८ वैशाख २०८१ शनिबार
कला

दौडसँगै सरसफाइ अभियान ‘प्लगिङ’

सामाजिक सञ्जालले हामीलाई नृत्यका चुनौती सामना गर्न, आफ्नै हेरचाह गर्ने तालिका मिलाउनका साथै स्वस्थ भएर बाँच्न सहयोग गर्ने कैयौँ सुविधा र अवसर दिएको छ। निर्माता र उपभोक्ता दुवैलाई साझा चौतारी बनेका यस्ता सञ्जालमा विश्वमा चलेका नयाँ ट्रेन्ड (चलन) र महत्वपूर्ण विषयबारे जानकारी पाइन्छ र यस्ता सञ्जाल कुनै पनि जिज्ञासाको उत्तर पाउन सकिने माध्यम बनेका छन्।

अहिले सामाजिक सञ्जालमा अत्यधिक लोकप्रिय ‘प्लगिङ’ बनेको छ। घरबाहिर स्वच्छ हावामा घामको न्यानोसहित शारीरिक व्यायाम हुने र सरसफाइको निश्चित उद्देश्य पनि पूरा गर्ने ‘प्लगिङ’ बहुउपयोगी छ। सामाजिक सञ्जालमा लोकप्रियताको आँधीबेहरी ल्याएको ‘प्लगिङ’को टिकटक ह्यासट्यागलाई ६८ लाखले हेरेका छन्। ‘प्लगिङ’अन्तर्गत घरबाहिर दौडँदा (जगिङ गर्दा) बाटोमा देखिएका फोहोर संकलन गर्ने गरिन्छ।

स्विडिस भाषाको ‘प्लोका अप’ शब्दबाट ‘प्लगिङ’ नामाकरण गरिएको हो। ‘प्लोका अप’को अर्थ टिप्नु हो। फिल्ड म्याग नामक वेबसाइटका अनुसार यो शब्दको नामाकरणको श्रेय धावक तथा सोलोमन कम्युनिटी मेनेजर इरिक अल्स्सट्रोमलाई जान्छ। उनले स्टकहोममा दौड्ने क्रममा बाटोमा देखिएका फोहोरमैला संकलन गर्छन्।

फेसबुकका कतिपय समूहले स्थानीयलाई पनि ‘प्लगिङ’मा सहभागी गराउन थालेका छन् भने यसलाई वार्षिक नियमित गतिविधि बनाउन थालिएको छ। हालै लेगजिङ्टन, केन्टुकीमा आयोजना गरिएको यस्तै अभियानले १०१ पाउन्ड फोहोर संकलन गरेको थियो। भ्यानकुभरका स्थानीय डेविड पापेन्युले आफूले संकलन गरेको फोहोरको अभिलेख राख्ने गरेका छन्।

उनले गत १० महिनामा मात्र सडकबाट २४ हजार फेस मास्क संकलन गरेका थिए। मार्च अन्तसम्म सडकबाट ३० हजार मास्क संकलन गर्ने उनको उद्देश्य छ। नियमित रूपमा अद्यावधिक गरिने उनको यो अभियानलाई ट्विटरमा फलो गर्न सकिन्छ।

‘प्लगिङ’को लोकप्रियतालाई टिकटक प्रयोगकर्ताले पनि बढाएका छन्। छुट्ै ह्यासट्याग बनाएर यी प्रयोगकर्ताले आफ्ना गतिविधिलाई सार्वजनिक गर्ने गरेका छन्। यसले सर्वसाधारणलाई प्रकृतिसँगको सामीप्यसहित सक्रिय पार्न र वातावरण संरक्षण गर्न सहयोग गरेको छ। समुदायका सदस्य समूहमा मिलेर यस्तो अभियानमा सहभागी हुँदाका आफ्नै फाइदा छन्।

यो अभियानमा सहभागी हुँदा सहभागीले आफूले चाहेको अन्य शारीरिक व्यायाम पनि गर्न सक्छन्। सबैभन्दा महत्वपूर्ण कुरा भनेको छिटो उठेर सबेरै सक्रिय हुँदा व्यक्तिगत फाइदासँगै समग्र वातावरण सरसफाइमा सहयोग पुग्छ।

यसरी ‘प्लगिङ’ले दिमाग, शरीर र पृथ्वीलाई स्वच्छ राख्न सहयोग गर्छ। जगिङ गर्दा शरीरको प्रतिरक्षा प्रणालीलाई सहयोग पुग्छ भने तनावको स्तर पनि घट्छ। पोषणविज्ञ टिम लिउका अनुसार ‘प्लगिङ’ले रक्तसञ्चार प्रणालीलाई स्वस्थ्य राख्न सहयोग गर्छ। आफ्नो छिमेकमा रहेको फोहोर सफा पनि हुने र शरीर पनि स्वस्थ हुने भएकाले यो गतिविधि बहुउपयोगी रहेको उनी ठान्छन्।

किप अमेरिका ब्युटिफुल २०२० नामक फोहोरमेलासम्बन्धी हालै गरिएको एक अध्ययन अनुसार, अमेरिकाको पानी तथा सडकमा ५० अर्ब फोहोरका टुक्रा रहेका छन्। अध्ययनमा सहभागी रहेका ९० प्रतिशतले सम्बन्धित राज्यका लागि यो सबैभन्दा ठूलो समस्या रहेको धारणा व्यक्त गरेका थिए।

बाहिरको खुला वातावरण र हरियालीमा सक्रिय हुन पाइने ‘प्लगिङ’मा सहभागी हुनेले फरक अनुभव लिन पाएको बताउँछन्। यो कार्यले एकातिर सहभागीलाई पृथ्वीप्रतिको माया उजागर गर्ने मौका दिन्छ भने अर्काेतिर स्वयंको स्वास्थ्यलाई सहयोग गर्छ। यसले सहभागीलाई गर्वको महसुस गराउँछ।  

इट दिस नट द्याट डटकमबाट

प्रकाशित: १५ माघ २०७८ ०५:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App