दुर्गा वनवासी
अत्यन्तै इमानदार अनि कर्तव्यनिष्ठ पत्रकार ऊ। कसैको कस्तै प्रलोभन, धाक, धम्की केहीसँग कहिल्यै नडराई सधैं सत्यको पक्षमा लडिरह्यो, लेखिरह्यो।
देशका धमिराहरूबारे खोतली–खोतली लेख्यो, नंग्यायो भ्रष्ट चरित्र र अनुहारहरू धेरैपल्ट ज्यानको जोखिम मोल्नुपयो तर ऊ टसको मस भएन।
उसको लगन र निष्ठाको राम्रै मूल्यांकन हुने भयो। राष्ट्रिय स्तरको ठूलै पुरस्कार तथा सम्मानका निम्ति ऊ छनोट भयो। उसको आत्मविश्वास बढ्यो। सोच्यो,‘इमान मरिसकेको रहेनछ।’
सडक जाम परेर कार्यक्रममा पुग्न थोरै ढिला भयो। कार्यक्रम सुरु भइसकेको रहेछ। आयोजकले आउँदा आउँदै मञ्चमा आसन ग्रहण गराएर खादा पनि पहिर्याइदिए। उद्घोषकले पनि सम्मान ग्रहण गर्न सर्वप्रथम उनकै नाम बोलाइहाले।
प्रमुख अतिथिज्यूको बाहुलीबाट सम्मानग्रहण गर्न नाम बोलाइएपछि उनी स्टेजको मध्यभागमा आए। प्रमुख अतिथिले मुसुमुसु हाँस्दै पुरस्कृत गर्न लाग्दा उनी नराम्ररी झस्किए।
भ्रष्टाचार, कालोबजारी, बलात्कार, तस्करी हरेक अभियोगमा मुछिएका र हरेकपल्ट उनले नंग्याएका नेताज्यू पो रहेछन्। दुवैका आँखा चार भए। मन्दमन्द मुस्कुराइरहेका नेताज्यूका कुटिल आँखाहरूले उनलाई जिस्क्याएझैं लाग्यो, ‘देख्यौ पत्रकार बाबु, तिम्रो कलमभन्दा मेरो कुर्सी कति धेरै शक्तिशाली छ?’
प्रकाशित: ६ फाल्गुन २०७८ ०६:३१ शुक्रबार