१२ असार २०८१ बुधबार
image/svg+xml
कला

उमंग सार्वजनिक

हाम्रो लघुकथा पाठशालाको आयोजनामा लघुकथाकार सत्या अधिकारीको उमंग लघुकथा संग्रह सार्वजनिक भएको छ।

लघुकथा समाज नेपालका केन्द्रीय अध्यक्ष एवं प्रमुख अतिथि श्रीओम रोदन, निवर्तमान उपाध्यक्ष ध्रुव मधिकर्मी, हाम्रो लघुकथा पाठशालाका एडमिन–  लता केसी, डा. शेखरकुमार श्रेष्ठ, विमुन्स पौडेल, लघुकथा सौन्दर्यका श्रीराम राई र कथाकार  जीवनसँगी दामोदर अधिकारीले एकैसाथ सार्वजनिक गरेका हुन्।

मन्तव्यको क्रममा ध्रुव मधिकर्मीले छुट्टाछुट्टै विषयमा लघुकथा लेखिएको बताए। संग्रहमा पारिवारिक कलह, गरिबी, लैंगिक विभेद, राजनीतिक विसंगति जस्ता विविध विषयमा लेखिएका लघुकथा छन्। त्यसैले संग्रह पठनीय र संग्रहनीय रहेको छ।

लघुकथा समाज नेपालका केन्द्रीय अध्यक्ष श्रीओम रोदनले लघुकथाकारमा प्रशस्त सम्भावना भएको औंल्याए। अधिकारी हुने बिरुवाको चिल्ला पात हुन्। उनमा राम्रो लघुकथा लेख्ने प्रशस्त सम्भावना देखिन्छ।

उनले भने, ‘लेख्दैमा कोही लेखक भइँदैन। अहिले पहिले जस्तो समय लगाएर लेख्नु पर्दैन। छोटो समयमै यति राम्रो लघुकथा लेख्नु भनेको सामाजिक सञ्जालको सदुपयोग हो।’

‘लघुकथा सौन्दर्य’ का संस्थापक श्रीराम राईले  लघुकथाको विधागत उन्नयनमा ‘हाम्रो लघुकथा पाठशाला’ले महत्त्वपूर्ण भूमिका खेलेको बताए। चुलोचौका, घरायसी काम, जागिरमा मात्रै बढी समय दिँदै गरेका महिलालाई पाठशालाले लेख्न हौस्याएको छ। उमंग लघुकथा संग्रह पनि यसकै प्रमाण हो।

कथाकार जीवनसँगी दामोदर अधिकारीले जुनसुकै विषयलाई पनि लघुकथाको विषय बनाउन सकेकामा खुसी पोखे। उनमा घरायसी दिनचर्याका अनेक प्रसंगलाई लघुकथा बनाउने खुबी छ। म उनको लेखन शैलीबाट प्रभावित छु। हामीले घरघरमा महिलालाई लेख्न अभिप्रेरित गर्नुपर्छ।

कार्यक्रमका सभाध्यक्ष एवं उक्त कृतिका सम्पादक शेखरकुमार श्रेष्ठले लेखकको मर्मलाई जोगाएर सम्पादन गरेको बताए। सम्पादकले सम्पादनको नाउँमा लेखकलाई मार्नु हुँदैन। मैले लेखकको भावनाको अँगाल्दै सम्पादन गरेको छु। अभ्यासिक चरणदेखि सँगसँगै अगाडि बढेका उत्कृष्ट लघुकथा पनि संग्रहमा रहेको छ।

लघुकथाकारकी छोरी सुष्मा अधिकारीले लघुकथा सजिलैसँग पढ्न सकिने बताइन्। मन लागेको बेला अगाडिपछाडि जताको पनि लघुकथा सजिलैसँग पढ्न सकिन्छ। लघुकथाले अब के हुन्छ भनेर पाठकलाई उत्सुकता जगाइरहन्छ।

लघुकथा गान बजाएर तथा प्रमुख अतिथिले दीप प्रज्वलन गरी उद्घाटन गरिएको कार्यक्रममा नोबेल एकेडेमी नयाँ बानेश्वरका छात्राबाट पञ्चकन्या नृत्य देखाइएको थियो। त्यसैगरी कार्यक्रममाा वीरेन मालाकारले शुभकामना गीत गाएका थिए। विमुन्स पौडयालले चलाएको कार्यक्रममा लघुकथा समाज नेपाल बाग्मती प्रदेशका अध्यक्ष डा. विदुर चालिसे,  सचिव रामकुमार पण्डित क्षत्री, नमस्ते आधुनिक लघुकथा मञ्चका एडमिन शेखर अर्याल, चित्रकार नीरबहादुर याक्खा लगायतको उपस्थित रहेका थिए।  

प्रकाशित: १५ फाल्गुन २०७८ ०५:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App