१२ मंसिर २०८१ बुधबार
image/svg+xml
कला

निक्सन–माओ वार्ताको ५० वर्ष

‘सिज द आओर’ पुस्तककी लेखिका इतिहासकार मार्गरेट म्याकमिलनले अमेरिकी राष्ट्रपति रिचार्ड निक्सन र कम्युनिष्ट पार्टीका अध्यक्ष माओत्सेतुङ बीचको ऐतिहासिक भेटवार्ताका केही उल्लेख्य प्रभावबारेमा चर्चा गरेकी छिन्।

५० वर्ष अघि यही महिनामा भएको उक्त भेटले अमेरिका र चीन बिचको लामो गतिरोध तोडेर नयाँ भूराजनीतिक यूगको शुरुवात गरेको थियो। यो भेटको सबैभन्दा महत्वपूर्ण सन्देश थियो–अमेरिका र चीनले मिलेर काम नगर्ने हो भने विश्वमा स्थायी शान्ति सम्भव छैन।

तर अमेरिका र चीन सम्बन्धको आधार के हुने भन्ने विषय महत्वपूर्ण थियो। निक्सन र उनका सुरक्षा सल्लाहकार हेनरी किसिन्जरले यो वार्ता मार्फत तत्कालिन सोभियत संघको विश्वव्यापी प्रभावलाई निस्तेज गर्न चाहेका थिए।

विश्वका दुई ठुला कम्युनिष्ट देश बिचको आपसी सम्वन्धमा फाटो ल्याउने अमेरिकी अपेक्षा थियो। अमेरिका भित्र जे जस्तो प्रसिद्धी भएपनि निक्सनले यो भ्रमण मार्फत आफ्नो प्रतिष्ठालाई विश्व राजनेताका रूपमा प्रस्तुत गर्न चाहेका थिए।

त्यतिवेला चीनका प्रधानमन्त्री चाउ एनलाइले अमेरिकी राष्ट्रपतिलाई ‘दुरदर्शी व्यक्ति’को संज्ञा दिदै उनलाई आँधी आएको बेला पानीजहाजलाई कसरी नियन्त्रण गर्ने भन्नेमा ज्ञान रहेको प्रतिक्रिया दिएका थिए। यो भेटले अमेरिका र चीनले एकअर्कालाई हेर्ने दृष्टिकोणमा आधारभूत परिवर्तन गरेको धारणा उनको थियो तर यो भ्रमणको तात्कालिन प्रभाव पनि थिए। यो भ्रमणले भियतनाम युद्ध अन्त गर्ने अमेरिकी चाहना पुरा गर्न उत्तर भियतनामलाई थप अभिप्रेरित गरेको थियो।

सोभियत संघ पनि अमेरिका र चीन बिचको ऐतिहासिक मेलमिलापलाई लिएर चिन्तित थियो। यो भ्रमणले आफुलाई किनारामा थकेल्न सक्ने चिन्ता अमेरिकाका सहयोगी राष्ट्र जापान र ताइवानको थियो। तर समग्रमा दुई नेताबिचको वार्ताले विश्वमा त्यसपछि घटेका बिभिन्न घट्नाक्रमलाई प्रभावित पारेको देखिन्छ।

सन् १९७४ मा निक्सनको पतन भएको दुई वर्ष पछि माओत्सेतुङ र चाउको मृत्यृु भएको थियो। माओत्सेतुङको मृत्युपछि उनले नै उत्तराधिकारी घोषण गरेको ह्वाको फेङले सैनिक शक्तिको आडमा माओको सास्कृतिक क्रान्ति अगाडी बढाउन गठित ‘ग्याङ अफ फोर’लाई अपदस्थ गरेका थिए। यसरी उत्पन्न भएको परिस्थितिले अन्तत देङ स्याओपिङको पुनरोदय लागि सहयोग गरेको थियो जसले चिनको अर्थतन्त्रलाई वाह्य विश्वका लागि खुला गरेका थिए। वाह्य विश्व र अमेरिकासँग चिनको सम्बन्ध स्थापना नभएको भए यो संभव थिएन।

त्यसपछिका दशकमा बढ्दो निर्यातका कारण चीनको अर्थतन्त्र उभो लाग्न शुरु भएको थियो। खुला विश्व बजारमा वेरोकतोक निर्यातले चीनलाई अत्यधिक फाइदा हुन गयो। यसले विश्वमा चीनको संभावना र भविश्यका लागि नयाँ आयाम थप्यो। चीनले गरेको चमत्कारलाई सहयोग पुर्‍याउने आर्थिक तथा व्यापारिक पृष्ठभूमि निर्माणका लागि विश्वका ठुला प्रजातान्त्रिक देशको महत्वपूर्ण भूमिका छ।

सन् १९९० ताकाको १५ वर्षको अवधिमा अमेरिकामा हुने चिनिया निर्यातमा १६ सय प्रतिशतले वृद्धि भएको थियो। तर चिनिया वस्तु र लगानीका लागि विश्व वजार जुन हिसाबले खुला भयो, त्यही हिसाबले पारस्परिक रूपमा यथोचित व्यवहार देखाउन चीन असफल रहेको छ। चीनले अमेरिका र यूरोपसँग वौद्धिक सम्पति अधिकार चोरेको छ र बारम्वार भ्रामक व्यापारिक फाइदाका लागि भनेर अन्य देशलाई प्रभावमा पार्न खोजेको देखिन्छ। एकतिर चीनले अन्य राष्ट्रलाई विश्व व्यापार संगठनमा आवद्ध हुन दवाव दिइरहेको छ भने अर्काेतिर संगठनका नियमलाई तोडमोड तथा छलछाम गर्ने कार्यलाई निरन्तरता दिदै आएको छ।

वर्तमान सत्ता सम्हालेका राष्ट्रपति सि चिनफिङ झन् बढी निर्लज्ज देखिएका छन्। उनले आर्थिक, सुरक्षा तथा राजनीतिक विषयमा यसअघि व्यक्त गरेका चिनिया प्रतिवद्धतालाई तोडेका छन्। हङकङलाई हतकडी, साउथ चाइना सिमा सैनिकीकरण, ताइवानलाई धम्की दिने देखि चिनको सिनज्याङमा रहेका उइगुर मुस्लिम समुदायलाई नरसंहार गर्ने नीतिलाई उनले अख्तियार गरेका छन्। चीनमा विद्यमान अत्यधिक तथा डरलाग्दो निगरानी व्यवश्थाले विश्वको खुला समाज र सन्तुलित विश्व व्यवश्थालाई चुनौती दिएको छ।

यसरी अमेरिका र अन्य प्रजातान्त्रिक देशका लागि चीनसँगको खतरनाक सम्बन्ध व्यवश्थापन गर्ने चूनौती सिर्जना भएकोछ। पृथ्वीको भविश्यसँग जोडिएको जलवायु परिवर्तन जस्ता विषयमा चीनसँगको सहकार्य अपरिहार्य छ। तर राष्ट्रपति चिनफिङ र उनको सत्ता अन्र्तराष्ट्रिय सम्झौता अनुरूप चीन चल्नुपर्ने ठान्दैनन्। यसैगरी खुला समाज र सुशासनका स्वीकार्य सिद्धान्तलाई चीनले अस्वीकार गरेको छ।

यसरी एकातिर चीनको भूमिकालाई सिमित पार्न तथा नराम्रो व्यवहार गर्नवाट उसलाई रोक्नु पर्ने आवश्यकता छ भने अर्काेतिर उसलाई विश्व समुदायबाट अलग गर्नु पनि हुँदैन। निक्सन अहिले विश्वमन्चमा रहेका भए उनले अस्तित्व रक्षाका लागि प्रजातान्त्रिक समाजको शक्तिसँग चीन त्रसित रहेको कुरा सम्झाउने थिए। खुला समाजमा स्वतन्त्र पत्रकारिता,जिम्मेवार सरकार, मत–शिक्षण (इन्डक्ट्रिनेसन)को साटो समालोचनात्मक सोच विकास गर्ने शिक्षा प्रणाली विद्यमान हुन्छ र सरकार जनताप्रति जिम्मेवार हुन्छन। जतिवेला प्रजातान्त्रिक सरकारले शासनका यिनै मुल मान्यता तथा नीतिलाई बुझ्ने र आत्मसाथ गर्छन, त्यतिवेला चीनसँग टक्कर लिन कुनै कठिनाइ हुँदैन।

अमेरिकी राष्ट्रपति निक्सनको चीन भ्रमणको ५० वर्ष पछि पनि अधिनायकवाद विरुद्ध लडन यीनै मुल्य र मान्यताको सान्दर्भिकता छ। चीनले प्रविधिमा गरेको प्रगतिसँग प्रजातान्त्रिक विश्व तर्सनु पर्ने स्थिति छैन,यो विश्वका सवैभन्दा वढी जनघनत्व भएको र सक्षम नागरिक भएको देश हो। चीनले अझै गर्न सक्ने प्रगति हासिल गरेको छैन। जे जसो भएपनि चीनको सफलताले मानवताको हित गर्छ भन्नेमा हामी आशावादी हुनु पर्छ, जसरी विश्वको खुला समाजको फाइदा चीन आफैंले लिएको छ।

तर यसो हुँदाहुँदै पनि आधुनिक यूगमा चीनले  दीर्घकालीन सुशासनको विधि पहिल्याउन सकेको छैन। खुला समाजका आधारभूत मान्यताप्रतिको हाम्रो समर्थनले समग्रमा चीन र हामीलाई पनि फाइदा गर्नेछ।

(लेखक प्याटन हङकङका अन्तिम गभर्नर तथा अक्सफोर्ड विश्व विद्यालयका चान्सलर हुन्।) 

(वाल स्ट्रिट जर्नल)

प्रकाशित: ७ फाल्गुन २०७८ ०३:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App