कास्की रूपा गाउँपालिकाको विविधतालाई समेटेर 'हाम्रो प्यारो रूपा' परिचयात्मक गीत सार्वजनिक गरिएको छ।
गीतकार प्रकाश सुवेदीको अनुसन्धान तथा लेखन, वसन्त सापकोटाको सङ्गीत, साहस शाक्यको सङ्गीत संयोजन र मेलिना राई, सिडी विजय अधिकारी, शिरीष देवकोटा, आरसि रिमाल र सङ्गीतकार स्वयंको स्वरमा 'हाम्रो प्यारो रूपा' उक्त गीत पालिका दिवसको अवसर पारेर सार्वजनिक गरिएको हो।
गीतकार सुवेदीले लामो समय लगाएर पालिकाका ७ ओटै वडाहरुको स्थलगत भ्रमण गरी सूक्ष्म अध्ययनका साथ तयार पारेको यस गीति भिडियोमा रूपाका कृषि, खानेपानी, विकास निर्माण, स्वास्थ्य सेवा, पर्यटकीय तथा धार्मिक स्थल, खोलानाला वनपैदावार लगाएतका सबै विविधतालाई समेटेका छन्।
रूपामै जन्मिएर नेपाली कलाकारिता क्षेत्रमा ख्याति कमाएका माओत्से गुरुङ्ग र ओमप्रकाश गुरुङ्ग समेतको अभिनय रहेको यस गीति भिडियोमा रोहन आसिव, ममता अधिकारी, प्रियङ्का सुवेदीसहित विभिन्न विधामा संलग्न स्थानीयहरुकोे अभिनय देख्न सकिन्छ।
लेखक स्वयंको रचनात्मक निर्देशन रहेको यस भिडियोमा कुमार केसीको नृत्य निर्देशन, निसल पौडेलको छायाङ्कन र निशान घिमिरेको सम्पादन रहेको छ। कास्कीमा रहेका आठ ओटा तालमध्ये तेस्रो ठूलो ताल रूपातालको नामबाट नामाकरण गरिएको रूपा प्रचुर पर्यटकीय सम्भावना बोकेको गाउँपालिका हो।
पर्यटन प्रवर्द्धनलाई नै मुख्य उद्देश्य मानेर तयार पारेको यस गीति भिडियोले पक्कै पनि रूपालाई राम्रो प्रभाव पार्न सक्ने देखिएको छ।
प्रकाशित: २८ फाल्गुन २०७८ ०८:२८ शनिबार





