पनि हस्पिटलको एक कोठामा आगो लागेको थियो। अहिले तैँले मेरो टाउकोमा आगो झोँसिरहन्छस्।

झगडाका क्रममा बुवाले यो कुरा दोहोर्‍याइरहन्थे। यही बेला उनी बेकारको झमेलामा तीन महिना जेल परे। जेलमा भेट्न गएका बुवाले रिसाएर भने—तँ मेरो छोरो होइनस्, अब जेसुकै गर।

जेलबाट निस्केपछि उनी काठमाडौंमै छुट्टै डेरा गरी बस्न थाले। साथीहरूको सहयोग लिएर एउटा रेस्टुरेन्ट खोले। रेस्टुरेन्ट खोल्नमा उनलाई साथीहरूमार्फत आमाले सहयोग गरेकी थिइन्।

रेस्टुरेन्ट राम्रै चल्न थालेपछि उनले आफ्ना बुवालाई भेट्न गए। उनका बुवाको काठमाडौंमा दुईवटा घर थिए। सदरमुकाममा कपडाको व्यापारबाट राम्रो आम्दानी गरेपछि उनी देशको राजधानी छिरेका थिए। यहाँ पनि यिनीहरूको व्यापार राम्रो थियो। वास्तवमा सिर्जन बाबुको सहयोग र माया नपाएर बिग्रन पुगेका थिए।

सिर्जनले बाबुलाई भेटेर भने—मलाई अंश देऊ, नत्र डिएनए परीक्षण गरेर छोरा नभएको प्रमाणित गर। अंशकै कुरामा बाबुछोराबीच झगडा चर्कंदै गयो। झगडा अन्ततः डिएनए परीक्षणको हदसम्म पुग्यो। साँच्चिकै, सिर्जन अर्कैको सन्तान भएको प्रमाणित भयो। यसले सबैभन्दा ठूलो चोट यिनकी आमालाई दियो, उनी पनि डिएनए जाँच गर्न बाध्य भइन्। सिर्जनले जसलाई बाबुआमा मान्थे, उनीहरू दुवै जैविक रूपमा आफ्ना बाबुआमा ठहरिएनन्।

त्यसपछि उनी आफू जन्मेको हस्पिटलतिर लागे, आफ्ना बाबुआमा खोज्न।  

०००

२७ वर्षअघि जयको जन्म पनि सिर्जन जन्मेको हस्पिटलमै भएको थियो। जयकी आमालाई चार दिनसम्म सुत्केरी व्यथा लागेपछि सदरमुकामको हस्पिटलमा पुर्‍ याइएको थियो। जय र सिर्जन एकै समयमा जन्मेका थिए। यतिसम्म पत्ता लगाएपछि सिर्जनले जयको सोधखोज गरे। जयलाई भेटेर सिर्जनले सबै कहानी सुनाए। जयलाई सुरुमा सिर्जनको कुरा चलचित्रको कहानीजस्तो लागेको थियो। यद्यपि प्रेममा धोका खाई उदासी भएर बसेका उनी आफ्नो डिएनए जाँच गर्न मञ्जुर भए। अचम्मै भयो, जयको डिएनए सिर्जनलाई कर्म दिने बाबुआमासँग मिल्न पुग्यो।

सिर्जन पुनः आफूलाई कर्म दिने बाबुआमालाई भेट्न गए, जयको बारेमा बताए। तर, सिर्जनका कर्म दिने बाबुआमाले जयलाई तल्लो जातमा हुर्किएको भनी सन्तानको रूपमा स्वीकार गरेनन्।

जय र सिर्जनले आफूहरूको कहानीमा चलचित्र बनाए। उनीहरूले चलचित्रको कथावस्तु काल्पनिक रहेको बताएका थिए। चलचित्रमा दुवैको अभिनय थियो। चलचित्र सुपरहिट भयो। जयलाई कर्म र जन्म दिने दुवै बाबुआमाले उनीहरूको चलचित्र हेरे।

चलचित्र हेरेदेखि विजयकी आमा बिन्दुलाई तोड परेको थियो, सदरमुकामको हस्पिटलमा आफ्नो बच्चा साटिएको शंका उनले पनि गरेकी थिइन्। गाउँकै हलमा चलचित्र हेरेपछि उनी तुरुन्तै काठमाडौं आइन्। जय र सिर्जन एउटै फ्ल्याटमा बस्थे।

काठमान्डुका लागि बस चढ्नुअघि बिन्दुले जयलाई फोन गरेकी थिइन्। जय आमालाई लिन बसपार्क पुगे। साँझ आमालाई लिएर जय फर्कंदा सिर्जन भान्साको काममा व्यस्त थिए।

जय बोले, ‘सिर्जन! मेरी आमा, गाउँदेखि मलाई भेट्न आउनुभएको।’

सिर्जनले आमाको खुट्टामा ढोगे। आमा भक्कानिएर रोइन्। साँझको खाना खाँदा बिन्दुले भनिन्, ‘तिमीहरू दुवै मेरा छोरा हौ, तिमीहरू मदेखि कतै टाढा नभाग।’ ज्योति र ज्योतिका श्रीमानले पनि चलचित्र हेरेका थिए। एकपटक ससुराली जाँदा ज्योतिका श्रीमानले कतै सुन्नुपरेको थियो—ज्योतिको गाउँकै जय नाम गरेको केटासँग सम्बन्ध थियो, त्यही सम्बन्ध छुटाउन परिवारले ज्योतिको विवाह टाढा गरिदिएका हुन्।

यही विषयलाई लिएर उनले ज्योतिसँग कहिलेकाहीँ झगडा गर्थे। फिल्म हेरेपछि ज्योतिमाथि आरोप लगाउन उनलाई झनै ठूलो आधार मिल्यो। अन्ततः उनीहरूले सम्बन्धविच्छेद गरे।

अब चिठी लेख्ने पालो जयको आयो। एक वाक्यको चिठी लेखेर जयले ज्योतिलाई दिए, जसमा लेखिएको थियो—ज्योति! यो समाजलाई माफ गर र तिम्रो हृदयमा मप्रतिको प्रेम अझै बाँकी छ भने मेरो जीवनमा आऊ।

प्रकाशित: १२ चैत्र २०७८ ०७:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App