ढाकामोहन बराल
बिहानको समय, गुप्ताको जेरी पसलमा निकै हल्लाखल्ला हुन्छ। टाढाबाट उसको पसलमा मानिसहरू तातोतातो जेरी खान आउँछ्न्। हरि, गोपाल, राकेश र भूपाल पनि आज शहरका सात गल्ली छोडेर आए। सानैदेखि सँगै पढेका उनीहरू सानोतिनो नोकरी गर्दै उच्च शिक्षा हासिल गर्दै छन्। चिसो मौसम यस क्षेत्रमा चर्चित गुप्ताको जेरी छोड्ने कुरा भएन।
जेरी खाएपछि तरकारी नखाईकन चिया कसरी खानु उनीहरू खाँदै गए। गोपालले भन्यो, ‘मसँग त पैसा छैन। कसले तिर्ने हो, तिरौं है।’
हरि र भूपाल हेरहेर गर्न थाले। राकेशले मुख नै फोरेर भन्यो, ‘सबै कुरामा ठिक छ तर यो गोफ्लेको सानैदेखिको कन्जुस्याइँ कहिल्यै गएन है। जागिरे भएपछि पनि उस्तै छ गधा।’
हरिले भन्यो,‘सबै एउटैले तिर्नु परेन। मिलेर तिरौं न। गोपालको मै तिरौंला।’
आफ्नो पैसा जोगिएकोमा मक्ख पर्दै गोपल सिलिङमा यताउति हेरिरह्यो।
आज शुक्रबार परेको हुँदा बेलुकासँगै सेकुवा सेन्टरमा भेट्ने भन्दै विदा भए। खाजा खाँदै गर्दा जति पेक थपिँदै गयो सबैको स्वर चर्को सुनिन थाल्छ।
पहिलो पटक मगाएको पेय पदार्थ सकिन थाल्यो। गोपालले दुई हात परको काउन्टरमा बस्ने साहुलाई पच्चिस हात परको मानिसलाई बोलाए जसरी चर्को आवाजमा भन्यो, ‘साहुजी, एकपटक अझै थपौं त।’
राकेशले भन्यो,‘भयो आजलाई। अब त बिल पनि बढी आउँछ यार।’
‘केको बढी बिल! हामीसँग पैसा नभएको हो र! यहाँ छ, कति चाहिन्छ?’भन्दै गोपालले हजारहजारको नयाँ नोटहरू निकाल्यो।
प्रकाशित: ४ फाल्गुन २०७८ ०६:३४ बुधबार