२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

पद पाएपछि क्रान्तिकारी नि बिक्दा रहेछन्

मुक्तक

सूर्य लाकोजू

  १) मुक्तक

खुल्नु हुन्न सबैका अगाडि नखुल्नु,

फुल्नै परेपछि पलाँस जस्तै नफुल्नु।

मनमा रावण पालेर राम बोल्नेहरूको,

मिठो लाग्ने गुलियो बोलीमा नभुल्नु।

  २) मुक्तक

सानो स्वार्थ पूरा गर्न गधाका सामु हात जोड्न सक्छन्,

खाली हात भएपछि पाइला पनि अन्तै मोड्न सक्छन्।

यस्तै चलिरहेको छ सायद कलि लागेर होला,

पद र पैसाका लागि आमाबालाई पनि छोड्न सक्छन्।

     ३) मुक्तक

अरूको दुखमा गोहीको आँसु झार्छन्,

फाइदा हुँदा पाइला अन्तै सार्छन्।

ढोरको लठी टेकेर कहाँ पार लाग्नु,

यस्ताले त चौबाटामा अलपत्र पार्छन्।

 ४) मुक्तक

रोइकराइ गरेकै भरमा पिठो बिकाउँछ,

चाकडी गरेकै भरमा आफ्नो जागिर टिकाउँछ।

काम गर्नु पर्दैन कुरा मात्र गरेर आज,

विधि प्रक्रिया मिच्न अगुवाले नै सिकाउँछ।

५) मुक्तक

सधैं बल्ने मट्टीतेल पनि बलेन रे,

खोटो नभए पनि सिक्का चलेन रे।

गफ पनि कत्ति दिन जान्या मान्छेले,

सुन्तलाको बोटमा स्याउ फलेन रे।

    ६) मुक्तक

तगारो बन्यौ अडिग सधैं, कहिल्यै सरेनौ,

काँडाबाहेक मायाको बिउ कहिल्यै छरेनौ।

देखियो आफ्नो भन्ने मान्छे पनि आज,

दया देखायौ तर माया कहिल्यै गरेनौ।

 ७) मुक्तक

परिस्थिति हेरेर बोली फेर्न सिक्दा रहेछन्,

यस्ता मान्छे रङ बदल्दै जहाँ नि टिक्दा रहेछन्।

पत्याउनु पनि गलत थियो तिनीहरूलाई,

पद पाएपछि क्रान्तिकारी नि बिक्दा रहेछन्।

   ८) मुक्तक

कामभन्दा पनि कुरा मात्र माथि,

सित्तैंमा पाए भात खान्छ पाथी।

सप्ठयारोमा त ताली नै ताली थ्यो,

अप्ठयारो पर्दा काम लागेनौ साथी।

 ९) मुक्तक

इता पर्‍यो रातो मुला उता सेतो मुला,

आफू मात्र फल्नफुल्न पस्दै हिंड्ने डुला।

जनता मरे पनि आफू बाँच्न चाहनेहरू,

काम गर्ने केही होइन कुरा मात्रै ठूला।

प्रकाशित: १४ माघ २०७८ ०९:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App