१४ चैत्र २०८२ शनिबार
image/svg+xml
कला

राम्रो तस्बिर कसरी खिच्ने ?

एक दशकअघिसम्म फोटोग्राफी भनेको सीमित प्रोफेसनल र सौखिनहरूको पहुँचमा मात्र थियो। हाल संसारका एक तिहाइको हातमा कुनै न कुनै प्रकारका क्यामेरा छन्। प्रोफेसनल क्यामेरा होस् वा फोनमा जडित क्यामेरा, फोटो खिच्ने सोख हरेक व्यक्तिमा पलाएको छ।त्यसो त हाल संसारभरमा ५ अरब ८० करोड क्यामेरा छन्। सन् २०१४ मा मात्र १ अर्ब ८ करोड क्यामेरा बिक्री भएको तथ्यांक छ। जसमा सामान्य फोन क्यामेरा, स्मार्टफोन, परम्परागत क्यामेरा र प्रोफेसनल क्यामेरा पर्दछन्। तथ्यांकअनुसार २०१४ मा मात्र १० खर्ब फोटो खिचियो। क्यामेरा आविस्कार भएयता आजसम्म करिब ५० खर्ब ७० अर्ब फोटो खिचिएका छन्।

तपाईं–हामी जानेर वा अन्जानमै फोटोग्राफी दुनियाँमा प्रवेश गरेका छौं। यो दुनियाँमा ५ प्रतिशतले प्रोफेसनल क्यामेरा चलाउँछन् भने ९५ प्रतिशतले त फोनबाटै काम चलाउँछन्। स्मार्ट फोनको सुलभता र यसमा भएको इन्टरनेट कनेक्सनले गर्दा प्रोफेसनल फोटोग्राफर पनि स्मार्ट फोनतिरै आकर्षित भएका छन्। मेरो सन्दर्भमा, फेसबुक वा अन्य सोसल मिडियामा शेयर हुने फोटोमध्ये ९० प्रतिशत स्मार्ट फोनकै फोटा हुन्। यी तस्बिरहरू मैले फोन क्यामेरा, स्मार्टफोन तथा परम्परागत क्यामेराबाट खिचेको हुँ।

नयाँ वर्ष २०७२ लाई हामी नेपालीले स्वागत गरिसकेका छौं। यो उत्सवमा खिचेका तस्बिरलाई उपहारको रूपमा डिजिटल वा प्रिन्ट गरेर बाँड्यौं पनि होला। तपाईं आफ्नै फोनबाट राम्रो फोटो बनाउन सुक्नुहुन्छ। यो कुराको हेक्का नहुँदा गुगल सर्च गरी अरूका तस्बिर वा शुभकामना सन्देश कपी गरेर शेयर गर्छौं, जुन गैरकानुनी हो।

सामान्य क्यामेराले पनि असामान्य र धेरै प्रभावकारी तस्बिर खिच्न सकिन्छ। तस्बिर लिनु भनेको पहिले दृष्टि (भ्यु) उत्पन्न गर्नु हो। त्यही दृष्टिअनुसार चित्रलाई फ्रेममा उतार्ने चेष्टाले एउटा सफल फोटोग्राफर जन्माउँछ।

आशा, उमंग र खुसी व्यक्त गर्ने उत्कृष्ट केही पक्षबारे यहाँ तस्बिरसहित चर्चा गर्न खोजेको छु।

१. सूर्योदय
nepal 130313-8364
सूर्योदय र यसको ज्योति हाम्रो जीवनको सबैभन्दा महŒवपूर्ण र प्रखर अवस्था हो। सूर्योदयलाई खुसी, आशा, विश्वास र नयाँ सुरुवातको प्रतीकका रूपमा लिइन्छ। समग्र जीवात्मालाई ऊर्जा दिने अलौकिक क्षमता हुन्छ, सूर्योदय र यसको प्रकाशमा।

तपाईंले कुनै डाँडाबाट उदाएको घाम होस् वा खोला, पोखरी वा अन्य पानीमा पोखिएको पहिलो झुल्कोलाई खिचेर जीवनको एउटा अवसरका रूपमा चित्रित गर्न सक्नुहुनेछ। सूर्योदयलाई कैद गर्ने अनगिन्ती अवसर र अवस्था हुन सक्छ, त्यो तपाईंको सृजनाशक्ति र वातावरणीय परिस्थितिमा भर पर्छ।

२. दियो वा मैनबत्ती
nepal 121111-2412
सूर्यजस्तै दियो वा मैनबत्तीको प्रकाशले पनि हाम्रो मनमा बेग्लै खुसी र आशाको प्रसार गर्न सक्छ। तपाईंसँग भएको सामान्य फोन क्यामेरा वा प्रोफेसनल क्यामेराबाट यस्तो फोटो खिच्न सम्भव छ।

३. ड्रिंक्स तथा मिष्ठान्न
nepal 140724-6780
पश्चिमी जगत्मा खुसीयाली बाँड्न सँगै बसेर पिउने चलन सामान्य छ। यो चियर्स कल्चर विश्वभर फैलिएको छ। अल्कोहल वा नन अल्कोहल ड्रिंक्सलाई एक–आपसमा चियर्स गर्दै खुसी व्यक्त गरेको क्षणलाई तस्बिरमा उतारेर पनि सकारात्मक र उत्साहजनक अवस्था झल्काउन सकिन्छ। यस्ता तस्बिर शुभकामना सन्देशको रूपमा बाँड्ने चलन मौलाउँदै गएको छ। आकर्षक रूपमा सजाएको मिष्ठान्न तथा फलफूलका फोटोले पनि उमंग पÞ्कैलाउँछ।

४. फूल
nepal 130422-9570
फूल पनि प्रकृतिको अत्यन्त सुन्दर र सृष्टिको अद्भुत आकर्षण हो। फूलले पनि मनमा उत्साह, खुसी र प्रेमको भाव पैदा गर्दछ। शुभकामना बाँड्न फूल त झनै उपयुक्त मानिन्छ। सुन्दर फूलको नजिकबाट फोटो खिच्नुहोस्। शुभकामना बाँड्नका लागि आफैंले खिचेको फूलको तस्बिरजस्तो उत्तम चिज अरू के नै होला र?

५. सहर र बत्ती
nepal 130811-0210
सहरको झिलिमिलीले पनि मानव सभ्यता, विकास र प्रगतिको यथार्थलाई वर्णन गर्न सहयोग गर्छ। तपाईंले साथीहरूलाई आफू बस्ने सहर, त्यहाँका सडक र भवनका रात्रिकालीन दृश्य तथा तपाईंको गाउँको सुन्दरता जगमगाइरहेको रात्रिकालीन दृश्य तस्बिरमा उतारेर प्रस्तुत गर्न सक्नुहुनेछ।

६. बेलुन
nepal 130721-0809
रंगीन बेलुनहरू उडाउँदै बच्चाहरू रमाइरहेको दृश्यले सबैको मनमा उत्साह र उमंग थप्दछ। यस्ता दृश्यलाई सकेसम्म खिचेर संग्रह गर्नुभयो भने शुभकामना दिने बेला काममा आउँछ। सूर्योदयका बेला उडाइएको हट एयर बेलुन खिच्नुभएको छ भने त त्यो सुनमा सुगन्ध हुनेछ।

७. रङ
nepal 140316-0225
होली खेल्दा वा अन्य अवसरमा लगाउने रङ तथा अबिरको रौनक बेग्लै हुन्छ। त्यो क्षणमा मानिसहरूको अनुहारमा उत्रिने उमंगलाई मिश्रण गराएर तस्बिरमा उतार्न सक्नु क्यामेरापर्सनको खुबी हो। उमंगसहितको चेहरामा व्याप्त अद्भुत खुसीको उभारलाई प्रभावकारी रूपमा तस्बिरमा उतार्न फोटोग्राफरले हदैसम्म मेहनत गर्नुपर्छ। किनकि मेहनतको फलले सन्तुष्टि दिन्छ।

८. चराचुरुंगी र जनावर
nepal 130422-0708
चराचुरुंगी र जनावर पनि प्रकृतिका सुन्दर सृजना हुन्। यिनीहरूको चुलबुलपन, चाल, बहुरंगी एवं चित्ताकर्षक स्वरूप, प्रेम र समागमका अवस्थालाई खिच्न सक्ने फोटोग्राफरले निकै आकर्षक सन्देश दिएका हुन्छन्। जनावरहरूको बच्चाको चञ्चलता, मित्रता, प्रेम र निश्छलताले हामीमा सधै खुसी र शान्तिको प्रेरणा दिइरहेका हुन्छन्। यस्ता अवस्थालाई खिच्न सक्ने व्यक्तिलाई कुशल फोटोग्राफर मानिन्छ।

९. प्रकृति
nepal 150212-4499
वनजंगल, ताल, खोलानाला, हिमाल, पहाड र सम्म फाँटका मनोरम दृश्यबाट पनि आकर्षक पोस्टकार्ड तथा शुभकामना सन्देश दिन सकिन्छ।
...
यी त भए सुन्दरता, शुभ समय र उत्साहलाई संकेत गर्ने तस्बिर खिच्नेबारे सामान्य जानकारी। तपाईंसँग सामान्य क्यामेरा, फोन वा अन्य व्यावसायिक क्यामेरा जे छन् त्यसबाट भ्याएसम्म फोटो खिच्ने गर्नुहोला। फोटोग्राफी एउटा कला हो। कलामा पोख्त हुनुभयो भने यसैलाई व्यवसाय बनाउन सकिन्छ।

(नेपालमा रहँदा आर्थिक पत्रकारिता गरेका लेखक हाल बोस्टन, अमेरिकामा फोटोग्राफी गर्छन्। गतवर्ष उनको एउटा फोटो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रकाशित गर्दा उब्जेको कपिराइट विवादले विश्वभरका मिडियामा चर्चा पाएको थियो।)

प्रकाशित: ५ वैशाख २०७२ ०४:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App