२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

छोराको प्रश्न

लघुकथा

रञ्जुश्री पराजुली

राघव र कान्ता बगैंचाको मेचमा बसेर साँझको कफी पिउँदै थिए। आठ बर्से छोरा राज र पाँच बर्से छोरी मुना कीराफट्याङ्ग्रा उफ्रेको,मौरी,पुतली उडेको हेरेर रमाइरहेका थिए। राजले कमिला र मौरीको बारेमा चित्र कथाका पुस्तक पढेर धेरै कुरा थाहा पाएको थियो। कमिलाका ताँती मिलेर खानेकुरा च्यापेर लर्को लागेको देखेर उसले बाबलाई त्यसो किन गरेको भनेर सोध्यो।

बाबाले छोरालाई कमिला सानो कीरा जाति भएर पनि परिश्रमी,सहयोगी र आपसमा मेलमिलाप गरेर बस्नेबारे बताए। त्यसै बीच छोरा एउटा गाडा अरूभन्दा ठुलो कालो कमिला बीचमा देखेर त्यसबारे  पनि सोध्यो। सो ठूलो र सुरक्षा घेराभित्र रहेको कमिला मुली अर्थात् रानी कमिला भएको र अरू कमिलाले रानी कमिलालाई सुरक्षामा राखेको कुरा उसले बुबाबाट थहा पायो।

जिज्ञासु बालक राजले बाबाद्वारा मौरीको पनि रानी हुने र रानी समूहको मुली हुने कुरा पनि थाहा पायो। राजले बाबाबाट समूहको मुलीलाई सबैले आदरपूर्वक सुरक्षामा राख्ने, बाहिर खडेरी या झरीबादलको बेला सबै मिलेर खोजेर भण्डारन गरेको दाना दुलाभित्रै बसेर खान्छन् भन्ने कुरा पनि थाहा पायो।

मौरीको मुली रानी मैरी, कमिलाको मुली रानी कमिला भन्ने सुनेपछि उसलाई आफ्नो घरको मुली को होला भन्ने जिज्ञासा लाग्यो। साथीहरू हजुरामालाई घरमुली भन्दछन्। हजुरामाले सुनाएको  रमाइलो कथाबारे कुरा गर्छन्। आफ्नो घरकी हजुरामालाई घरमुली नबनाएर किन टाढा वृद्धाश्रममा राखेको होला भनेर उसलाई खुलदुली भयो।

राजले बाबासँग हजुरआमालाई किन घरमुली नबनाएर टाढा वृद्धाश्रममा राखेको भनेर सोधेको प्रश्नको उत्तर भने राजले आफ्नो बाबाआमाबाट कहिल्यै पाएन।

प्रकाशित: २९ माघ २०७८ ०६:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App