१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

स्पेसल गेस्ट

लघुकथा

अनु विज्ञाति

‘भोलि हजुरको बर्थडे राम्रोसँग मनाउने हो। लौ मैले स्पेसल मान्छेहरूको लिस्ट तयार पारें। तपाईं पनि रुजू गर्नुस् है। हाम्रा स्पेसल गेस्टहरू कोही नछुटून्।’ सेल्याले आफ्ना श्रीमान् दिवसतर्फ लिस्ट तेर्स्याउँदै भनिन्।

दिवसले लिस्ट हेरे र छुटेका नाम थपे।

–गेस्टहरूको लिस्ट त तयार भयो। आउनुस् अब खाने आइटमहरूको लिस्ट तयार गरौं।

दुवै जना परिकारहरूको सूची बनाउन थाले।

‘मामू! म पनि पछि आउने मेरो बर्थडेका लागि स्पेसल गेस्टहरूको लिस्ट तयार गरूँ?’ बैठक कोठामा पढिरहेको छोरा संयोजन उहींबाट चिच्यायो।

सेल्याले अनुमति दिइन्, ‘हुन्छ।’

एकैछिनमा संयोजनले आफ्ना विशेष पाहुनाहरूको सूची बनाएर बुबाआमा नजिक पुग्यो।

‘मामू, बाबाको बर्थडेका लागि बनेको लिस्ट दिनु त।’ उसले आफ्नो लिस्ट एक हातमा राख्दै अर्को हातले बाबाको बर्थडेका लागि स्पेसल ठानिएका पाहुनाहरूको लिस्ट माग्यो।

‘यहीं त हो तर किन चाहियो र बाबु तिमिलाई?’ सेल्याले पहुनाको सूची दिंदै भनिन्।

‘हत्तेरी! मेरो लिस्ट त मिस्टेक भैहालेछ नि।’ उसले टाउकोमा हात लगायो।

‘के मिस्टेक भो र?’ दिवसले सोधे।

‘हजुरको बर्थडेका लागि बनेको स्पेसल गेस्टहरूको लिस्ट नहेरेको भए त मैले आफ्नो मिस्टेक थाहा नै नपाउने। उसले  आफ्नो सूचीको शुरूमा लेखेको दुई नाम सेल्या र दिवसलाई इलेजरले मेट्दै सोध्यो, ‘जन्मदिनमा जन्म दिने मान्छे चैं स्पेसल गेस्ट हुन सक्दैन हो बाबा?’  

प्रकाशित: ९ माघ २०७८ ०८:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App