२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

मृत्यु उत्सव

लघुकथा

अनन्त अर्याल

आफ्नो बाँझो बारीको एक छेउ देखाउँदै सुबेदार बलविरले भने, ‘ऊ यहाँबाट नापो लिनु कान्छा। मन फुकाएर फराकिलो बनाउनुपर्छ। आजसम्म कुनै कुरामा  मन निम्छरो पारिएन भने अब  पनि केलाई कमी हुनु छ र कसो? अरूको भन्दा ठूलो बनाउने हो, खर्चको पीर नगर।’

कान्छाले पनि सुबेदार बाले भनेबमोजिम नापो लियो।

पाखोपखेरो–छेउछाउ डाँडाभरि चिहानघर बनेका थिए। स्थानीय भाषामा चिहानघरलाई चेहिम भनिंदोरहेछ।

त्यो भेगका बासिन्दाहरूमा लामो समयदेखि नै चलिआएको परम्परा थियो चिहानघर बनाउने।

सुबेदार बलविरलाई आफ्नो हैकम छँदै चेहिम बनाउन मन लाग्यो।

‘आफू अशक्त भएपछि छोराबुहारीले के गर्छ, के गर्दैन थाहा हुँदैन। त्यसैले आफू सक्दा र हुँदा नै आफ्ना लागि आफैं बनाउनुपर्छ। बेलैमा बनाएपछि भोलि त्यही लगेर राखिदेलान्। जोरीपारी छिमेकीमा पनि इज्जत रहन्छ।’

सुबेदारको सोच यस्तैयस्तै छ। मृत्युपछिको इज्जतका खातिर सुबेदार बा उत्सुक देखिन्छन्।

यो कस्तो संस्कार र संस्कृति बोकेको मानव जाति जसले जन्म जत्तिकै मृत्युलाई पनि महा उत्सव ठानी आफ्नो धर्मकर्म पूरा गरिरहेका छन्।

अरूको भन्दा खर्चिलो र सुन्दर चिहान घर बन्यो सुबेदार बलविरको। चिहान घर बनाएकामा खुसी साटासाट गर्न गाउँलेहरू जम्मा भए। ठूलै भोजको आयोजना गरियो।बालाई फूलमालाले ढाकियो। अबिरले रंगाइयो। जिउँदैमा सुबेदार बलविरको धुमधाम मृत्यु उत्सव मनाइयो।

सुबेदार बलविरले आफ्नो जीवनको सबैभन्दा सुखद् र खुसीको क्षण त्यसै दिनलाई माने जुन दिन उनका लागि चिहानघर तयार भएको थियो। त्यस दिनदेखि उनी नयाँ घरमा सर्ने साइत पर्खदै भगवानलाई पुकारिरहेछन्,‘हे भगवान्, मलाई छिट्टै लिन आऊ...!’

प्रकाशित: १४ माघ २०७८ ०८:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App