त्रिविक्रम पाण्डे
दुःखपीडा, आँसुले सजिएको छ जिन्दगी,
तिम्रो पर्खाइमा लौ यसरी बितेको छ जिन्दगी।
उनीहरू जो खुशी छन् बाँच्ने चाहना राख्दछन्,
म सोच्दछु मेरो अरू कति बचेको छ जिन्दगी।
जिउँदै छ जो यहाँ प्रेम वियोगमा उसलाई सोध,
हरघडी हरपल यहाँ आत्महत्या छ जिन्दगी।
यो थकित उदास मुहार अनि यो निरीहता,
नियति अनि भाग्यसँग धेरै लडेको छ जिन्दगी।
आफैंलाई फकाउँछु सधैं मुस्कुराउनका लागि,
थाहा छैन के कुरामा मेरो अडेको छ जिन्दगी।
यो यथार्थता मैले अझै सम्म’नि बुझ्न सकेको छैन,
म कहाँ गलत छु कहाँ कता ठीक छ जिन्दगी।
न अब कुनै चाहना छ न अब कुनै आशा नै बाँकी छ,
विरहको यो कुन मोडमा पुगेर उभिएको छ जिन्दगी?
प्रकाशित: २६ माघ २०७८ ०३:०१ बुधबार