२० वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

देशको भविष्य

कविता

जमुना पौड्याल

धेरै भयो सुसंस्कृतिको

मादल बज्न छोडेको

सुर, तालको खरी झरेछ क्यारे

जीवनको लय बिग्रिएको छ

झ्याम्टा,खैंजडी र ढोलकका उत्सवहरू

सुरक्षित छन् इतिहासको पोल्टाभरि

दुना र टपरीमा चुहाउँदै खाएको भतेर

बिदा भयो होला गाउँघरबाट

पञ्चे बाजाको तालमा

दौरा–सुरुवालको तुना हल्लाउँदै

नाच्न छोडे दमाई दाइहरू

घाम तापेका शिखरहरू हेर्दै

सुसेलीमा कैद गरी सौन्दर्य

सुसेल्दै हर्ष र उमंग

वस्तु चराउँदाको गोठाले यौवनले

छोडिसक्यो कुत्कुत्याउन

चुट्का, दोहोरी र असारे भाकाका

प्रेमिल गीतले बाँधेको लगनगाँठो

कता पुग्यो छैन पत्तो

आफ्नै पाखा पखेरामा

खेलेका गट्टा र गुच्चा

बाल्यपनको चौतारीमा

विश्राम गर्दै होलान्

हजुरबा हजुरआमाका

अर्तीउपदेशहरू

छट्पटाउँदै होलान्

वृद्धाश्रमका कोठाभरि

सोच्नै सकिएन

के नपुगेर विदेसियो संस्कृति

किन मातेका छन् हाम्रा संस्कारहरू

बाँसुरीको धुन बजाएर

विरह ओकल्दै खोज्दै होलान्

शहीद र पुर्खाहरूले

देशको भविष्य!

प्रकाशित: १७ माघ २०७८ १०:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App