१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
कला

‘योद्धा’को लोकार्पण

भरतपुरस्थित नारायणी नमुना माविमा यदुनाथ भट्टराईको प्रगतिवादी उपन्यास ‘योद्धा’को लोकार्पण सम्पन्न भएको छ।

विमोचन गरिएको कृतिमा समालोचक डीआर पोखरेलले ‘लमजुङ र गोरखाको उत्तरी भेगका जनजातिहरू र मूलतः तामाङ जातिमा आएको जनयुद्धको चेतनालाई भावभूमि बनाएर तयार गरिएको ‘योद्धा’मा महिलाहरूले पनि समरको नेतृत्व गर्न सक्छन् भन्ने यथार्थता चित्रण गरिएको छ।’ भन्दै चितवनको सेरोफेरोतिर प्रकाशित करीब चार दर्जन उपन्यासमध्ये जनयुद्ध स्पष्ट प्रतिविम्बित गर्ने यो नै मानक उपन्यास भएकोमा चितवनले गर्व गर्नुपर्ने दाबी गरे। उपन्यासका एक पात्र कालुलाई उनकी आमाले टीका लगाई बारुदको पोको प्रसादका रूपमा दिएबाट त्यहाँका महिलाको तत्कालीन अत्याचारविरुद्ध कति तीव्र घृणा र आक्रोश रहेछ भन्ने प्रस्ट हुने बताए।

त्यसरी नै अखिल नेपाल लेखक संघका अध्यक्ष तथा प्रगतिवादी आख्यानकार एवं समालोचक डा.धनप्रसाद सुवेदीले ‘उपन्यासकार भट्टराई समाजको सूक्ष्म अध्ययन तथा अनुसन्धान गरी आख्यानीकरण गर्न सफल भएको भन्दै क्रान्तिका अमुक पात्रहरू स्खलित भए पनि क्रान्ति मरेको छैन भन्ने सकारात्मक सन्देश दिन कृति सफल भएको बताए।

एक फरक प्रसंगमा उनले हालसम्म लेखिएका यदि तीन हजार उपन्यास भए दुई हजार बिर्सिदिए हुने, बाँकी एक हजारमध्ये पाँच सयलाई कमै महत्त्व दिए हुने र थप पाँच सय उपन्यास मात्र संग्रहणीय हुने भन्दै यथार्थलाई हेर्ने तरीका सही र द्वन्द्ववादी छ भने स्वाभाविक रूपमा त्यो प्रगतिवादी र कालजयी हुने उनको दाबी थियो।

कार्यक्रमका प्रमुख अतिथि तथा प्रगतिवादी समालोचक प्राडा रमेश भट्टराईले जुन कृतिले समकालीन यथार्थ र गतिलाई पक्रन्छ,त्यो कृति निःसन्देह कालजयी हुने बताउँदै ‘योद्धा’ले लडाइँका निम्ति, प्रतिरोधका निम्ति, प्रतिबद्धताका निम्ति हामी सधैं तयार छौं भन्ने सन्देश दिएको प्रस्ट्याए। उपन्यास वर्णनात्मक र केही विषयवस्तु नदोहोरिएका भए ‘योद्धा’ उपन्यास अझ खँदिलो बन्ने उनको राय थियो। भी.एस. नयपालको ‘अ हाउस फर मिस्टर विश्वास’को दृष्टान्त पेस गर्दै उनले उपन्यासलाई यस्तै बनाउन सम्भव हुने बताए।

उपन्यासकार यदुनाथ भट्टराईले आफ्ना भोगाइ र अवलोकनका परिवेश मनभित्र उम्लिरहेकै बेला त्यसलाई लिपिबद्ध गर्न निकै समय लागेको बताए।

कार्यक्रममा अखिल नेपाल लेखक संघका उपाध्यक्ष रामहरि श्रेष्ठले स्वागत मन्तव्य दिएका थिए। साहित्य संगम चितवनका उपाध्यक्ष राजेन्द्र घायलले अध्यक्षता गरेको सो कार्यक्रमको सहजीकरण उषा तिवारीले गरेकी थिइन्।

प्रकाशित: २९ फाल्गुन २०७८ ०८:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App