२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

कानुनी सम्बन्ध

लघुकथा

विकल आर्त

संस्थाको प्रायोजनमा गाडीमा ५०को हाराहारीमा २०÷२५ युवायुवती वनभोज गएका थियौं। एक घण्टामै गन्तव्य पुगेर कामको विभाजन गरियो। हामी सबै एक अर्काप्रति परिचित थिएनौं।

मेरो भागमा दाउरा खोजेर ल्याउनुपर्ने भयो। एक जना नयाँ केटा साथीसँग चहुर छाडेर जंगलभित्र पस्यौं। केही भित्र पस्नेबित्तिकै सुकेको दाउरा भेटियो। दाउरा बटुलेर ठुटामाथि बसेर गफ गर्न थाल्यौं। समय गएको पत्तै भएन। अलिअलि दाउरा लिएर हत्तार गयौं।

फेरि दाउरा खोज्ने बहानामा घारीतिरै लाग्यौं। यत्तिकैमा हाम्रो क्षणिक सम्बन्ध शारीरिक सम्बन्धमा परिणत भयो। संयोग, मेरी साथीले देखी र चिच्याई। हामी झस्किएर उठ्यौं।वनभोज, खाइयो, नाचियो र रमाइलो गरियो। फर्किदा हामीलाई देख्ने साथी र म गाडीमा सँगै बस्यौं। प्रनिसाले दिउँसोको घटनालाई संकेत गर्दै भनी, ‘गर्भ बस्यो भने के गर्ने?

–पाँच लाख माग। दिन मानेन भने प्रहरीमार्फत अदालत जाने धम्की देऊ। के हो– के हो आजै चिकित्सक कहाँ गएर प्रतिवेदन बनाइराख्नुपर्छ। नत्र छोरी मान्छेको जिन्दगी ...।

गाडी आफ्नै रफ्तारमा गुड्दै थियोे। म प्रनिसाले भनेको कुरा मनन गर्दै त्यसै गर्ने निर्णयमा पुगें। गाडी रोकियो। हामी सबै उत्रिएर बिदा भयौं। प्रनिसा र म अस्पताल गयौं। चिकित्सकलाई बलात्कारको प्रमाणित प्रतिवेदन बनाउन लगाएर फर्कियौं।

मसँग उसको सम्पर्क नम्बर पनि थिएन। प्रनिसाले दिई र फोन मार्फत प्रनिसाले भनेकै कुरा राखें। पाँच लाख दिने भए जे परे पनि आफैं बेहोर्ने पनि भनें।उसले नमानेपछि भोली बिहानै प्रहरीमा उजुरी दिएँ। तत्काल गिरफ्तार गरी हिरासतमा राखेर बयानको क्रमलाई अघि बढाइयो। प्रहरी तथा प्रनिसाकै सल्लाह मुताविक अदालतमा मुद्दा दायर गरेँ। अब भने १० लाख दिने भए मुद्दा फिर्ता लिने सर्त राखें। यो प्रस्ताव पनि अस्वीकारेपछि चिकित्सकले बनाइदिएको अस्पतालको प्रतिवेदन पेश गर्ने साथ अदालतले १० लाख क्षतिपूर्ति पीडितलाई दिलाई, तीन वर्षको कैदको फैसला सुनायो।

उसले १० लाख दिन नचाहेपछि अहिले म उसकै छ तले महलमा राज गरिरहेकी छु। ऊ भने जेलको कोठरीमा सजाय घटाइरहेको छ। यो हाम्रो कस्तो सम्बन्ध हो? म आफैं अन्योलग्रस्त छु र मिलनको प्रतीक्षा गरिरहेकी छु।

प्रकाशित: १५ माघ २०७८ १५:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App