६ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

दुःख पर्दा लगाएको गुनलाई चटक्कै बिर्सिदियौ

मुक्तक

मिलन समीर  

    १) मुक्तक

न त वारमा अल्झेको छ, न त पारमा अल्झेको छ,

अहिलेसम्म जीवन – यात्रा मझधारमा अल्झेको छ।

कसैसँग भेट भएको पल सम्झिदै पछुताउँदा,

यस्तो लाग्छ, यो जिन्दगी बेकारमा अल्झेको छ।

    २) मुक्तक

न त वारको बनाइदियौ, न त पारको बनाइदियौ,

जिन्दगीलाई अहिलेसम्म मझधारको बनाइदियौ।  

तिमीले जेजे भनेकी थियौ, मैले त्यही गरेको थिएँ,

म सोझो मान्छेलाई आखिर बेकारको बनाइदियौ।

     ३) मुक्तक

नीलहीरा भेटिएपछि सुनलाई चटक्कै बिर्सिदियौ,

उज्यालो देखिएपछि जूनलाई चटक्कै बिर्सिदियौ।

अलिकति पैसा मात्रै के कमाएका थियौ साथी!

दुःख पर्दा लगाएको गुनलाई चटक्कै बिर्सिदियौ।

     ४) मुक्तक

बाँकी नै छ, अझै पनि केही कमाउन त बाँकी नै छ,

आफैंले कमाएर स्वयं आफैं रमाउन त बाँकी नै छ।

मेरो जीवनको अन्त्य अहिल्यै हुँदैन है प्रिय दुस्मन!

तिम्रो हातमा पहिलो पुस्तक थमाउन त बाँकी नै छ।

     ५) मुक्तक

उमेरसँगै जिन्दगी यो ढलिरहेको छ अहिलेसम्म,

समयले पाइलैपिच्छे छलिरहेको छ अहिलेसम्म।

बाटो छेक्ने दुस्मनहरूको घेराबन्दीमै छु वर्षौंदेखि,

तैपनि यो यात्रा अझै चलिरहेको छ अहिलेसम्म।

प्रकाशित: १९ माघ २०७८ ०४:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App