नेपाली संगीत क्षेत्रमा परिचय दिइरहनुनपर्ने नाम प्रेमध्वज प्रधान, उहाँले आफ्नो जीवनकालमा सुनबाट बनेका कुनै वस्तु लगाउनुभएन। किशोरवस्थादेखि एउटा औंठी लगाउने गर्नुहुन्थ्यो, चाँदीबाट बनेको उक्त औंठीमा भगवान् गणेशको स्वरूप कुँदिएको छ।
गीत रेकर्डिङ होस् वा कुनै पनि कार्यका लागि घरबाट निस्कँदा होस्, सधैँ हातमा उक्त औंठी हुन्थ्यो। औँठीमा विशेष लगाव हुनुको कारण त्यसमा भगवान् गणेशको स्वरूप थियो। नियमित उहाँ घरनजिकै रहेको कमलादी गणेश मन्दिर पुग्ने गर्नुहुन्थ्यो, कुनै कारणवश जान सक्नुभएन भने आफ्नो औंठीमा रहेको गणेश भगवान्लाई ढोग्ने गर्नुहुन्थ्यो।
त्यस दिन, अनायास उहाँले सो औंठी मलाई दिँदै भन्नुभयो, ‘यो औंठी सधैँ आफ्नो साथमा राख है।’ नाताले उहाँ मेरो मामा। मलाई लाग्यो, केही समयका लागि राख्न दिनुभएको होला, फिर्ता गर्नुपर्छ। विडम्बना, औंठी मलाई दिएको केही दिनपछि उहाँले सदाका लागि संसार छाड्नुभयो। उहाँले मलाई विगत केही समयदेखि भनिरहनुहुन्थ्यो, ‘तिमीले लेख्ने गर है, तिमीले लेखेको राम्रो लाग्छ।’ म हस् भन्थेँ। म प्रायः जे लेखे पनि पे्रमध्वजमामालाई सुनाउने गर्थें। उहाँ मलाई सधैँ लेख्ने होसला दिइरहनुहुन्थ्यो, आज मेरो लेखनको प्रयास उहाँको संमरणबाट हुनेछ भन्ने सोचेकी थिइनँ, आज यो लेख्दै गर्दा हातमा सधैँ साथमा राख्ने गर है भन्नुभएको पे्रमध्वज मामाको आशीर्वाद स्वरूपको सो औँठी हातमा राखेकी छु।
प्रेमध्वज मामासँगै म पनि नियमित रूपमा मन्दिर जाने गर्थें। मन्दिरलाई तीनपटक परिक्रमा गर्न बानी छ, असाधारण व्यक्तित्व भईकन पनि साधारण जीवनशैली अझ सरल सकारात्मक सोच ईश्वरप्रति अटुट श्रद्धा विश्वास राख्नुहुन्छ।
मन्दिर वरिपरिका प्रायः कुरालाई याद राख्ने मामाको स्वभाव थियो। विशेष पर्वचाडमा सो मन्दिरमा भजन हुने गर्दछ। मन्दिरका मुख्य पुजारी ज्यापु समुदाय रहने हुँदा भजन पनि ज्यापु समुदायका अग्रज व्यक्तिबाट हुने गर्दछन्, परम्परागत मौलिक बाजाको प्रयोग गरी भजन हुने यस मन्दिरमा उहाँको ध्यान भजनतिर जाने गथ्र्यो, त्यस समयमा म मेरो अध्ययन अनुसन्धानको चरणमा थिएँ, कुन विषयमा अनुसन्धान गर्ने भन्ने अन्योलमा थिएँ, प्रेमध्वज मामाले कुरैकुरामा मलाई अनुसन्धानको विषय सुझाइदिनुभयो।
प्रत्येकपटक परम्परागत भजनगान सुन्नु हुँदा भन्नुहुन्थ्यो, ‘हाम्रो नेपाली कला संंस्कृति मात्र नभएर परम्परागत संगीतका पर्यावाची नाम हो।’ वास्तवमा मामाले भन्नुभएझैँ परम्परागत मौलिक कला संगीत मनोरञ्जनका लागि मात्र नभई यो हाम्रो मौलिक कला संस्कृतिको पहिचान हो।
मैले यस विषयमै आफ्नो अध्ययन केन्द्रित गर्ने निधो गरेँ र करिब एक वर्षसम्म यसै विषयसँग सम्बन्धित व्यक्ति भेट्ने स्थलगत क्षेत्रमा पुगी अध्ययन गरी आफ्नो अनुसन्धान पूरा गरेँ। मेरो यो प्रयासबाट मामा निकै खुसी हुनुभयो र भन्नुभयो–तिम्रो यो अध्ययनलाई म पुस्तकका रूपमा प्रकाशित गर्नेछु।
मन्दिरनजिकै एउटा सानो चिया पसल छ, त्यहाँ चिया मात्र होइन भगवान्लाई चढाइने नैवेद्य लड्डु, दियो पनि पाइन्छ। पसल एउटी महिलाले चलाउने गर्छिन्। गहुँगोरो वर्णकी सधैँ हँसिलो मुद्रामा देखिने उक्त पसलकी महिलासँग मामाले गणेशलाई चढाउन लडडु किन्ने गर्नुहुन्थ्यो।
ती महिलाले मामालाई प्रेमध्वज बुबा भनेर सम्बोधन गर्नुहुन्थ्यो। एकल आमाबाट हुर्किनुभएका प्रेमध्वज मामा उक्त महिलाको लगनशीलता आत्मनिर्भरता देखेर साह्रै खुसी हुनुहुन्थ्यो। पछिल्लोपटक जब म प्रेमध्वज मामा बित्नुभएको १३औँ दिनपछि मन्दिर पुगेँ। मलाई देख्नेबित्तिकै मेरो नजिक आएर गहभरि आँसु राख्दै भन्नुभयो–नानीको बाटो हेर्दै थिएँ, अस्ति भर्खर पे्रमध्वज बुबा र नानीसँगै आउनुभएको थियो, अचानक बुबा बित्नुभएको खबर सुनेर नानी म रातदिन रोएँ। अहो, बुबाको त्यो हँसिलो मुहार अब कहिले भेट्न नपाउने भएँ।’ उनी रुन थालिन्, म आफ्नो आसुँ थाम्न नसकेपछि उनीबाट बिदा हुँदै फर्कें।
समयले मनको पीडा वेदनालाई कम गर्न मद्दत पुर्याए पनि सम्झना भने कहिल्यै धुमलिँदो रहेनछ। यो सधैँ ताजै भइरहँदो रहेछ। म प्रत्येकपटक किरण माइजु (पे्रमध्वज मामाका धर्मपत्नी) को आँखामा असीमित पीडा छटपटी देख्छु। उहाँले भने हामीबाट त्यो पीडा लुकाउने प्रयास गर्नुहुन्छ। आज पे्रमध्वज मामा बित्नुभएको आठ महिना बितिसकेछ। लाग्छ, कतै बाहिर जानुभएको छ, फर्केर घर आउनुहुन्छ।
केही दिन पहिले रत्नलाल श्रेष्ठको फोनले हाम्रो पीडा कम लाग्न पुग्यो। उहाँ पे्रमध्वज मामाका एक आत्मीय साथी, उहाँको एक प्रशंसक, चर्चित गीतका गीतकार। उहाँलाई पनि आफ्नो साथीलाई अचानक गुमाउनुपर्दाको व्यथा रहेछ, जुन उहाँको आवाजमा महसुुुस हुन्छ। फोनमा उहाँले भन्नुभयो–प्रेमध्वजको सम्झनाले मन असाध्यै व्यथित भयो, प्रेमध्वजका लागि तयार पारेको आफ्नो गीत लिएर भेटन आँउछु भनेको थिएँ। साथी प्रेमध्वजले म आफैँ घरमा भेट्न आउँछु है भन्नुभएको थियो। त्यसको केही समय नबित्दै साथीको निधन भयो।’
प्रेमध्वजको मुहार हेर्न नपाएको पीडाले रत्नलाल अंकल हामीलाई भेट्न घरमै आउने कुरा गर्नुभयो। म र कबिर दाइ (पे्रमध्वज मामाका कान्छा छोरा) भने उहाँलाई भेट्न उहाँको घरमा पुग्ने निधो गर्यौँ। निर्धारित समयमा महाराजगन्जस्थित रत्नलाल अंकलको निवासमा पुग्यौँ। कबिर दाइको रूपरंग, मुहार र शारीरिक बनोट प्रेमध्वज मामासँग मेल खान्छ, साथी जस्तै साथीका छोरालाई आफ्नो अघिल्तर पाएर उहाँ निकै हर्षित हुनुभयो।
जो साथी प्रेमध्वजको स्वभाव मित्रताबाट प्रभावित हुन पुग्नुभयो कि यो संयोग भनौँ या साथीप्रतिको सम्मान आफूले सिर्जना रचना गर्नुभएका उहाँको अधिकांश गीत साथी प्रेमध्वजका लागि मात्र बन्न पुग्यो।
रत्नलाल अंकलका केही गीत प्रेमध्वजमामाले गाउनुभएको छ। काठमाडौं इन्द्रचोक रैथाने गीतकार रत्नलाल श्रेष्ठ अहिले उमेरले ९० वर्ष कटिसक्नुभयो। हाल स्वास्थ्य अवस्थाका कारण घरबाट कम निस्कने गर्नुहुन्छ। नेपाली कला–साहित्यप्रति अगाध स्नेह राख्नुहुन्छ। विगत ६०/६५ वर्षदेखिको उहाँहरूको मित्रता लोभलाग्दो रहेछ।
रत्नलाल अंकल विगत सम्झँदै भन्नुभयो– प्रेमध्वज अति मेहनती भलादमी कसैप्रति कुनै द्वैषभाव नभएको हुनुहुन्थ्यो। उहाँमा कुनै खबाब लत थिएन। हामी वि.सं २०१७ सालदेखि परिचत थियौँ। नेपाली संगीत, कला, साहित्यले नै हाम्रो मित्रता गरायो। हामी दुवैको एउटै मात्र सोख वा लत भनेको संगीत कला साहित्य थियो। म उहाँलाई भेट्न जमलस्थित घरमा जान्थेँ, जहाँ पे्रमध्वज संगीतसँग सम्बन्धित आफ्ना साथीभाइसँग भेटघाट गायन गर्ने गर्थे।’
म त्यसबेला साहित्य सम्मेलन गर्ने गर्थें। विश्व भवन पुस्तकालयमा प्रत्येक १५ दिन जस्तोमा साहित्यकर्मीको भेटघाट हुने गर्दथ्यो। उसलाई गीत दिनुअघि मैले मेरो गीत कविता गायक बटुकृष्ण ज्वालालाई दिएको थिएँ। बटुकृष्ण ज्वालाले मेरो गीत गाइदिनुहोला भनेर प्रतीक्षा गरिरहेँ तर उहाँले खै के कारण हो धेरै समयसम्म पनि मेरो गीत रेकर्ड गर्नुभएन। पछि मैले प्रेमध्वजलाई मेरो गीत दिएँ। उहाँले आफैँले संगीत राखेर गीत गाइदिनुभयो।
सन् १९६१ मा रेकर्ड भएको ‘बोलाउँदा सुसेली हाली’ नै प्रेमध्वजले गाएको मेरो पहिलो गीत हो। हामी घन्टौँ गीत संगीतबारे छलफल गथ्र्यौं। प्रेमध्वज मलाई नेपालको सौन्दर्य परिवेशमा रोमान्टिक शब्द प्रयोग गरी गीत लेख्ने सुझाव दिनुहुन्थ्यो। उहाँ मलाई गीतको पृष्ठभूमि भन्ने गर्नुहुन्थ्यो। त्यस बेला हामी दुवैको उमेर पनि उस्तै युवाकाल।
उहाँको हौसलाले मैले ‘तोरी फुल्यो’, ‘मुजुरका चाल चोरी’ , ‘तिमीले त्यो लाएको फुले’, ‘डाँडापारि कल्ले’, ‘आइजाउ न छहारी’ लगायतका बोलमा गीत लेखेँ। यी गीत लोकप्रिय भए। पछि पारिवारिक जिम्मेवारी बढेसँगै मेरो लेखनमा पनि सुस्तता लाग्यो।
मेरो अत्यन्त मनपर्ने हितैषी साथी प्रेमध्वजका लागि म जे गर्न पनि तयार छु, तर अब जे भने पनि उहाँ कहिल्यै फर्केर आउनुहुन्न।’ भावुक हुँदै गहभरि आँसु राख्दै रत्नलाल अंकल बोलिरहनुभयो–नेपाली संगीत कला क्षेत्रमा प्रेमध्वज प्रधानजस्तो व्यक्ति अब कहिल्यै जन्मने छैन।
हामी फर्कने क्रममा बिदा हुँदै गर्दा कबिर दाइको हात समाएर उहाँले भन्नुभयो– बाबु आफू जन्मेको जन्मथलो, बाबुबाजेको थातथलोलाई सधैँ सम्मान माया गर्नुपर्छ, छोडेर जानु हुँदैन है।’
हामी भावुक भएर घर फक्र्यौं। हामी दुवै दाजुबहिनीको मनमा एक किसिमको सन्तुष्टि लाग्यो। पे्रमध्वज मामाले घरमा भेट्न आउँछु है भनेर उहाँलाई गर्नुभएको वाचा केही हदसम्म भए पनि हामीले पूरा गर्ने प्रयास गर्यौँझैँ लाग्यो।
अन्त्यमा एकपटक प्रेमध्वज मामालाई बाटोमा एक परिचत मित्रले दिनुभएको कुरा याद आयो। त्यस मित्रले ‘प्रेमध्वजजी, अन्यथा नमान्नुहोला। म तपाईंको बुबा रत्नध्वजलाई राम्ररी चिन्छु। तपाईं बाबुको व्यापार छाडेर संगीत क्षेत्रमा लाग्नुभयो। जागिर खानुभयो तर आफ्नो बाबुलेझैँ कमाउन सक्नुभएन। नेपालमा जागिर र कला क्षेत्रमा लागेर जीवन जिउन मात्र पुग्छ।
यसको प्रतिक्रियामा प्रेमध्वजमामा मुस्कुराउनुभयो मात्रै।
प्रेमध्वजमामा भन्ने गर्नुहुन्थ्यो– ‘मैले जीवनमा सबैको अपार माया सम्मान पाएँ, यो अमूल्य माया–प्रेमबाट निकै सन्तुष्ट छु।’
प्रकाशित: १५ माघ २०७८ ०३:०० शनिबार