१३ असार २०७९ सोमबार
कला

ढुंगाको राजगद्दी

कथा

मञ्जुगर्त गणराज्यमा एउटा ढुंगाको राजगद्दी छ। गणपति छानिएको व्यक्तिबाहेक अर्को कोही त्यसमा बस्नुु हुँदैन, बस्यो भने ऊ उठ्न सक्दैन, अर्थात् बसेकै अवस्थामा उसको मृत्यु हुन्छ। यस ढुंगाको राजगद्दीलाई कसले स्थापना गर्‍यो भन्ने सही इतिहास छैन। यसमा मानिसले मनगढन्ते अनुमानदेखि अनेक तर्कवितर्क गर्छन्। यद्यपि यस राजगद्दीमाथि जनताको ठूलो आस्था थियो र छ।

मञ्जुगर्त राज्यमा पुरानो प्रचलन छ—जो गणपतिमा छानिन्छ, उसले सबैभन्दा पहिले त्यस राजगद्दीलाई छोएर शपथ लिनैपर्छ। लिएन भने उसले महिना दिनभित्र पदबाट राजीनामा दिनुपर्ने परिस्थिति सिर्जना हुन्छ।

त्यस राजगद्दीलाई छोएर गणपतिले जस्तोसुकै शपथ लियोस् त्यसले अर्थ राख्दैन, किनभने यस राजगद्दीको विशेष शक्ति र रहस्य छ। यस गणराज्यमा दुई प्रकारका जनता छन्—अन्यायमा परेका दीनदुःखी जनता र सुखशान्तिले बाँचिरहेका जनता।

राजगद्दीलाई छोएर शपथ लिएपछि गणपतिले माथिकामध्ये कुनै एक प्रकारका जनतालाई मात्रै ६ महिनासम्म झलझली देखिरहनेछ, उसको स्मृति र आँखामा तिनै जनता सलबलाइरहनेछन्। यसरी नै अर्को ६ महिना गणपतिलाई अर्का प्रकारका जनताले सताउनेछन्, यसबाट उन्मुक्ति पाउने कुनै उपाय छैन। दुवै प्रकारका जनता वर्षको ६–६ महिना पालैपालो गणपतिको स्मृतिमा आउँछन्। पहिलो ६ महिना गणपतिको स्मृतिमा कुन प्रकारका जनता आउने हुन्, यसै भन्न सकिँदैन, दुईमध्ये जुन प्रकारका जनता पनि आउन सक्छन्।

दिन होस् या रात, घाम होस् या बादल—जुनसुकै बेला दुईमध्ये जुन प्रकारका जनतालाई देखे पनि गणपतिले उनीहरूको छाया देख्न सक्नेछ। यसमा एउटा रहस्य छ—सुखशान्तिले बाँचिरहेका जनताको छायाले अन्यायमा परेका जनताको अवस्था दर्शाउँछ र अन्यायमा बाँचिरहेका जनताको छायाले सुखशान्तिमा बाँचिरहेका जनताको अवस्थालाई संकेत गर्छ। गणपतिले पूरा कार्यकाल शासन गर्नका लागि देखिएका जनतालाई होइन, उनीहरूको छायामाथि चिन्तन गरी राजकाज चलाउनुपर्छ।

यस राजगद्दीको इतिहासमा सयौँ गणपति आए, किन्तु कसैले यसको रहस्य बुझ्न सकेनन्। कुनै पनि गणपतिले राजगद्दीलाई छोएर शपथ लिएको पहिलो ६ महिनासम्म एउटा व्यवहार देखाउँथ्यो, अर्को ६ महिना अर्कै। गणपतिले जे भनोस्, जस्तो व्यवहार देखाओस्—उसका मन्त्री, सल्लाहकार र आसेपासेले त्यसलाई चुपचाप स्वीकार गर्थे, गणपतिको वचन र व्यवहारमा कुनै प्रतिक्रिया जनाउँदैनथे। गणपतिको व्यवहारदेखि आफन्त, सल्लाहकार, मन्त्रीगण र जनता सबै आश्चर्यमा पर्थे। अन्ततः राज्यका मुठीभर हर्ताकर्ताले गणपतिलाई पागल करार गरी हटाउँथे र प्रक्रिया पूरा गरी आफूहरू भित्रबाटै अर्को गणपति छान्थे। मञ्जुगर्त गणराज्यमा यो क्रम दोहोरिरह्यो, राजनीतिक स्थिरता आउन सकेन।

यही अस्थिरताका बीचमा यहाँ राजतन्त्र ल्याइयो। एकपटक गणपति भइसकेका एक व्यक्तिले पुनः राजगद्दी हत्त्याए र आफूलाई राजा घोषणा गरे। राजाले आफ्नो जीवनकालभरि अनौठा बोली र व्यवहार गर्थे, जनतालाई अनेक कानुन लगाउँथे। उनलाई हटाउन सहज थिएन। उनको मृत्युपछि उनकै सन्तान राजगद्दीमा आउँथे र तिनले पुनः आफ्ना पुर्खाले जस्तै बोली र व्यवहार देखाउन थाल्थे।

क्रमशः आसेपासेले राजपरिवारको चाकरी गर्न सिके। राजपरिवारका सदस्यको बोली र व्यवहारलाई चाकरीबाजले अनेक रूपमा अर्थ्याउँदै गए। अनेक राजाका अनेक बोली र व्यवहार अनेक किंवदन्ती बन्न पुगे। सबै किंवदन्तीमा राजपरिवारका सदस्यको स्थान उच्च हुन्थ्यो, राजा महान् हुन्थे। त्यही किंवदन्तीमा आधारित संस्कृति पनि विकसित हुँदै गए।

स्वतन्त्र रूपमा चिन्तन गर्ने जोकोहीले मञ्जुगर्त राज्यका शासकको व्यवहारलाई उचित ठहर्‍याउँदैनथ्यो। एकपटक शिवप्रसाद नाम गरेका व्यक्तिले वरपरका राज्यका विधि र व्यवस्थामाथि विचार गरे। त्यसपछि मञ्जुगर्त राज्यका राजा र आसेपासेको व्यवहारको कारण खोतल्न थाले। लामो चिन्तनपछि उनलाई ढुंगाको राजगद्दीको केही रहस्य बोध भयो। यस ढुंगाको राजगद्दीको रहस्य निर्माण हुनुमा आफ्ना पुर्खाको ज्ञान, सीप र अनुभवको विशेष भूमिका रहेको उनले मनश्चक्षुले देखे। राजगद्दीको यति ठूलो रहस्य बुझेपछि शिवप्रसाद त्यत्तिकै बसेनन्, ठूलै संघर्ष गरी मञ्जुगर्त राज्यको प्रधानमन्त्री भए।

उनले सुरुको ६ महिना अन्यायमा परेका जनतालाई मात्रै देखे। अन्यायमा परेका जनताको अवस्था विकराल थियो। उनीहरूलाई न्याय दिलाउन राज्यको सम्पूर्ण विधि र व्यवस्थामै परिवर्तन ल्याउनुपर्थ्यो। त्यसमाथि वरपरका राज्यले मञ्जुगर्त राज्यलाई आफ्नो कब्जामा लिन खोजिरहेका थिए, त्यसबाट राज्यलाई जोगाउनुपर्थ्यो। उनले सुरुमा केही न्याय र परिवर्तनका झिल्का जनतालाई देखाउन थाले। यता राजाका आसेपासेलाई आफ्नो हुँदाखाँदाको सम्मान र सम्पत्ति खोसिने चिन्ताले सताउन थाल्यो। उनीहरूले शिवप्रसादविरुद्ध राजालाई उकास्न यथासम्भव प्रयत्न गरे। अन्ततः राजाले शिवप्रसादलाई पदबाट हटाए र पुरानै पुर्ख्यौली तजबिजमा राज्य चलाउन थाले।

यता शिवप्रसादले जनताको न्यायका लागि आफ्नो जीवनकालभरि संघर्ष त गरे, सोचेजस्तो परिणाम दिन सकेनन्।

दिनहरू बित्दै गए। अन्ततः मञ्जुगर्त राज्यका जनताले राजाको शासन हटाएर गणराज्य स्थापना गरे। चण्डवीर देशको गणपति हुन आइपुगेका थिए।

चण्डवीर जनताको न्यायका लागि राजाविरुद्ध लडेका योद्धाका नाइके हुन्। उसो त शिवप्रसादका अनुयायी पनि आफ्नै किसिमले जनताका नाममा लडेका थिए। अर्कोतिर शिवप्रसादको विचारमा सहमत नहुनेहरू पहिलेदेखि नै अन्यायमा परेका जनताका पक्षमा बोल्दै र लड्दै आएका थिए।

राजगद्दीमा बसेको पहिलो ६ महिना चण्डवीरले अन्यायमा परेका जनतालाई मात्रै देख्न थाले। भाषण र महावाणीमा उनले दीनदुःखी जनताकै नाम जप्थे। अन्यायमा परेका जनतालाई के गर्न सकिन्छ भनी उनले सोच्दै रहे, तर अन्यायमा परेका जनताको छायातिर दृष्टि पुर्‍याउन सकेनन्। आफू सत्ता र शक्तिमा रहेका बेला भुइँमा नहेर्ने उनको कमजोरी थियो।

एक गोधुली साँझमा, उनी साँझको सात्त्विक भोजन गरी बगैँचामा टहलिँदै थिए। उनले नियमपूर्वक भोजन गर्थे—बिहानमा तामसिक, दिउँसो राजसी र साँझमा सात्त्विक।

बगैँचामा उनले भुइँतिर हेरेर वस्तुस्थितिको धरातीय विश्लेषण गर्दै थिए। त्यहाँ एक हुल दीनदुःखी मानिस बगैँचा गोडमेल कार्यमा व्यस्त थिए। कसैको मुहार वा शरीरमा हेर्ने मनस्थितिमा चण्डवीर थिएनन्। उनले कसोकसो ती दीनदुःखीको छाया देख्न पुगे। झुत्रेझाम्रे मानिसको छाया सुकिलोमुकिलो देखिएको थियो। राजगद्दी सम्हालेदेखि उनको मन–मस्तिष्क र दृश्यमा झुत्रेझाम्रे मानिस मात्रै थिए, यहाँ सुकिलोमुकिलो छाया? उनले काम गरिरहेका मानिसलाई नियाले, त्यहाँ झुत्रेझाम्रे मानिसले नै काम गरिरहेका थिए। उनले पुनः छाया हेरे, पहिलेकै दृश्य दोहोरिएपछि उनी दिग्भ्रमित हुन पुगे। झुत्रेझाम्रे मानिसको छाया सुकिलोमुकिलो? त्यसमाथि त्यहाँ कुनै दीप जलाइएको थिएन। बिनाप्रकाशको गोधुली साँझमा मानिसको रहस्यमयी छाया देखेपछि चण्डवीरलाई भयानक भ्रम भयो। तन्त्रमन्त्र र पुरातन मूल्य–मान्यतामाथि एकरति विश्वास नगर्ने चण्डवीरले निकै दिन सोचे, तर छायाको रहस्य बुझ्न सकेनन्।

मानसिक रूपमा उनी विक्षिप्त हुँदै गए। उनको राजकाज अस्तव्यस्त हुँदै गयो। राज्यका अन्यायमा परेका दीनदुःखीले अधिकार माग्नुभन्दा सुखशान्तिमा बसेकाहरूले आफ्नो हक–अधिकार खोसिने चिन्ता व्यक्त गर्न थाले। उनले अन्यायमा परेका जनतालाई न्याय हुने केही थिति त ल्याएका थिए, तर सम्पूर्ण रूपमा न्याय हुने कुनै ठोस काम गर्न सकेनन्।

अन्ततः चण्डवीर भ्रम निवारणका लागि धामीझाँक्रीकै शरणमा पुगे। चण्डवीरको मानसिक भ्रम हटाउन धामीले एउटा विधि रचे, विधिबमोजिम चण्डवीरले एउटा कालो भैंसीलाई पूजा गर्नुपथ्र्यो। भैँसीलाई पूजा गरेसँगै उनको पद गयो। उनको कार्य राजगद्दीको रहस्यविरुद्ध थियो। राजगद्दीको अर्को रहस्य यो थियो—त्यस राजगद्दी पाउन कसैले तन्त्रमन्त्र र धार्मिक अनुष्ठानको सहारा लिन सक्दैनथ्यो, लियो भने कुनै अपशकुन भोग्नै पर्थ्यो।

चण्डवीरपछि कर्दवीर नाम गरेका व्यक्ति गणपति भए। कर्दवीरलाई गणपति बनाउनुमा चण्डवीरकै हात थियो। भविष्यमा एकपटक गणपति बन्ने आशाले चण्डवीरले कर्दवीरलाई सघाएका थिए, साठगाँठ बढाएका थिए।

गणपति भएको पहिलो ६ महिना कर्दवीरले सुखशान्तिमा बसिरहेका जनतालाई मात्रै देख्न थाले। यिनको एउटा कमजोरी थियो, मानिसको जुत्ता हेरेर व्यवहार गर्ने। यिनले आफ्नो अगाडि आउने जोकोही व्यक्तिको सुरुमा जुत्ता हेर्थे, त्यसपछि अनुहार। यिनलाई अधिकांश मानिसको अनुहार मन पर्दैनथ्यो। खुट्टा र अनुहारमा हेरिसकेपछि उनले अन्तै हेर्थे तर उसको छायालाई हेर्दैनथे।

दिनहरू बित्दै गए। एक दिन उनी दर्पणको अगाडि बसेर दाह्रीमा आफैँ छुरा लगाइरहेका थिए, उनले दर्पणमा झुत्रेझाम्रे दीनदुःखीको छाया देख्न पुगे। कर्दवीर शंकालु प्रवृत्तिका पनि थिए, शंका गरिहाले—झुत्रेझाम्रे मानिसलाई यहाँ पठाएर कसैले मेरोविरुद्ध षड्यन्त्र गर्दैछ। देशलाई समृद्धिको बाटोमा लैजाने मेरो अभीष्ट यिनीहरूलाई मन परेको छैन। उनले यस्तै सोच्दै थिए, दर्पणमा व्यक्ति नै देखिए, ती उनैका सुकिलामुकिला आसेपासे थिए।

व्यक्ति सुकिलोमुकिलो, छाया झुत्रेझाम्रे? कर्दवीरलाई भ्रम भयो। उनले एउटा ठूलो आमसभाको आह्वान गरे, उनलाई त्यहाँ आउने जनताको छाया हेर्नु थियो। आमसभामा दृश्य र दुःख उही दोहोरियो—व्यक्ति सुकिलोमुकिलो, उसको छाया झुत्रेझाम्रे।

कर्दवीरका पिता ठूला ज्योतिषी थिए। व्यक्ति र छायाका सम्बन्धमा कर्दवीरलाई पितासँग सल्लाह लिने इच्छा भयो। पिताले यिनलाई धर्मशास्त्रको इतिहास पढ्ने अर्ती दिए। कर्दवीरले अर्को राज्यबाट धर्मशास्त्रका इतिहासका पुस्तक मगाएर पढ्न थाले। धर्मशास्त्रमा उल्लिखित कतिपय मिथ्या वर्णनले उनी रनभुल्लमा पर्दै गए। आफ्नो मानसिक अवस्था जनता र विरोधीका माझ प्रकट नहोस् भनी उनले सभाभेलामा स्रोतबिनै नयाँनयाँ धार्मिक स्थल र घटनाको चर्चा गर्थे, जसलाई पत्याउने कुनै आधार हुँदैनथ्यो। धर्मभीरु मानिसले उनको कुरामा ताली बजाउँथे, न्यायप्रेमीले उनलाई दयाको पात्र ठान्थे।

धर्मशास्त्रका पुस्तक पढ्दै जाँदा उनलाई राम र शम्बूकका बारेमा सबैभन्दा ठूलो भ्रम हुन पुग्यो। शूद्र भएर पनि चिन्तन र साधना गर्‍यो भनी समाजका टाठाबाठाले शम्बूकको हत्या गरेका थिए। पछि मानिसहरूले तत्कालीन राजा रामले दास शम्बूकको हत्या गरेको भनी कथा बुने। वास्तवमा शम्बूक साधक र तत्त्वबोधी व्यक्ति थिए। समाजमा शम्बूकका प्रतिविम्ब र अनुयायी अझै छन्। कर्दवीरले आफ्ना आसेपासे र सुखशान्तिमा बसेका जनताको छायामा तिनै शम्बूकका अनुयायीलाई पनि देख्थे। छाया देखेर कर्दवीरलाई आभास भइरहन्थ्यो– शम्बूकका अनुयायीले आफूहरू सदियौँदेखि अन्यायमा परेको क्षतिपूर्ति माग गरिरहेका छन्, आफूहरूमाथि अनेक नाममा हुने हत्या–हिंसाको अन्त्य चाहेका छन्।

देशलाई समृद्ध बनाउने र त्यसको श्रेय एक्लै लिने कर्दवीरको अभिलाषा थियो। तर, झुत्रेझाम्रे जनताको छाया र स्मृतिका कारण उनको अभिलाषा बिथोलिन पुग्यो, उनको सत्ता डगमगाउँदै गयो। समयसँगै कर्दवीर पनि चण्डवीरजस्तै विक्षिप्त हुन पुगे। एक मध्याह्न, उनी मनको शान्तिका लागि राम मन्दिरमा गए। त्यहाँ रामको पूजाआराधना गर्ने कार्यक्रम थियो। झरी परेको दिन थियो, पूजाप्रार्थना गरिरहेका बेला कर्दवीरको दृष्टि रामको मूर्तिको छायामा पुग्यो, जहाँ शम्बूक थिए।

मूर्ति रामको, छाया शम्बूकको? यो कस्तो दृष्टिभ्रम हो ! म पागल भएँ कि मलाई कसैले छल गरिरहेको छ! कर्दवीरको मनमा अनेक तर्कना आए, तर उनले शब्दमा व्यक्त गरेनन्। पूजाआराधना सकेर उनी राजगद्दी रहेको दरबारतर्फ फर्कंदै थिए, बाटैमा आफ्नो पद गएको खबर उनले सुन्नुपर्‍यो। राजगद्दीको रहस्य अनुसार, उनको दोष यही थियो–उनले पद जोगाउन अर्को कुनै शक्तिको सहारा लिन पुगेका थिए। आफ्नो पद कसरी र किन गयो, यस ढुंगाको राजगद्दीको रहस्य के हो—कर्दवीरले कुनै भेउ पाएनन्। रामका अनुयायीकै सहारा लिई पुनः गणपति बन्ने आकांक्षाले उनी गाउँगाउँ डुल्न थाले। दुःख उही दोहोरियो—व्यक्ति सुकिलोमुकिलो, छाया झुत्रेझाम्रे।

ढुंगाको राजगद्दीको अर्को पनि रहस्य छ—एकपटक राजगद्दीमा बसेर राजगद्दीको रहस्य बुझेन र उसको पद गयो, त्यसपछि पुनः पद पाउन उसले कुनै बाहिरी शक्तिको आराधना गर्‍यो भने उसले राज्यका जनता र उनीहरूको छायामा फरक पाउँछ। अझ महिला, उत्पीडित वर्ग र समुदायको एउटा व्यक्तिको थुप्रै छाया उसले देख्न थाल्छ। किनभने, यिनीहरू विभिन्न आयामबाट उत्पीडनमा छन्।

यतिखेर शिवप्रसादका अनुयायी, चण्डवीर र कर्दवीरहरूको ठूलो समूह ढुंगाको राजगद्दी प्राप्त गर्ने आकांक्षामा छ।

प्रकाशित: ५ चैत्र २०७८ ०७:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App