लता केसी
चोर औंलाले संकेत गर्दै मेैले श्रीमानलाई भनें,‘आहा! त्यो घरमा कत्ति राम्रो बगैंचा रहेछ। सुन्तला कस्तो लटरम्म फलेको! हेरिस्यो त!’
हामी जोईपोइ नै पहिलो पटक यो बस्तीमा आएका थियौं। घर किन्नु थियो र हेर्ने प्रयोजनले पुगेका थियौं। मन पर्यो। हामीले घर किन्यौं। बस्दै जाँदा थाहा भयो, बगैंचा भएको घरमा बा एक्लै बस्दा रहेछन्। बुढी मरेकी,छोराहरू विदेशतिरै रहेछन्। सुन्तला बेचेर राम्रै आम्दानी हुँदो रैछ।
छिमेकी सबैले उनलाई बगैंचे बा भन्दा रहेछन्। हामी पनि उनको घर नै गएर परिचय गर्यौं। साँध जोडिएकाले होला, मलाई माइतीघर पाएझैं भयो। मीठोमसिनो पकाएर बालाई खुवाउन थालें। आफ्नो घरमा सुन्तलाका नयाँ बिरुवा ल्याएर सारें। राम्राराम्रा फूलहरू पनि सारें। घर उज्यालो भयो।
दिन र महिना फेरिंदै गए। हामी दुई घर एक परिवारजस्तै भयौं। एकपटक हामीले घरमा सत्यनारायणको पूजा लाउने विचार गर्यौं। बा घरमा थिएनन्। मैले पूजा जस्तो सत्कर्मलाई लिंदा के होला र भन्ठानें।
उनको घरबाट अपुग फल र फूल टिपेर ल्याएँ। पछि बा घर आए। ‘फलफूल कसले चोरेछ’ भनेर मसँग गुनासो गरे। ‘मैले पूजालाई टिपेको बा’ भनें। बाको अनुहारमा एकाएक क्रूरता देखियो। रातोरातो अनुहार बनाएर उनी कडकिए, ‘कम्तीमा सोध्नु त पर्थ्यो नि!’
प्रकाशित: ६ फाल्गुन २०७८ ०५:५१ शुक्रबार